भगवान् रामले मुद्दा जिते
पशुपतिनाथ मन्दिरपरिसरमा एउटा वराह अवतारको मूर्ति छाडी सबै पुराना पत्थरका मूर्तिमा तरबार प्रहार गरेर चोट पुराई दाग खत लागेको छ भनी मेरा एकजना इतिहासको ज्ञान राख्ने मित्रले बताएका थिए। त्यसको कारण थियो-६ सय ७० वर्षअघि सन् १३४९ मा बंगालका मुसलमान राजा सुल्तान समसुद्दिन इलियास शाहका २० हजार सेना तराई, पहाड गर्दै काठमाडौं पुगे। उनीहरूले पशुपतिनाथको सुन, चाँदी, तामा, पित्तल सबै लुटे।
आक्रमणका बेला ती समसुद्दिनका सैनिकहरूले पशुपति परिसरका सबै मूर्तिमा तरबारले हान्दै सानाठूला क्षति पुर्याए। यसो गर्नुको कारण थियो-बंगालका शासक समसुद्दिन कट्टर इस्लाम धर्म मान्दथे। कट्टर इस्लाम धर्मले बुतपरस्ती अर्थात् मूर्तिपूजा गर्नु अधर्म थियो। किनभने सबैभन्दा ठूलो सर्वशक्तिवान् एक मात्र अल्लाह रूप नभएको, आकृति नभएको र कुनै आकार नभएका निराकार छन्। यस्तो निराकार सबैभन्दा ठूलो शक्तिको मूर्ति बनाउनु अधर्म हो।
कसैको मूर्ति बनाउनु पूजा गर्नु हुँदैन। त्यसैले समसुद्दिनका सैनिकहरूले साथमा तरबार हुँदा त्यसैले मूर्तिहरूमा हाने। यस आक्रमणको मुख्य लक्ष्य पशुपतिनाथ मन्दिरका सुन, चाँदी, तामा, पित्तल, चल सम्पत्तिहरू लुटेर लैजाने र गौण उद्देश्य मूर्ति तोड्ने वा क्षति पार्ने काम पनि थियो। वराहको मूर्ति मात्र किन कुनै आक्रमणको खत नलागी जस्ताका तस्तै रहन गयो भने वराह अर्थात् बँदेल वा सुँगुरको मासु खानु त परै जाओस्, सुँगुर छुनसम्म पनि ठूलो पाप हुन्छ भन्छ, इस्लाम धर्म पुस्तक कुरानले। त्यसैले समसुद्दिनका सैनिक कसैले तरबारले वराह मूर्तिलाई छोएन।
मन्दिर मासेर मस्जिद
हाम्रो देशको इतिहासमा मन्दिर तोडेर, ध्वस्त पारेर त्यही ठाउँमै मस्जिद बनाएको कुनै कालखण्डमा भएको एउटा घटना पनि रेकर्डमा छैन। यसको कारण सजिलै बुझ्न सकिन्छ- नेपाल कहिल्यै कुनै अफगान, पठान वा मुगल शासकको कब्जामा भएन। चाहे सिम्रौनगढ होस्, चाहे काठमाडौं होस्, विदेशी आक्रमणकारीहरू कुनै कारण वा कारणले काठमाडौं र सिम्रौनगढबाट लुटपाट गरेर मात्र फर्केका छन्। ब्रिटिस इस्ट-इन्डिया कम्पनीका सैनिकहरू किनलकको नेतृत्वमा सिन्धुलीगढीसम्म पुगे। तर गोर्खालीहरूले लडेर उनीहरूलाई भगाए र उनीहरूको काठमाडौं कब्जा गर्ने प्रयास विफल भयो। ज्यान बचाउन भाग्दा ब्रिटिस सैनिकहरूले फालेका र छाडेका हतियार नेपाली सेनाले हात पार्यो।
रामको नाम र राममन्दिर अयोध्या उनी जन्मेकै ठाउँमा नाराका कारण यति ठूलो राजनीति नाफाको सफलता भएको देखेर भारतीय जनता पार्टी झन्झन् कट्टर रामभक्त हिन्दुत्ववादी हुँदै गएको हो।
