दोस्रोपटक सामूहिक त्रिपिटक वाचन

दोस्रोपटक सामूहिक त्रिपिटक वाचन

लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको छ। तीनदिने त्रिपिटक वाचनमा सहभागी हुन २५ देशका करिब ५ सय भिक्षु लुम्बिनी पुगेका छन्। आज (बिहिबार)देखि हुने बौद्ध ग्रन्थ त्रिपिटकको वाचनमा सहभागिताका लागि भिक्षु, भिक्षुणी लुम्बिनी आएका हुन्।

विश्व शान्तिको कामनासहित त्रिपिटक वाचन समितिले दोस्रोपटक त्रिपिटक वाचन कार्यक्रम आयोजना गरेको हो। नेपाल, भारत, श्रीलंका, चीन, थाइल्याण्ड, कम्बोडिया, कोरिया, जापान लगायतका देशका भिक्षुहरू लुम्बिनी आइसकेका छन्। लुम्बिनीलाई बौद्धमय बनाउन गत वर्षदेखि त्रिपिटक वाचन सुरु गरिएको हो। लुम्बिनीमा यसअघि मोन्लाम पूजा हुने गरेको थियो। त्यो पूजा भारतमा हुन थालेपछि लुम्बिनीमा ठूला बौद्ध गतिविधि हुन छाडेका थिए।

तीनदिने त्रिपिटक वाचनमा पहिलो दिन कात्तिक २८ गते सुत्तपिटक अन्र्तगत अभिधम्म निकायका दुई सुत्त वाचन हुने कार्यक्रमका संयोजक तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षुमैत्री महास्थविरले जानकारी दिए। नेपाली भिक्षुहरूले ब्रह्मजालसुत्त वाचन गरेर कार्यक्रमको सुरुआत गर्नेछन्। दोस्रो दिन म्यानमारका भिक्षुहरूले विनय पिटक वाचनको नेतृत्व गर्नेछन्।

अन्तिम दिन अभिधम्म पिटक वाचन हुने उनले बताए। अभिधम्म पिटकको वाचनको नेतृत्व थाइ भिक्षुहरूले गर्नेछन्। तीन पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना गर्दा सुनाएको बसन्त जातक सुत्त तथा शाक्य र कोलिय राज्यहरूबीच द्वन्द्व रोक्न कपिलवस्तुमै देशना गरेको महासमय सुत्तसमेत वाचन हुनेछ। बिहान साढे ८ बजेदेखि बेलुका चार बजेसम्म त्रिपिटक वाचन र धम्म देशना हुनेछ।

त्रिपिटक वाचनमा ५ सय भिक्षु सहभागी हुनेछन्। त्यसमध्ये भारतबाट एक सय ५० जना भिक्षु आएका छन्। नेपालका धेरै भिक्षुसहित तेस्रो मुलुकका भिक्षु, भिक्षुणीहरूको सहभागिता रहनेछ। भिक्षु, भिक्षुणीसहित आनी, लामा, उपासक उपासिकाहरू पनि सहभागी हुनेछन्। त्रिपिटक वाचनअघि बौद्धस्थल तिलौराकोट, रामग्राममा शान्ति पदयात्रा गरिएको छ। लुम्बिनीमा बिहिबार बिहान पदयात्रा हुने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए। लुम्बिनी–तिलौराकोट पदयात्रापछि लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरिनेछ।

त्रिपिटक वाचनलाई बौद्ध धर्मालम्बीमा सबैभन्दा महत्वपूर्ण मानिन्छ। बुद्ध जन्मस्थलमै हुने त्रिपिटक वाचनले विश्वको ध्यान तान्ने विश्वास भिक्षुमैत्रीले गरे। ‘त्रिपिटक वाचनले लुम्बिनीप्रतिको आकर्षण बढ्दै जानुका साथै त्रिपिटकको महत्वको विषयमासमेत जानकारी हुनेछ’, उनले भने। गतवर्ष मात्रै त्रिपिटक वाचन समिति गठन गरी यो कार्यक्रम थालिएको हो।

बुद्धले बुद्धत्व प्राप्त गरेपछिको ४५ वर्ष अवधिमा गरेका धर्मदेशनाको संग्रह नै त्रिपिटक हो। अभिधम्म, विनय र सुत्तपिटक नै बौद्ध दर्शनको मूल ग्रन्थ हो। त्रिपिटक पाली भाषामा उल्लेखित छ। त्यसैले यसको वाचनलाई पवित्र मानिन्छ। थेरवादी र महायानी भिक्षुहरूले फरक–फरक सुत्त वाचन गर्ने कार्यक्रम तय भएको छ।

लुम्बिनी भ्रमणवर्ष घोषणा गरेको प्रदेश ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कार्यक्रमलाई सहयोग गरेको छ। पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बृद्धि भएको छ। बौद्ध गतिविधिले पर्यटनमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.