चित्रकार पुनः छिरे भक्तपुर तलेजु
भक्तपुर : भक्तपुरका चित्रकारहरु भक्तपुर तलेजुमा पुनः छिरेका छन्। चित्रकारी गर्न रकमीको रुपमा रहेका चित्रकारले पाँच वर्षअघि भक्तपुर तलेजु छाडेका थिए।
तर यस वर्ष उनीहरु पुनः भक्तपुर तलेजु प्रवेश गरेका हुन्। तलेजु प्रवेशसँगै उनीहरुले तलेजुको मूलचोक सिंगार्न सुरु गरेका छन्। उनीहरुले मूलचोकका विभिन्न भित्तेचित्रमा रंग भर्दै सिंगार्ने काम अघि बढाएका हुन्।
उनीले मूलचोकको चारैदिशामा रहेका मूल तथा सहायक ढोकाका दायाँबायाँ रहेका कलश र आँखा तथा अन्य चित्रमा रंग भरेका छन्। तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले पाँच वर्षअघि तलेजु आउन छाडेका चित्रकार यसै वर्षदेखि पुनः आउन थालेको जानकारी दिए।
उनीहरु तलेजुमा प्रवेश गरेसँगै पाँच वर्षदेखि रोकिएको मूल चोक सिंगार्ने काम पनि यसै वर्ष पुनः सुरु भएको मूल नाइके जोशीले बताए। उनका अनुसार तलेजुमा आवश्यक चित्रकारी गर्न तथा रंग भर्न चित्रकारहरुको दरबन्दीसहित रकमीको व्यवस्था थियो। तर पछि विविध कारणले त्यसले निरन्तरता पाउन सकेन। तैपनि यस वर्ष चित्रकारहरुको विश्वकर्मा गुठीको पहलमा उनीहरुले तलेजुमा प्रवेश गरेका छन्।
विश्वकर्मा गुठीकै संयोजनमा तलेजुको मूलचोक सिंगार्ने काम गरिएको मूल नाइके जोशी बताउँछन्।
गुठीका नाइके जीतबहादुर चित्रकार, पूर्णबहादुर चित्रकार र तेजबहादुर चित्रकारको पहलमा तलेजु मूलचोक सिंगार्ने काम भएको गुठियार मधु चित्रकारले जानकारी दिए।
जसअनुसार मूलचोकका चार दिशामा रहेका १७ ढोकाका दायाँबायाँ रहेका ३४ वटा कलशमध्ये आठ वटामा रंग भर्ने काम सकिएको छ। बाँकी कलशमा पाँच वर्षअघि लगाइएको रंग फिक्का भइसकेका छन्। त्यस्तै मूलचोकको दक्षिणी लङस्थित तलेजु आगमछेंको दुई कलशमा सुनको मोलम्बा लगाइएको पित्तल मोडिएको छ।
मूलचोकमा रहेका ३४ कलशमध्ये चारवटा विशेष कलाकारितायुक्त रहेका छन्। तीनखुट्टे ओडानमा अड्याइएको उक्त कलशमा दुई माछाको बीचमा श्रीपक्ष, त्यसको माथि फूलपाटी र शंख रहेका छन्। शंखमाथि गजुर रहेको छ।
अर्को कलश भने सामान्य बुट्टेदार रहेको छ। त्यस्तै मूलचोकको उत्तरी लङस्थित श्रीखण्ड झ्यालको दायाँबायाँ रहेका घोडा र हात्तीको चित्रमा पनि आकर्षक रंग भरिएको छ। दुई खुट्टा टेकेको र अर्को दुई खुट्टा उचालेका रंगीन घोडा र हात्ती हेर्दा दौडन लागेको आभाष मिल्छ।
घोडामाथि सिंहासनको चित्र र सिंहासनमा राजाको प्रतीक खड्गको चित्रांकन रहेको छ। घोडालाई हरियो रंग लगाइएको छ। हात्तीलाई भने सेतो रंग लगाइएको छ। सेतो रंगको हात्ती इन्द्रको बहान ऐरावत हात्तीको प्रतीक मानिन्छ।
कलश, आँखा तथा अन्य चित्रसँगै घोडा र हात्तीमा चित्र भरिएपछि तलेजुको मूलचोक चित्ताकर्षक देखिएको मूल नाइके जोशी बताउँछन्। रंगले ती कलाकृति सबैको आँखामा परेको उनको भनाइ थियो।
२० वर्षपछि पुनः बज्यो नाय्खिँ
तलेजुका मूल नाइके जोशीले २० वर्ष रोकिएको नाय्खिं बाजासमेत यसैवर्षदेखि भक्तपुर तलेजुमा बजाउन सुरु भएको बताए। उनका अनुसार प्रत्येक महिनाको बढी चतुदर्शीका दिन नाय्खिँ बजाउँदै भक्तपुर नगरका निश्चित ठाउँमा बउ होवानिगु (पन्साउन) जाने प्रचलन २० वर्षपछि यसै वर्षदेखि सुरु भएको हो।
त्यस्तै करिब आठ वर्ष रोकिएको म्वाहली (सहनाई) बाजासमेत भक्तपुर तलेजुमा बज्न थालेको उनले बताए। तलेजु तान्त्रिक देवी हुन्। साथै तलेजुको मुख्य प्रवेशद्वारदेखि अन्य क्षेत्रमा फोटो खिच्न मनाही छ। यहाँ हिन्दूहरुलाई मात्रै प्रवेश दिइँदै आएको छ। यहाँ प्रवेश गर्दा क्यामरा, मोबाइल, झोलासँगै छालाजन्य वस्तु सँगै लान निषेध छ।