झुटो विवरण पेश गरी विदेशीलाई नागरिकता दिने ६ जना कारागार चलान, ४० फरार
झापा : झुटो विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नागरिकता दिएको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाले सोमबार पुर्पक्षका लागि कारागार पठाएको छ ।
उक्त नागरिकता काण्डमा जनप्रतिनिधिसहित ४६ जनालाई गत भदौ १३ गते जिल्ला अदालत झापाको आदेशमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरेको थियो । १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको विषयमा ४६ जना संलग्न रहेकोमा हालसम्म ६ जना मात्र पक्राउ परेका छन् । हालसम्म दुईजना वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी र वडा सचिवसहित ४० जना फरार छन्।
पक्राउ परेर कारागार चलान हुनेमा भारत किशनगञ्ज घर भएका हाल बिर्तामोड ५ बस्ने मुस्तफा आलम, जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका ८ का वडासचिव लोकराज बराल, बिर्तामोड ५ का टेकबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय अगाडी फोटोकपि पसल सञ्चालन गर्दै आएका भद्रपुर नगरपालिका १० का प्रेम तिम्सिना, अर्का फोटोकपी पसल सञ्चालक भद्रपुर १० धनुषमोडका विकेन्द्र भन्ने भीमबहादुर लिम्बू रहेका छन् ।
१६ जना विदेशीलाई नागरिकता जारी गर्दा ९ जनाको बावुआमा एउटै कायम गरिएको छ । यस घटनामा विभिन्न एजेन्ट र बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको खुलेको छ । नागरिकताको झुटा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङ भनिने व्यक्तिलाई बुवाआमा कायम गर्दै ९ जनासम्मलाई नागरिकता दिइएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।