चक्रपथमा यात्रा जोखिम
ललितपुर : चक्रपथ सडकखण्डमा प्रत्येक दिन कम्तीमा ५ देखि ७ वटा सवारी दुर्घटना हुने गरेको छ। ललितपुर खण्डमा रहेको बालकुमारीदेखि बल्खुसम्म मात्र दैनिक आधा दर्जन दुर्घटना हुँदै आएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ। उक्त सडकको लम्बाइ ७ दशमलव १ किलोमिटर छ। सवारी चालक तथा पैदलयात्रीले थोरै मात्र संयमता र धैर्यता अपनाए समस्या न्यूनीकरण हुने ट्राफिक प्रहरीको भनाइ छ।
‘दिनहँु सय/डेढ सयलाई कारबाही गर्छाैैं, तैपनि कसैको आनीबानीमा सुधार आएन’, परिसरका प्रमुख राजेश सिलवालले भने, ‘कहिलेकाँही त दुर्घटनाको खबर सुन्न नपाए पनि हुन्थ्यो नि !’ कुनै बेला एक महिनासम्म कसैको मृत्यु भएन भनेर खुसी हुँदै गर्दा दुर्गमतिर मान्छे मरेको सुन्नुपर्दा दुःख लागेको उनले बताए।
उनका अनुसार दुर्घटनाको ग्राफ प्रत्येक वर्ष बढेको देखिन्छ। ०७२/७३ मा दुई सय ४७ वटा दुर्घटना भएका थिए, त्यसमध्ये १२ जनाले ज्यान गुमाए। ०७३/७४ मा दुई सय ६४ मध्ये १६ को मृत्यु भयो। ०७४/७५ मा तीन सय ६१ दुर्घटना भए र १४ जनाले ज्यान गुमाए। ०७५/७६ मा ६ सय दुई वटा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ। त्यस्तै, ०७६/७७ मा तीन जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।
ललितपुरमा दुर्घटनाको संख्या हेर्दा सातदोबाटो, सानेपा, जाउलाखेल अगाडि छन्। त्यस्तै, भैंसेपाटी, चापागाउँ, मंगलबजारलगायत क्षेत्रमा पनि धेरै दुर्घटना भएको प्रमुख सिलवालले जानकारी दिए। सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने गर्छन्। त्यसपछि कार, भ्यान जिप, ट्रक, बस, टेम्पो दुर्घटना भएका छन्। धोबीघाट, एकान्तकुना, सातदोबाटो, बीएन्डबीमा बारम्बार दुर्घटना भएकाले यस क्षेत्रलाई ब्लाकस्पट भनिएको छ।
चक्रपथ सडकखण्डमा सडकबत्ती छैनन्। जेब्रा क्रस नजिक छैनन्। आकाशे पुल निर्माण भइसकेका छैनन्। प्रायःजसो सडक पार गर्ने क्रममा धेरै दुर्घटना भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मि श्रले बताए। ‘अँध्यारोमा जहीँ पायो त्यहीँबाट सडक पार गर्दा धेरै दुर्घटना भएका छन्’, मि श्रले भने, ‘दैनिक पाँच, सात वटा दुर्घटना भइरहेका छन्।’
महानगरीय ट्राफिक परिसर सातदोबाटाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रेजरद्वारा गति नियन्त्रण गर्ने काम सुरु गरेको थियो। वैशाखमा सुरु गरिएको उक्त गति मापनको काम गत सातादेखि रोकिएको सिलवालले बताए।
तीव्र गतिमा सवारी हाँक्नेलाई प्रहरीले सम्झाइबुझाइ गर्दा पनि अटेर गर्नेलाई कारबाही गरेको उनले बताए। प्रहरीले अकस्मात चेकजाँच गर्न थालेपछि केही मात्रामा सवारी चालक सचेत भएको उनको भनाइ छ। दुर्घटनाको संख्या नघटे पनि मृत्युदर भने घटेको उनले बताए। सवारी चालक र पैदलयात्री आफैं सचेत हुनुपर्ने समय आएको प्रहरीले बताएको छ।