‘एक एचआईभी संक्रमित : दुई बीमा’ लागू

‘एक एचआईभी संक्रमित : दुई बीमा’ लागू

काठमाडौं : अब एक एचआईभी संक्रमितले दुई बीमा पाउने भएका छन्। उनीहरूले स्वास्थ्यसँगै जीवन बीमा पनि गर्न पाउने भएका हुन्। यसअघि संक्रमितहरूले एचआईभी-एड्स लागेपछि जीवन सकियो भन्ने ठान्दै आएका थिए। तर, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) को पहलमा अब एचआईभी संक्रमितहरूले दुइवटा बीमा गर्न पाउने भएका हुन्। सुरुमा स्वास्थ्य बीमामात्रै गर्न पाउने संक्रमितहरूले अब जीवन बीमा पनि गर्न पाउने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिए।

नेपाल सरकारले जीवन बीमाको लागि सहयोग गरेको भन्दै अब एक संक्रमित एक उद्यमशीलताको लागि पहल भइरहेको अध्यक्ष दिदियाले बताए। ‘एचआईभी रोग होइन एउटा अवस्था हो। त्यसैले एचआईभी हुँदैमा जीवन सकिँदैन’, उनले भने, ‘नियमित औषधि सेवन गरे सामान्य मानिससरह जीवनयापन गर्न सकिन्छ। उद्यम गर्न सक्छन्।’

त्यसैले एनएपीएनले संक्रमितहरूको जीवन निर्वाह सुनिश्चित गर्न उनीहरूलाई उद्यमशीलता विकास गर्न जोड दिँदै आएको अध्यक्ष दिदियाले स्पष्ट पारे। यसै सन्दर्भमा एनएपीएनले शनिबार राजधानीमा ‘एक संक्रमित : एक उद्यमशीलता, एक संक्रमित : दुई बीमा’ विषयक अन्तरक्रिया गरेको छ।

नेपालमा एचआईभीको क्षेत्रमा सहयोग गर्दै आएका दातृ निकाय तथा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी संक्रमितहरूले आफूहरूप्रति हेर्ने समाजको दृष्टिमा सकारात्मक परिवर्तन आए पनि आर्थिक क्षेत्रमा विकास गर्न नसकेको दुःखेसो पोखे। आफूहरूले केही उद्यम गर्न चाहे पनि आर्थिक सहयोग जुट्न नसकिरहेको उनीहरूको भनाइ थियो।

स्वास्थ्य र जीवन बीमाले स्वस्थ जीवन सुनिश्चित भए पनि दैनिकी गुजार्न आर्थिक गतिविधिमा लाग्नुपर्ने आवश्यकता भएको उनीहरूको जोड थियो। त्यसै संक्रमितहरूको दैनिकी सहज बनाउन एक संक्रमितलाई एक उद्यमको व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले एचआईभी संक्रमितहरूको जीवन बीमा तथा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा धेरैभन्दा धेरै संक्रमितहरूलाई समावेश भएको जानकारी दिए।

यसले लुकेका संक्रमितहरूलाई समेत सार्वजनिक भएर आफ्नो जीवन सुनिश्चित गर्न सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे। ‘अति विपन्न संक्रमितहरूको आर्थिक अवस्थामाथि उकास्न उद्यमशील बनाउन सकिए ठूलो उपलब्धि हुनेछ’, डा. भट्टचनले भने, ‘यसका लागि सबै मिलेर स्रोत पहिचान गरी योजना तर्जुमा गर्नुपर्र्छ।’

युएन एड्सका प्रतिनिधि कोमल बडालले एचआईभीलाई कहिल्यै पनि सामाजिक चुनौतीका रूपमा नहेरिँदा संक्रमितहरूको जीवन नसुध्रिएको बताइन्। यसलाई आयआर्जन तथा आर्थिक समस्यासँग सम्बन्धित गरी हेरिनुपर्ने उनको जोड थियो।

एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेलले स्वास्थ्य तथा जीवन बीमा संक्रमितहरूको लागि जीवनदायी भएको बताउँदै उनीहरूलाई उद्यमशील बनाउन सकिए आफ्नो जीवन आफै हेर्न सक्षम हुने स्पष्ट पारे।

नेपालमा ३२ हजार सात सय ३५ जना एचआईभी एड्स संक्रमित रहेको अनुमान गरिएको छ। जसमा पुरुष २० हजार दुई सय ९४ र महिला १२ हजार पाँच सय ६१ जना रहेका छन्। त्यस्तै एक हजार एक सय ९१ जना बालबालिका रहेका छन्। तर १३ हजार चार सय ४७ जना संक्रमितमात्रै एन्टीरेट्रोभाइरल औषधि (एआरभी) को पहुँचमा छन्।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब एक हजार नयाँ एचआईभी संक्रमित थपिन्छन्। करिब दुई हजार जनाको एचआईभी÷एड्सको कारण ज्यान जाने केन्द्रले जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.