हात्तीबाट धान जोगाउन कठिन
भद्रपुर : खेतमा पहेंलपुर धान पाकेको छ। तर कतिबेला जंगली हात्ती आएर तहसनहस पारिदिने हो टुंगो छैन। झापाका किसान पनि यस्तै पिरलोमा छन्। उनीहरू हात्तीबाट धान जोगाउन विभिन्न उपाय गरिरहेका छन्।
छोटो समयका लागि हात्ती झुक्याउने उपाय रचेकाले केही स्थानमा पाक्दै गरेको धानखेतीमा जंगली हात्तीले रजाईं गर्न पाएका छैनन्। भद्रपुर, बिर्तामोड, मेचिनगर, अर्जुनधारा, बुद्धशान्ती, हल्दिबारी र कचनकवल गाउँपालिकाको धानखेती भएका क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको बिगबिगी छ। वर्षभरि मेहनेत गरेर फलाएको खेती सहजै भिœयाउन मुस्किल परेको किसान बताउँछन्। हात्ती अरुबेलै पनि आइराख्ने हो। तर, धान र मकैखेती फुलेर फल पाक्ने बेलामा भने बढी नै दुःख दिने गरेका छन्।
पछिल्लो समय झापाका किसानले पाकेको धानखेती जोगाउने एउटै उपाय रचेका छन्। धानखेतीको वरिपरि एउटा डोरी तान्ने र डोरीमा विभिन्न रंगका बोरा वा लामालामा प्लास्टिकका टुक्रा झुण्ड्याउने। यसो गर्दा हात्ती झुण्ड्याएको डोरीसम्म आएर फर्किने गरेको स्थानीय बताउँछन्।धानखेती देखाउँदै स्थानीय किसान सीता बराल।
‘डोरीले धेरै राहत दिएको छ’, भद्रपुर नगरपालिका–१० की किसान सीता बराल भन्छिन्, ‘यो डोरी बाँधेको १ हप्ता भयो। सातामा ५ पटक जंगली हात्ती आए। हात्ती डोरीमा झुण्डिएका प्लास्टिक देखेपछि डोरीभित्र छिरेका छैनन्। बाहिरबाटै फर्केर जान्छन्।’ उनको ३ बिघा जग्गा छ। त्यसमध्ये १० कठ्ठा जति हात्तीले खायो होला। अरु धान अब एक हप्ता राख्न सकियो भने काट्ने बेला भइहाल्छ।
मेचिनगर नगरपालिका –९ का किसान लक्ष्मण प्रसाइ भन्छन्, ‘यो कुनै प्राविधिकले सिकाएको तरिका होइन तर हात्ती धपाउन भने सहज भएको छ।’ हात्तीले दुःख दिने जंगल नजिकैका क्षेत्रमा पनि करेन्ट छोड्ने तारबारमा यसैगरी बोरा झुण्ड्याइन्छ।
झापाका पूर्वी र दक्षिण क्षत्रको धानखेतीका छेउछाउमा यस्तो दृश्य देख्न सकिन्छ। कतिपयले खेतीसँगै घर पनि घेरेका छन्। यति गर्दा यस क्षेत्रमा हात्तीले बाटो मोडेको स्थानीयको अनुभव छ। गत वर्ष बिर्तामोड नगरपालिका ८ का महेश ठाकुरले २ बिघा जग्गामा धान लगाएका थिए। धान राम्रै फलेको थियो। हात्तीले रजाइ गरेर रहेको २० मन बल्लबल्ल थन्क्यनउन पाए। यसपालि पनि उनलाई धान थन्क्याउन नपाइने हो कि भन्ने डर छ। उनी भन्छन्, ‘दसैंपछि आधारातसम्म खेतीतिरै हुईंन्छ।’
भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्का भन्छन्, ‘यो किसानले आफ्नो सुरक्षाक लागि गरेको उपाय हो। हाम्रो वडाभित्र पनि धेरैले यो उपाय अपनाएका छन्।’ झापामा हात्तीले दुःख दिनु नयाँ विषय होइन। जंगल आसपास क्षेत्रका किसान लामो समयदेखि पीडित छन्। तर सरकारले यसको दीर्घकालीन समाधान खोज्न सकेको छैन। वडा अध्यक्ष खड्का सरकारले स्थायी समाधान गरिदिनुपर्नेमा जनता आफैँ सक्रिय हुनु सकरात्मक भएको बताउँछन्।