कर्मचारीको हाराकिरी

कर्मचारीको हाराकिरी

भ्रष्टाचार आरोप या अभियोग लागेपछि जापानमा ‘हाराकिरी’ गरिन्छ। भ्रष्टाचारमा मुछिएपछि बाँच्नुभन्दा मर्न उचित ठानिन्छ। त्यसैलाई जापानमा ‘हाराकिरी’ भन्ने गरिन्छ। भ्रष्टाचार गरेपछि सामाजिक रूपमा बहिष्कृत हुन्छन्। अपमानित हुन्छन्। पारिवारिक रूपमा इज्जत प्रतिष्ठा गुम्छ भन्ने आत्मग्लानिले आत्महत्यासम्म पुर्‍याउँछ। अढाइ दशकअघि आर्थिक अनियमिततामा संलग्न आशंकामा संसदीय समितिले छानबिन सुरु गरेपछि जापानी कृषिमन्त्री तोसिकात्सु मात्सोले आत्महत्या गरेका थिए।

नेपालमा पनि भ्रष्टाचारमा मुछिएका र मुद्दा चलेका तल्लो तहका कर्मचारीले ‘हाराकिरी’ गर्न थालेका छन्। त्यसरी आत्महत्या गर्नेमा साना तहका कर्मचारी देखिन्छन् अर्थात् ‘साना माछा’ ले मात्र लाजगाल अनुभूत गरेको देखिन्छ। ‘ठूला माछा’ ले त भ्रष्टाचारसम्बन्धी मुद्दा लागे पनि पचाइसकेको देखिन्छ। तल्लो तहका कर्मचारी सुसाइट नोटमा भ्रष्टाचार अभियोग लागेकै कारण आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्। आत्महत्या गर्नेमा अधिकांश खरिदार र सुब्बा छन्।

भ्रष्टाचारको अभियोग लागेका कारण सामाजिक तथा पारिवारिक रूपमा बेइज्जत हुने डरले पछिल्लो ३ महिनामा ६ जना कर्मचारीले आत्महत्या गरेको देखिन्छ। बालुवाटारको जग्गा हिनामिना काण्डमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ मुछिएका थिए। बालुवाटारको सरकारी जग्गा निजी बनाएको आशंकामाथि उनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई छानिबन दायरामा ल्याएपछि आत्महत्या गरेका हुन्।

अख्तियारले श्रेष्ठ मालपोत रहँदा ललिता निवासको जग्गा व्यक्तिलाई दिलाउन फाइल खडा गर्ने कार्यमा संलग्नता रहेको आशंकामा उनी अनुसन्धानको दायरामा तानिएका थिए।   श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्महत्या गरेका हुन्। केही वर्षपहिले जागिरबाट अवकाश लिएपछि उनी पर्वतमा कांग्रेसको राजनीतिमा लागेका थिए।

घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या पनि गरेका छन्। सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको थियो। उनी अख्तियारको हिरासतमा २२ दिन बसेका थिए। अख्तियारबाट छुटेको १० दिनपछि उनले आत्महत्या गरे। डिप्रेसनको औषधि पनि सेवन गरिरहेका थिए।

अख्तियारले भ्रष्टाचार आरोपमा छानबिनको दायरामा तानेपछि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा शिवप्रसाद पोखरेलले आत्महत्या गरे। जग्गाको हिनामिनासम्बन्धी अनुसन्धानका लागि पोखरेललाई पत्र काटेपछि आत्मग्लानी भएको भन्दै आत्महत्या गरेका छन्। मध्यपुर ठिमी नगरपालिका– १५ मा डेरा गरी बस्ने पोखरेलले सोही घरको छतबाट हामफालेर आत्महत्या गरेका हुन्। घटनास्थलबाट सुसाइड नोट र अख्तियारले काटेको पत्रसमेत फेला परेको छ। सुसाइड नोटमा उनले आफू फसेको उल्लेख गरेका छन्। झापा घर भई ठिमीमा डेरा गरी बस्ने ५४ वर्षीय पोखरेल पहिला पूर्वाञ्चल क्षेत्रको नापी कार्यालयमा कार्यरत थिए।

