जाडो छल्न दर्जन स्कुल बेसीमा
जोमसोम : समुन्द्री सतहदेखि करिब ५ हजार मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरू घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन्। हिमाली उच्च भूगोलस्थित उपल्लो मुस्ताङमा हिउँदसँगै तापक्रम घट्दै गएको र चिसो ह्वात्तै बढेकाले यी सामुदायिक तथा गुम्बा स्कुल बेसी झर्न बाध्य भएका हुन्।
उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती पालिका लोमान्थाङमा १० वटा सामुदायिक स्कुल र ४ वटा गुम्बा स्कुल छन्। शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मुस्ताङका अनुसार लोमान्थाङ पालिकाका पूरै विद्यालय कात्तिक १३ गते घुम्तीका लागि बेसी झरेका हुन्। लोमान्थाङबाट झरेका स्कुलले २ समूह बनाएर विद्यार्थी अस्थायी मर्ज गरी घुम्ती कक्षाको व्यवस्थापन गरेका हुन्।
जसअन्तर्गत दिव्यदीप मावि छोसेर, बालकल्याण आबि न्यानोल र सम्जुङ आबि सम्जुङ गरी ३ वटा स्कुलले कात्तिक १४ गतेबाट संयुक्त घुम्ती कक्षा सुरु गर्न पोखरा झरेका छन्। सोही पालिकाको दिव्यज्ञान आबि चुम्जुङ, सरस्वती न्याम्डो, भृकुटी किम्लिङ, वीरेन्द्र ठिंगर, जनप्रभात फुवा र बुद्ध आबि न्याङडोल गरी ६ वटा स्कुलले विद्यार्थी मर्ज गरी पोखराको हेम्जामा घुम्ती कक्षाको पढाइ सुरु गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिए।
उनका अनुसार लोमान्थाङबाट झरेका २ घुम्ती समूह स्कुलले हिउँदे कक्षा सञ्चालन गर्न पोखरामा भवनसमेत बनाइसकेका छन्। लोमान्थाङ पालिकामा रहेका मञ्जु श्री गुम्बा, निफुक नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा गरी ४ वटा गुम्बा स्कुल पनि घुम्तीका लागि बेसी झरेको बरालले जानकारी दिए। उपल्लो मुस्ताङकै लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको ८ सामुदायिक स्कुलमध्ये ६ वटा स्कुल घुम्तीमा झरेका छन्।
चराङ आबि चराङ, मराङ आबि मराङ, ढाक्मर आबि ढाक्मर, शालीग्राम आबि तांग्या, यारा आबि यारा र घारा आबि घारा गरी ६ वटा स्कुलका विद्यार्थी एकैठाउँमा मर्ज गरी घुम्ती कक्षा सञ्चालन गर्न बेसीमा झरेका हुन्। संयुक्त घुम्ती कक्षा सुरु गर्न कात्तिक १३ गते ६ वटा स्कुल बेसी झरेका हुन् भने जनज्योति आबि घिलिङ र घमी आबि घमी भने मंसिर १२ गते बेसी झर्ने घमी आबि घमीका प्रधानाध्यापक अमन धितालले जानकारी दिए।
घमी र घिलिङका २ स्कुलले जारी शैक्षिक सत्र सकेर बेसी झर्ने बताएका छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट झरेका सामुदायिक स्कुलले जिल्लाकै समय तालिकाअनुसार जारी शैक्षिक सत्रको परीक्षा सञ्चालन गर्ने जनाइएको छ। घुम्तीमा रहेका सबै स्कुले पुस १ गते नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने बताइएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल आबि छुसाङ र मुक्तिनाथ आबि पनि घुम्तीमा झरेको समन्वय इकाईले जनाएको छ।
मुस्ताङको घुम्ती कक्षा सञ्चालन गर्ने विद्यालयलाई स्थानीय तहले समेत आवश्यक रकम छुट्याउने गरेको छ। नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका गुम्बा स्कुललाई सरकारले अनुदानवापत बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ। यी गुम्बा स्कुललाई पाठ्यपुस्तक खरिद तथा शिक्षक व्यवस्थापन गराउन सरकारले रकम उपलब्ध गर्ने गरेको छ। जिल्लाका ८ गुम्बा स्कुलले सरकारी मान्यता प्राप्त गरेका छन्। यी स्कुलले सरकारले निर्धारण गरेको ५ वटा पाठ्यक्रम समावेश गर्नुपर्ने मापदण्ड तोकिएको छ।
मुस्ताङमा ५४ वटा सामुदायिक स्कुल छन्। जसमा हिउँद यामको जाडो छल्न उपल्लो मुस्ताङका शैक्षिक संस्था बेसी झरे पनि बाँकी विद्यालय पुसदेखि माघमसान्तसम्म बन्द हुन्छन्।