सीमामा भारतीय बस्ती विस्तार हुँदै
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–१ सोनापुर र सुनवर्षी नगरपालिका–८ सिक्टीमा भारतीयले दसगजा क्षेत्र मिचेर धमाधम संरचना निर्माण गरिरहेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आडमा त्यहाँका नागरिकले नेपाली भूभाग अतिक्रमण गर्दै बस्ती विस्तार गरिरहे पनि त्यसलाई नियन्त्रण गर्न सकिएको छैन।
सशस्त्र र नेपाल प्रहरीले संरचना निर्माण नगर्न पटकपटक गरेको आग्रह बेवास्ता गर्दै एकपक्षीय हिसाबमा बस्ती विस्तार गर्ने काम भइरहेको सीमा क्षेत्रका बासिन्दाको गुनासो छ।
सशस्त्र प्रहरीले दसगजा मिचेर सोनापुरमा ३८ र सिक्टीमा ७५ गरेर एक सय १३ वटा घर निर्माण भइसकेको विवरण माथिल्लो निकायमा पठाएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा रहेको बोर्डर आउट पोस्ट बरडंगालाई दुईवटै नाका हेर्ने जिम्मेवारी छ। दसगजामा बनेको घरअगाडि राखिएको बेन्चमा बसेका भारतीय नागरिक।
सीमा सुरक्षाका लागि स्थापित सशस्त्रको युनिट नाकाबाट १९ किलोमिटर उत्तरमा पर्छ। सानोपुर र सिक्टीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एउटा–एउटा प्रहरी चौकी छन्। संख्यात्मक हिसाबमा नेपाल प्रहरी थोरै भएकाले पनि भारतीयले टेर्दैनन्। सिक्टीका स्थानीय मोहम्मद राजाले दुई देशीय सिमाना छुट्याउने दसगजा क्षेत्रका पिलर वरपर हुँदै बस्ती नेपालतिर विस्तार हुने क्रममा रहेको बताए।
उनका अनुसार सिमानामा गाडिएका दुईवटा जंगे र दुईवटा मझौला पिलर भारतीयले विस्तार गरेको घना बस्तीभित्र पर्छन्। ‘धेरै पहिलेदेखि घर बनाएर भारतीयले सीमा क्षेत्र अतिक्रमण गरिरहेका छन्,’ उनले भने।
सीमाका बासिन्दाले दसगजा अतिक्रमणसँगै नेपाली भूभाग अतिक्रमणको योजना बनाएर बढिरहेका भारतीयलाई एसएसबीले सहयोग गरिरहँदा नेपाली पक्ष भने निरीह भएर बस्नुपर्ने अवस्था रहेको गुनासो गरे। भारतीयले दसगजा मिच्दै घर बनाएर बस्ती विस्तार गर्ने, खन्ने, बालीनाली र तरकारी लगाउने, माटो खनेर ठूला खाल्टा बनाइदिने, आँगन पुर्ने, घर बनाउने लगायतका काम गरिरहेको रतुवामाई –१ का अध्यक्ष हरि गिरीले बताए। ‘दुई देशीय सिमानामा बस्ती बसाउनु कूटनीतिक मर्यादाविपरीत हो,’ वडा अध्यक्ष गिरीले भने, ‘यस विषयमा पटकपटक जानकारी गराउँदा पनि नेपालस्थित प्रशासनिक निकायको पहल प्रभावकारी बन्न सकेन।’ उनले अतिक्रमणकै कारण दसगजा गहिरिएर गइरहेको बताए।
‘भारतीयले सीमा क्षेत्रमा अत्याचार गरे’, सुनवर्षी–८ का वडा अध्यक्ष नुरुल मियाँले भने, ‘नेपालपट्टिको भूभाग आफ्नो पार्न भारतीयले विभिन्न तवरबाट काम गरिरहेका छन्। यसमा नेपाल सरकार चुप लागेर बस्न हुँदैन।’
प्रहरी चौकी सोनापुरका असई रोशनकुमार चौधरीले सीमा क्षेत्रमा भइरहेको गतिविधिबारे माथिल्लो निकायमा जानकारी गराइएको बताए। ‘अहिले थप बस्ती विस्तार गर्न, बाली लगाउन र माटो उत्खनन गर्न नदिन हामी लागेका छौं,’ उनले भने, ‘जति सक्दो चाँडो अतिक्रमित ठाउँबाट बस्ती उठाउनुपर्छ भनेर एसएसबी सँग आग्रह गरेका छौं।’
सशस्त्रको बोर्डर आउट पोस्ट बरडंगाका इन्सपेक्टर झपिन्द्र बानियाँले दसगजाको अतिक्रमण हटाउन एसएसबीसँग समन्वय भइरहेको बताए। मिचिएको दसगजा ६ महिनाभित्रमा खाली गर्नुपर्ने तयारीमा रहेको उनको भनाइ छ।
इन्सपेक्टर बानियाँले यसअघि एसएसबीले भारतीयलाई संरचना निर्माण गर्न सहयोग गरेको बताइए पनि पछिल्लो समय एसएसबीसमेत दसगजाको बस्ती जति सक्दो चाँडो हटाइने बताए।
भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरीमा भएका अतिक्रमणबारे जानकारी लिन सरकारले चार वर्षअघि नापी विभागका अधिकृत सुशील डंगोलको नेतृत्वमा टोली खटाएको गरेको थियो। अधिकृत डंगोलले स्थलगत रुपमा काम गर्दा भारतीयले दसगजा क्षेत्र अतिक्रमण गरेर संरचना निर्माण गर्ने गरेको पाइएपछि त्यसलाई हटाउन सुझाव दिइएको बताए।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले दुई देशबीच हुने प्रत्येक बैठकमा सीम अतिक्रमणको विषय उठान हुने गरेको बताए। उनले भने, ‘बैठकमा भारतीय पक्ष दसगजाको अतिक्रमण हटाउन सहमत भए पनि कार्यान्वयन गरेको पाइँदैन।’ सिक्टीमा दसगजामा रहेको पिलरनजिकै बनाइएको भारतीय नागरिकको घर।