बौदीकाली-५मा ३ जनाको उम्मेदवारी
नवलपुर : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका-५ को अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। वडाअध्यक्ष दलबहादुर सारुमगरको गतवर्ष मृत्यु भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो।
उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट तुलबहादुर राना, नेकपाबाट खिमबहादुर थापा खरु मगर र समाजवादीबाट पितम बहादुर राना छन्। समाजवादीले उक्त वडामा पहिलो पटक उम्मेदवारी दिएको हो।
उम्मेदवारी दिएकामध्ये खिमबहादुर मृतक वडाअध्यक्ष दलबहादुरका छोरा हुन्। मगरहरुको बाहुल्यता रहेको वडामा सबै दलहरुले मगर समुदायकै उमेदवार उठाएका हुन्। निर्वाचनका लागि वडामा ८५३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
यसैबीच पहाडी क्षेत्रमा पर्ने गाउँपालिकामा सुरक्षा सर्तकता बढाइएको छ। विप्लव गतिविधि बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाएर सुरक्षा सतर्कता बढाएको जनाएको छ।