मानिसको जीवनमा पहिला गाँसबाँस, त्यसपछि पैसा, मानसम्मान र प्रतिष्ठा इज्जतको भोको हुन्छ। जब नाम, सम्पत्ति भइसकेपछि प्रतिष्ठा, इज्जतमा चोट पुग्छ, तब मानिस तनाव सहन सक्दैन र आत्महत्यासमेत गर्न पुग्छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका तत्कालीन सहप्रशासक रामबहादुर पाण्डे क्षेत्रीले भ्रष्टाचारको आरोपछि आत्महत्या गर्न पुगे। उनीमाथि कर्मचारी भर्नामा अनियमतिता गरेको आरोप लागेको थियो। तिनले त्रिपुरेश्वरस्थित राधा भवनबाट हाम फालेर आत्महत्या गरेका हुन्।

भ्रष्टाचार मुद्दाकै विषयमा वकिल भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेका हुन्। परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको विज्ञापन नम्बर १८ : ०७३/०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए। यी दुईसहित ६ पदको परीक्षामा आयोगका पदाधिकारी, परीक्षक, संपरिक्षक र कर्मचारीले अनियमितता गरेको अख्तियारको ठहर छ। आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, सदस्य–सचिव परशुराम कोइरालाविरुद्ध पनि मुद्दा दर्ता भएको छ। लमजुङ स्थायी घर भएका पाण्डेले आयोगको पूर्वसहप्रशासक पदबाट २०७० फागुनमा अनिवार्य अवकाश पाएका थिए।

सिंहदरबारभित्रै राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसीले आत्महत्या गरेका छन्। सिंहदरबारमा मृत भेटिएका केसीको सुसाइड नोट फेला परेको छ। सुसाइड नोटमा उनले कसैलाई दोष नलगाई आफ्नै कारणले आत्महत्या गर्न बाध्य भएको उल्लेख छन्। जहाँ उनले घर खर्च चलाउन नसकेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनले नोटमा लेखिएको छ, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन। मिडियाबाजी नगर्नू र चिन्ता नगर्नू।’ नारायणहिटी दरबारमा भान्से रहेका उनी पछिल्लो समय राहदानी विभागमा सरुवा भएका थिए । विभागमा रहँदा १७ बंगलादेशी नागरिकलाई नेपाली राहदानी वितरण गरेको अभियोगमा उनी पक्राउ परे । अदालतमा मुद्दा पनि खेपे । यही क्रममा उनको सरुवा सिंहदरबारस्थित योजना आयोगमा भयो । मुद्दाकै कारण तनावमा रहेका उनको परिवारसँग पनि मेल थिएन । तनावकै बीच उनले आत्महत्या गरे ।

मालपोत कार्यालय कलंकीका तत्कालीन सुब्बा हरि आचार्यले उदयपुर त्रियुगा नगरपालिका– १ स्थित रातोमाटे जंगलमा झुण्डिएको अवस्थामा फेला परे । उनी पनि भ्रष्टाचार मुद्दामा तानिएका थिए । अख्तियारले बयान लिँदै थियो । शरीर खानतलासी गर्दा साथमा भेटिएको ‘सुसाइड’ नोटमा उनले आफूलाई निर्दोष दाबी गरेका थिए । उनले आफूले कहिल्यै अनियमितता नगरेको भन्दै सुसाइड नोटमा अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाँच्नु’ भनेर व्यंग्य गरेका थिए ।

