भक्तपुर-नगरकोट सडक : ठेकेदारको विरोध गर्ने नयाँ शैली !

भक्तपुर-नगरकोट सडक : ठेकेदारको विरोध गर्ने नयाँ शैली !

भक्तपुरः तीन वर्षभित्र बन्नुपर्ने भक्तपुर-नगरकोट सडक पाँच वर्ष बित्दा पनि नबनेपछि नगरकोटवासीले विरोधको नयाँ शैली अपनाएका छन्। 

सडक बनाउन पटकपटक ध्यानाकर्षण गर्दा पनि र प्रधानमन्त्रीदेखि संसदसम्म गुहार्दा पनि सडक बनाउने ठेकेदारले नटेरेपछि स्थानीयले विरोधको नयाँ शैली अपनाएका हुन्। जुन शैलीले काम गरेपछि स्थानीयमा केही उत्साह थपेको छ।

उनीहरुले भक्तपुर-नगरकोटको ठेक्का पार्ने शैलुङ कन्स्ट्रक्सनका सञ्चालन शारदाप्रसाद अधिकारीको फोटो नगरकोटका भित्ता, रुख तथा खम्बा र उक्त सडक भएर गुड्ने चार पांग्रे गाडीमा टाँस्दै विरोध गरेका हुन्।

उक्त फोटोमा अधिकारीको फोटोसँगै कुकुर तथा बाँदरको फोटो राखेर ‘कमलविनायक नगरकोट सडकको ठेकेदार : कालोपत्रे छिटो गर’ लेखेका छन्।

ठेकेदार अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घर धनी हुन्। प्रचण्डकै आडमा अधिकारीले काम गर्न आलटाल गर्दै आएको स्थानीयको बुझाइ छ। त्यसैले स्थानीय जनताले प्रचण्डलाई समेत उक्त सडक बनाउन लगाउन ज्ञापनपत्र दिएका थिए। प्रचण्ड स्वयम्ले ठेकेदार अधिकारीलाई छिटो काम सक्न भन्दा पनि उनले नटेरेको स्थानीय बासिन्दा बताउँछन्।

प्रचण्डले केही समस्या भए आफूलाई भन्न र समस्या नभए छिटो सडक बनाउन भनेका थिए।

सबै उपाय लगाउँदा पनि केही सीप नलागेपछि नगरकोटबासीले मंगलबार नयाँ शैलीको विरोध प्रदर्शन गरेका हुन्। उक्त नयाँ शैलीको विरोधका तस्बिर सामाजिक सञ्जालमा भाइरलसमेत भए। तर उक्त फोटोले धेरै समय प्रदर्शन हुने मौका भने पाएन।

स्थानीयले नगरकोट क्षेत्रका भित्ता, रुखविरुवा तथा खम्बा र सवारीसाधनमा उक्त फोटो टाँसेको केही घन्टा नबित्दै प्रहरीले ती फोटो निकालेका थिए।

‘ठेकेदारलाई काम गराउन सक्ने नेता, मन्त्री, प्रधानमन्त्रीदेखि संसदसम्म पुग्दा पनि सडक बनेन’, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भने, ‘जति विरोध गर्दा पनि केही सीप नलागेपछि मंगलबार नयाँ शैलीले विरोध गरेका हौं।’

सडक बनाऊमात्रै भन्दा केही सीप नलागेपछि काम नगर्ने ठेकेदारलाई नै तोकेर विरोध गरिएको उनको भनाइ थियो।

काम थाले ठेकेदारले
उक्त विरोध भाइरल भएपछि निर्माण कम्पनीले बुधबारदेखि सडकको काम थालेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। उनका अनुसार खरिपाटीदेखि काम सुरु गरिएको हो।

प्रमुख मिश्रले काम गर्दिनँ कहिल्यै नभन्ने र काम कहिल्यै फत्ते नगर्ने ठेकेदार अधिकारीले स्थानीय सरकार, संघीय सरकार, प्रधानमन्त्री र संसदलाई समेत नटेरेको बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले मेरै अगाडि भन्दा पनि ठेकेदार शारदाप्रसाद अधिकारीले नगरकोट सडकको काम फत्ते गर्नुभएन’, प्रमुख मिश्रले भने, ‘प्रधानमन्त्रीलाई समेत नटेरेका उनले संसदको विकास समितिलाई समेत ढाँट्नुभयो।’

ठेकेदार अधिकारीले संसदको विकास समितिसमक्ष पाँच महिनाभित्र नगरकोट सडक निर्माण पूरा गर्ने लिखित प्रतिबद्धता गरेका थिए तर उक्त पाँच महिना बित्दा पनि सडकको ४० प्रतिशत काम बाँकी रहेको प्रमुख मिश्रले जानकारी दिए।

भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा भक्तपुर नगरपालिका १० भत्क्यापाटीदेखि नगरकोट बसपार्कसम्मको करिब १६ किलोमिटर सडकको स्तरोन्नति गर्ने ठेक्का भारतको आईपीएल र अधिकारीको शैलुङले पारेका थिए। 

२०७१ असार २ गते भएको सडक निर्माणसम्बन्धी सम्झौताअनुसार २०७३ साउन ३ गते निर्माण पूरा गर्नुपर्ने थियो। निर्माण कम्पनीले ३१ करोड ५२ लाख ९२ हजार दुईसय २० रुपैयाँमा ठेक्का हात पारेका थिए।

तर विभिन्न कारण देखाउँदै उनीहरुले सडक निर्माणमा ढिलाइ गर्दै आएका थिए। पटकपटक म्याद थप गरिए पनि सडक नबनेपछि आजित जनता मंगलबार पुनः आन्दोलित भएका हुन।

सरकारले निर्माण कम्पनीको मागअनुसार २०७७ जेठभित्र सडक निर्माण सक्न अन्तिमपटकलाई म्याद थप गरेको छ। उक्त म्यादभित्र पनि सडक निर्माण पूरा नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारले निर्णय गरिसकेको छ।

भक्तपुर नगरकोट सडक निर्माण कम्पनी शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो प्रदर्शन गर्दै स्थानीय। तस्बिर : अन्नपूर्ण 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.