नेकपाले विद्यालयमा चुनावी सभा गरेपछि विद्यार्थीले लगाए ताला
अछाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यालय प्राङ्गण भित्रै चुनावी सभा गरेको भन्दै अछामको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्। बिहीबार दिउँसो बसेको सर्वदलीय बैठक पछि ताला खोलिएको छ । बैठकमा विद्यालयमा अबदेखि कुनै पनि राजनीतिक गतिविधि नगर्ने सहमति भएपछि ताला खोलिएको हो ।
जिल्लाको मेल्लेख गाउँपालिकास्थित जनता माविका विद्यार्थीले बिहीबार बिहान विद्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीका कारण बिहीबार पनि पढाइ प्रभावित भएको छ। विद्यालयमा राजनीतिक कार्यक्रम गरेको विरोधमा विद्यार्थीले मेल्लेख बजारमा प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए। तालाबन्दीका कारण पढाइ प्रभावित भयो।
मेल्लेख गाउँपालिका ५ बिन्धेवासिनीमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। मनोनयन दर्ताको दिन नेकपाले विद्यालय प्राङ्गण भित्रै चुनावी सभा आयोजना गरेको थियो। यसअघि पनि पटक-पटक नेकपाले विद्यालयमा कार्यक्रम गर्दै आएको विद्यार्थीले आरोप लगाएका छन्।
यता नेकपाले भने सर्वदलीय बैठकमा सहमती भएर नै विद्यालय प्राङ्गणमा कार्यक्रम गरेको दाबी गरेको छ। सहमती गरे पनि विद्यालय क्षेत्रभित्र कुनै पनि राजनीतिक क्रियाकलाप गर्न पाइदैन।
सहायक प्रधानाध्यापक तेजबहादुर साउँदले विद्यार्थीको तालाबन्दीका कारण बिहीबार पढाइ प्रभावित भएको बताए । विद्यालयभित्र राजनीतिक कार्यक्रम गर्नु निर्वाचन आचारसंहिता विपरित कार्य हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत विद्यालयमै स्थापना गरिएको छ।