सबै छिमेकी देशहरू भारत, पाकिस्तान, श्रीलंका र संसारकै पनि केही छाडी सबैजसो देशमा स्वतन्त्रता दिवस मनाउँछन्। तर, नेपालमा कहिल्यै स्वतन्त्रता दिवस मनाएनन्। किनभने हामी कहिल्यै कुनै विदेशी शासकको प्रत्यक्ष कब्जामा भएनौं। हाम्रो देशको राष्ट्रिय झण्डा संसारकै सबैभन्दा पुरानो हो। यो लिच्छवी, मल्ल, शाह प्रजातन्त्र आएपछि र गणतन्त्र आएपछि पनि उही छ। संसारका अरू सबै देशको झण्डा चारकुने छन् भने हाम्रो दुई त्रिकोण भएको परापूर्वकालदेखिकै छ।
छिमेकी विशाल भारतमा इस्लाम धर्मावलम्बी शासक नवाब, सुल्तान र वादशाहहरूका पालामा ठाउँठाउँमा हिन्दु मन्दिरहरूलाई भत्काई, मूर्तिहरू तोडेर, फालेर त्यसै ठाउँमा मस्जिदहरू सयौं वर्ष निरन्तर बनाइराखिए। हामी कैयन् जनाका पुर्खाहरूका पालादेखि काशी वा वाराणसी नामको विश्वनाथ मन्दिर पुगेका छौं। किनभने काशी विश्वनाथ हिन्दुहरूको सबैभन्दा ठूलो तीर्थस्थल मानिन्छ। तर विश्वनाथ मन्दिरसँगै एकदम टाँसिएको एउटा मस्जिद छ। भारतीय इतिहासकारहरू भन्छन्-कि यो ठाउँ मस्जिद भएको ठाउँ नै साबिकको विश्वनाथ मन्दिर थियो। तर मुगल बादशाह औरंगजेबको पालामा त्यो मन्दिर ध्वस्त पारी मस्जिद बनाइएको हो। अहिले त्यो मस्जिदसँग छेउ काशी विश्वनाथको मन्दिरचाहिँ इन्दौरकी मराठा महारानी अहिल्याबाइ होल्करद्वारा बनाइएको हो। यो वर्तमान विश्वनाथ मन्दिर मात्र सन् १७८० अर्थात् ३ सय ३१ वर्ष पहिले बनेको हो।
रामजन्म भूमि-बाबरी मस्जिदको मुद्दा
मुगल साम्राज्यपछि कमजोर हुँदै गयो। बलिया मुलमान बलियो पार्दै लगे। ब्रिटिस इस्ट-इन्डिया कम्पनीका गभर्नरहरूले सुरुसुरुमा उनीहरूको तात्कालिक मुख्य सचिव मुसलमान शासकहरू हुँदा हिन्दुहरूको मन्दिर भत्काउने वातावरण हट्यो। औरंगजेब र अरू इस्लामिक शासकहरूको हिन्दुविरोधी कट्टरता र धार्मिक दमन रोकिँदा ब्रिटिस इस्ट-इन्डिया कम्पनीप्रति सुरुमा पहिले-पहिले साधारण हिन्दुहरूले स्वाभाविक रूपले मनमनै राहत अनुभव गरे। ब्रिटिसहरूले पनि भारतीयमाझ ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत प्रारम्भमा सर्वसाधारण बहुसंख्यक हिन्दुहरूलाई मानसिक राहत पुग्यो। ब्रिटिसहरूले हिन्दुहरूका लागि छुट्टै हिन्दु व्यक्तिगत कानुन र मुसलमानका लागि छुट्टै मुहमद्दन व्यक्तिगत कानुन र इसाइहरूका लागि पनि अलग कानुन बनाए। अहिले पनि यी कानुन भारतमा चलिराखेका छन्।
