रित्तिँदै पहाडका गाउँ
अछाम : मंगलसेन नगरपालिका–१३ की धौली धामीले दसैंतिहार रमाइलोसँग मनाइन्। ६७ वर्षीया धौली रमाउनुको कारण थियो चार वर्षपछि भारतबाट तीनै जना छोरा दसैंतिहार मनाउन घर आउनु। उनका छोरा भारतमा मजदुरी गर्छन्।
‘छोराहरू घर आएपछि घरमा उल्लास छाएको थियो, तर त्यो धेरै टिकेन’, धौलीले भनिन्। छोरालाई मंगलसेन बसपार्कसम्म पु¥याउन आएकी धामीले भनिन्, ‘छोराहरू हँसाउँदै आए, रुवाउँदै गए।’
छोराहरू फर्केर जाँदा उनमा बेसहारा हुने चिन्ता छ। ‘गाउँमा उब्जनी हुँदैन। खेतबारी बाँझै छन्। छोराहरू भारत नजाँदासम्म घरमा चुलो बल्दैन’, धौलीले भनिन्।
नातिको सहारामा बस्दै आएकी तुर्माखाद गाउँपालिकाकी–७६ वर्षीया धनी विकलाई अब एक्लै कसरी बस्ने भन्ने चिन्ता छ। उनले भनिन्, ‘छोरी कामको खोजीमा भारत गइन्। घरमा अब म एक्लो भएँ।’ उनी छोरीको घरमा बस्दै आएकी छन्।
सोही गाउँका कित्थु रानाका छोरा, बुहारी, नातिनातिना सबै भारत गए। जीवनको उत्तराद्र्धमा छोराछोरी भारत लागेपछि उनी पनि चिन्तामा छिन्।
‘खेतबारी बाँझै छन्। अलिअलि यतै काम पाए जाँदैनौं भन्थे। काम नपाएपछि भारत जानुको विकल्प छैन’, कित्थीले भनिन्। गाउँमा बिजुली पुगेको छ। कच्ची भए पनि मोटर बाटो छ। घरघरमा पानीका धारा छन्। तर, युवा गाउँमा बस्न इच्छुक छैनन्।
‘दसैंतिहारका बेला रमाइलो भएका गाउँ अहिले सुनसान भइसकेका छन्’, कित्थीले भनिन्। गाउँमा केटाकेटी र वृदावृद्धा मात्र भेटिन्छन्। खेतीपाती लगाउने सिजनबाहेकका महिनामा अछामका गाउँमा पुरुष भेट्टाउन मुस्किल पर्छ। हरेक घरका पुरुष कामको खोजीमा भारत जाने गरेको स्थानीय रतन भुलले बताए। उनले भने, ‘भारतमा काम गरेर कमाएको पैसाले तराईमा घरजग्गा किन्ने धेरै छन्। पैसा कमाएर फर्केपछि उनीहरू उतै बसाइँ सर्छन्। गाउँ दिनप्रतिदिन सुनसान हुँदै छ।’
अछामका अधिकांश युवा रोजगारीको सिलसिलामा भारतका सुरत, पुना, मुम्बईलगायतका ठाउँमा जाने गरेका छन्।