आत्मदाह गर्ने अन्य कर्मचारी

निजामतीका साथै प्रहरी तथा अन्य क्षेत्रका कर्मचारीले पनि यो अवधिमा आत्महत्या गरेका छन्। पछिल्लो समय राजनीतिक, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्ध–विच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगार समस्या तथा छिटै आवेशमा आउने कारण मानिसले आत्महत्या रोज्ने गरेको देखिएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी जवान २६ वर्षीय शंकरसिंह ठगुन्नाले १ भदौमा आत्महत्या गरे । दार्चुला घर भएका उनी एक युवतीको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले परिवारबाट टाढा रहेको, आर्थिक अवस्था सुधार नभएकोजस्ता गुनासा लामो समयदेखि सहकर्मीसँग गर्ने गरेका थिए। ३३ किलो सुन प्रकरणमा मुछिएका प्रेमलाल चौधरी र सानु बन लोडरले पनि आत्महत्या गरेका छन्। वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेशकुमार सिंहले आत्महत्या गरेका हुन्। पेटको क्यान्सरबाट पीडित शैलेशले तलब नपाएपछि आत्महत्या गरेका हुन्। जेट एयरवेजमै कार्यरत उनका जेठा छोराले पनि तलब पाएका छैनन्। रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।

अनुसन्धानमा उच्च विवेक र सावधानी

पूर्वसचिव खेमराज रेग्मीले आत्महत्या गर्छ भनी भ्रष्टाचारीप्रति सहानुभूति र लचकता अपनाउन नहुने बताउँछन्। ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, आत्महत्या गर्छ भनेर उन्मुक्ति दिन हुँदैन’ उनले भने। ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालका अध्यक्षसमेत रहेका रेग्मीले अनुसन्धान गर्ने निकायले बडो ध्यान दिनुपर्ने बताए। कारबाही गर्दा अनुसन्धान अधिकृत विवेक पुर्‍याएन भने निर्दोषसमेत फस्न सक्ने सम्भावनालाई पनि नकार्न नसक्ने बताए। ‘अनुसन्धान अधिकृत उच्च विवेक र सावधानी अपनाउनुपर्छ’ उनले भने, ‘परिबन्दमा परेर अभियोग लागेको पनि हुन सक्छ, अदालतबाट सफाइ पाउन धेरै समय लाग्छ, यसकारण अनुसन्धान गर्ने निकायले उच्च सर्तकता अपनाउनुपर्छ।’

मनोविद् गोपाल ढकालले पछिल्लो दिनका कर्मचारीले आत्महत्या गर्ने संख्या बढ्दै गएको बताए। उनका अनुसार भ्रष्टाचारको अभियोग लगेपछि मानप्रतिष्ठा गुम्ने डर, कामको तनाव र डिप्रेसनका कारण आत्महत्या बढेको छ। मानिसको जीवनमा पहिला गाँसबाँस, त्यसपछि पैसा, मानसम्मान र प्रतिष्ठा इज्जतको भोको हुन्छ। जब नाम, सम्पत्ति भइसकेपछि प्रतिष्ठा, इज्जतमा चोट पुग्छ, तब मानिस तनाव सहन सक्दैन र आत्महत्यासमेत गर्न पुग्छ। उनले अध्ययनले समेत कर्मचारीमा डिप्रेसनको समस्या बढ्दै गएको पाइएको बताए। पर्याप्त तलब नहुनु, तलबले धान्न नसक्नु, हाकिमले राम्रो व्यवहार नगर्नुले डिप्रेसन हुने उनको भनाइ छ। उच्च महत्त्वाकांक्षा,आवश्यकता पूरा नभएपछि भ्रष्टाचारमा संलग्न हुन्छ र ऊ तनावमा जान्छ। मनोविद् ढकाल कार्यस्थलमा काम गर्ने पाँचमध्ये एकजनामा मानसिक समस्या आउने गरेको बताए।

सचिव प्याकुरेलले ‘हाराकिरी’ गरेका थिए

शाही शासनकालमा तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोगले छानबिन चलाएपछि तत्कालीन सचिव दिनेशचन्द्र प्याकुरेलले आत्महत्या गरेका थिए। २०६२ सालमा आयोगले स्रोत नखुलेको सम्पत्ति छानबिन उनीमाथि छानबिन अघि बढाउँदै थियो। उनको बयान लिने काम भइरहेको थियो। तर सचिव प्याकुरेलले त्यो अपमान सहन सकेनन्। उनले स्वाभिमान र प्रतिष्ठा गुमेको महसुस गरे। गैरीधारास्थित निवासमा उनले विष खाएर आत्महत्या गरे। मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार गरेको आरोपमा शाही आयोगले उनलाई छानबिन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.