जजिया अर्थात् जो मुसलमान धर्म मान्दैन अर्थात् हिन्दु सर्वसाधारणले पनि हिन्दु धर्म मानेबापत अतिरिक्त कर तिर्नुपर्ने विशेष कर अब ब्रिटिसकालमा रहेन। जहाँ मन्दिर थियो, त्यहाँ मन्दिर रहने, जहाँ मस्जिद रहेन त्यहाँ मस्जिद रहने साथै अब क्रिस्चियन चर्चहरू पनि बन्न थाले।
मस्जिदभित्र राम
सन् १९४७ मा ब्रिटिस दासताबाट भारत स्वतन्त्र भएको दुई वर्षपछि सन् १९४९ मा अयोध्यामा बाबरी मस्जिद रहेको ठाउँ हिन्दु महासभाका मान्छेहरूले चुपचाप लगेर कोही नभएको बेला रामको मूर्ति राखिदिए। त्यस कुरालाई लिएर हिन्दु मुसलमानले एकअर्कालाई मार्ने दंगाहरू नहोऊन् भनी सरकारी प्रशासनले त्यहाँ ताला लगाइदियो र विशेष सुरक्षा प्रबन्ध गर्यो। मुसलमानहरूद्वारा यो मस्जिद हाम्रो हो र सरकारद्वारा खुला गरियोस् भनी मुद्दा दायर गरियो। हिन्दुहरूले पनि यो अयोध्यामा रामको जन्म यसै ठाउँ भएको हुँदा त्यो राम मन्दिर भत्काएर मुसलमान बादशाह बाबरका पालामा मस्जिद बनाइएको हुँदा यसमा रामको अधिकार छ भनी मुद्दा हालियो। मुद्दा चलिरहेको थियो। सन् १९८४ मा वर्तमान शासक पार्टी भारतीय जनता पार्टीको लाकेसभामा नगण्य जम्मा दुई स्थान मात्र थियो। दुई वर्षपछि सन् १९८६ मा लालकृष्ण आडवाणी भारतीय जनता पार्टीको अध्यक्ष भए।
अब उनले र भारतीय जनता पार्टीले कट्टर हिन्दु धार्मिक भावना उचाल्न थाले र राम जन्मेकै ठाउँ रामको मन्दिर बनाउनुपर्छ भनी आवाज उठाउँदै लगे। भारतीय जनता पार्टीले अब हिन्दु महासभा, राष्ट्रिय स्वयंसेवक संघ, विश्व हिन्दु परिषद्, बजरंग दल इत्यादिको साथ सम्बन्ध प्रगाढ पार्दै ‘मन्दिर वहीं बनाएगें’ अर्थात् अयोध्यामा बाबरी मस्जिद भएको ठाउँमा मन्दिर बनाइछाड्ने भनी सभाहरू, प्रदर्शनहरू, र्यालीहरू गर्न थाले। हिन्दु मतदाताको धार्मिक भावना उचालेर हिन्दु ध्रुवीकरण हुन थाल्यो। परिणाम यो भयो कि सन् १९८४ मा मात्र दुई स्थान जितेको भारतीय जनता पार्टीले पाँच वर्षमै सन् १९८९ मा लोकसभाको चुनावमा ८६ जित्न सफल भयो। रामको नाम र राममन्दिर अयोध्या उनी जन्मेकै ठाउँमा नाराका कारण यति ठूलो राजनीति नाफाको सफलता भएको देखेर भारतीय जनता पार्टी झन्झन् कट्टर रामभक्त हिन्दुत्ववादी हुँदै गएको हो।
राम रथयात्राको राजनीति
