पत्नी फर्काउन प्रशासनमा उजुरी

पत्नी फर्काउन प्रशासनमा उजुरी

परासी : पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमान्को संख्या बढ्न थालेको छ। पश्चिम नवलपरासीमा श्रीमतीपीडितका मुद्दा बढ्दै गएका हुन्। त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ। महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० वर्षीय एक युवा प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइ दिन निवदेन लिएर पुगे।

गत वैशाखमा रूपन्देही जिल्लामा विवाह गरेका उनले पत्नी लिन पटक पटक गए पनि नआएको भन्दै निवदेन दिएका हुन्। विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवदेनमा उल्लेख छ। आफूले खान लाउन दिए पनि माईत गएपछि बिनाकारण घर नफर्केको उनको भनाइ छ। ससुरालीले पनि छोरी नपठाउने भन्दै आफूलाई फर्काउने गरेको उनले बताए।

‘धेरैपटक पत्नी लिन पुगें तर उनीले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्’, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसमक्ष निवदेन पेसेका उनले भने। उनले ‘शान्ति सुरक्षासहित पत्नी झिकाई जिम्मा लगाई पाउँ’ भनी निवेदन दर्ता गरेको प्रजिअ मरासिनीले बताए। पत्नीसँग झगडा भएकाले घर आउन नमानेको भन्दै पत्नी झिकाई दिन निवेदन दिन आउनेको संख्या बढ्न थालेको मरासिनीको भनाइ छ। अहिलेसम्म करिब ७/८ वटा निवदेन आएका छन्।

त्यसरी आउने निवेदनमा विवाह भएको २/४ महिनामै दाम्पत्य जीवनमा मनमुटाव भएको उल्लेख छ। कार्यालयमा आउने निवदेनलाई दर्ता गरेर प्रहरी कार्यालयमा छलफलका लागि पठाउने गरेको प्रशासनले जनाएको छ। केही निवदेन पत्नीले नगद र जिन्सी सामान लिएर भागेको भन्ने पनि आउने गरेको छ। विवाहपूर्व केटा/केटीको सम्बन्धका बारेमा राम्ररी नबुझी सम्बन्ध कायम गर्दा पनि यस्तो अवस्था आउने गरेको पाइएको छ। केहीले भने विवाह गरेर ल्याएपछि दाइजोको कारण देखाउँदै दुःख दिने भएकाले पनि उजुरी आउने गरेको प्रशासनको बुझाइ छ।

सम्बन्ध–विच्छेद गर्ने पुरुष बढे

नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषले सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराउने क्रम बढेको जिल्ला अदालतले जनाएको छ। गतवर्षको भदौ १ गतदेखि नयाँ संहिता लागू भएपछि यस्तो संख्या बढेको श्रेस्तेदार डिल्लीराम शर्माको बुझाइ छ। महिला र पुरुषका लागि एउटै प्रकृया भएपछि सम्बन्ध– विच्छेद गराउने पुरुषको संख्या बढेको हो। संहितामा ३ वर्षभन्दा बढी पति वा पत्नी एकअर्काले बेवास्ता गरेमा, अंगभंग वा शारीरिक यातना दिएमा, इच्छाविपरित कार्य गरेमा, वेश्यागमन गरेमा, घर निकाला गरेमा दुवैले अदालतमा मुद्दा दिन पाउने उल्लेख छ।

पुरुषहरूले आफू विदेश हुँदा पत्नीले धन सम्पत्ति लिएर हिनामिना गरेको, फेसबुक र मोबाइलमा लुकेर शंकास्पद कुराकानी गर्ने गरेको, चाल चलन नराम्रो भएको, शारीरिक एवं मानसिक यातना दिने गरेको, आफूलाई बेवास्ता गर्ने गरेकोजस्ता आरोपका लगाएर मुद्दा दिने गरेको अधिवक्ता बाबुराम खड्काले बताए। जिल्ला अदालतमा २ सय ३८ वटा सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएका छन्। तीमध्ये ७० भन्दाबढी पुरुषले सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.