भारतीय जनता पार्टीका अध्यक्ष लालकृष्ण आडवाणीले सन् १९९० को सेप्टेम्बर १२ मा मुसलमान आक्रमणकारीहरूले कैयौंपटक लुटेको सोमनाथ मन्दिरबाट २५ सेप्टेम्बरदेखि राम रथयात्रा प्रारम्भ गर्ने गुजरात महाराष्ट्र, आन्ध्र प्रदेश, मध्य प्रदेश र बिहार हुँदै एक महिना पाँच दिनपछि अयोध्या पुग्ने मार्गरेखा घोषित गरे। उनको रथयात्राका साथ हिन्दु देवीदेवताको जस्तो भेषभूषा लगाएकाहरू पनि हुन्थे। हजारौं धार्मिक स्वयंसेवक (कार सेवक) हरू पनि हुन्थे। लडाका र जुझारु धार्मिकताका साथ उनीहरू नारा लगाउँथे, ‘गर्व से कहो, हम हिन्दु है।’ अरू पनि त्यस्तै उन्मादी भावात्मक नारा लगाउँथे।’ जिन्दगीका काम अब रामको नाम। एक महिना पाँच दिनमा हरेक दिन ६ ठाउँमा सभा गर्दै यो लालकृष्ण आडवाणीको रथयात्राले भारतमा ठूलो चर्चा पायो। केही प्रान्तको हजारौं किलोमिटर पार गरिसकेपछि तत्कालीन भारतीय प्रधानमन्त्री पीभी सिंहले तत्कालीन बिहारका मुख्यमन्त्री लालु यादवसँग बिहार भएर उत्तर प्रदेश अयोध्या आउने हुँदा बिहार प्रवेश गर्नासाथ पक्राउ गरेर आडवाणीको रथयात्रा रोक्ने निर्णय गरे।
तय गरेको मिति ३० अक्टोबर १९९० मा आडवाणी र उनका रथयात्री अयोध्या पुग्न पाएनन्। तर लाखौं मानिस अयोध्या पुगे। उत्तर प्रदेशका मुख्यमन्त्री मुलायम सिंहको आदेशले एक लाख ५० हजार स्वयंसेवकहरूलाई पक्राउ गर्यो र अन्यत्र लगी थुनियो। तैपनि चोर बाटो प्रयोग गरी ४० हजारभन्दा बढीको भीड बाबरी मस्जिदछेउ पुग्यो। पुरुषहरूलाई ठेलेर मस्जिद भत्काउन अगाडि बढ्यो।
प्रहरीले गोली चलाउँदा १० जना स्वयंसेवक ठहरै भएपछि भीड तितरवितर भयो। तर केही महिनापछि सन् १९९१ मा उत्तर प्रदेशको एसेम्बलीको निर्वाचनमा मुलायम सिंहको समाजवादी पार्टीको हार भयो। भारतीय जनता पार्टीको बहुमत भयो र कल्याण सिंह उत्तर प्रदेशका मुख्य मन्त्री भए। उनी मुख्यमन्त्री रहेकै बखत उनका नेता लालकृष्ण आडवाणीका साथै उमा भारती इत्यादिको नेतृत्वमा लाखौं कारसेवकहरूले पुरुष घेरा तोडी हथौडा, बञ्चरो र अन्य साधनद्वारा ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ध्वस्त पारेर माटोमा मिलाइदिए।
१६ वर्ष मुद्दा चलेर यही राम जन्मभूमि बाबरी मस्जिदको विवादका कारण भारतमा बेलाबेला हिंसात्मक दंगाहरू हुन हजारौं मानिस मरेपछि यही ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले भारतको आरकिओ लजिकल विभागको उत्खननले मस्जिदमुनि राम मन्दिरको भगनावशेष भेटिएका कारण यो २.७७ एकड जमिन रामलल्लाको एकलौटी सम्पत्ति हो र अयोध्या सहरमै मुसलमानहरूको मस्जिद बनाउनलाई पाँच एकड जमिन दिनुपर्ने फैसला सुनायो। भारतको कानुनी परम्पराले देवीदेवता पनि कानुनी व्यक्ति हुन्छन्। रामलल्ला अर्थात् शिशु उमेरको राम अब विवादित जग्गाको स्वामी भए।