सरकार छाड्न यादव ‘अनिच्छुक’
काठमाडौ : सरकार छाड्ने कि नछाड्ने भन्नेमा समाजवादी पार्टी अनिर्णित बनेको छ । बिहीबारको संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव अनिच्छुक देखिएपछि निर्णय नभएको नेताहरूले बताएका छन् ।
यादव सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । शुक्रबारदेखि दुई दिन चलेको केन्द्रीय बैठकले राजपा नेपालसँगको एकीकरणबारे पनि निर्णय गरेन । सरकारले प्रदेश प्रमुख समाजवादीलाई नदिएपछि असन्तुष्टि उत्पन्न भएको थियो । राजपासँगको एकीकरण संवादमा सरकारबाट बाहिरिनुपर्ने सर्त आएको थियो । त्यसपछि समाजवादीमा सरकारबाट बाहिरिनुपर्ने दबाब बढेको थियो । अध्यक्ष यादव अनिच्छुक देखिएकै कारण परिषद्ले निर्णय लिन नसकेको नेताहरूको भनाइ छ ।
पार्टी बैठकमा सबै विषयमा छलफल भएको महासचिव रामसहाय यादवले बताए । आवश्यक परे पदाधिकारी बैठकले निर्णय लिन सक्ने उनले सुनाए । ‘केन्द्रीय समितिमा छलफल भयो । सबै विषयमा तत्काल निर्णय गर्नुपर्छ भन्ने छैन’, महासचिव यादवले भने, ‘आवश्यक परेका बेला निर्णय हुन्छ ।’
डा. भट्टराई तत्काल सरकार छाड्ने पक्षमा देखिएका थिए । गत वैशाखमा यादव र भट्टराई नेतृत्वका पार्टीबीच एकीकरण भएको थियो । त्यस बेला केन्द्रीय समिति बैठक बसेर सरकारबारे टुंगो लगाउने सहमति भएको थियो । भट्टराईले परिषद् बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै सरकारको आलोचना गरेका थिए । अधिकांश केन्द्रीय सदस्यले दुईबुँदे सम्झौता नेकपाले कार्यान्वयन नगरेकामा असन्तुष्टि जनाएका छन् । उनीहरूले उक्त सम्झौता कार्यान्वयनका लागि सरकार छाडी सडक संघर्षबाट दबाब दिनुपर्ने धारणा राखेका छन् ।
यादव सरकारमा जाँदा संविधान संशोधन गर्ने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पुष्पकमल दाहालसँग भएको थियो । तर, बैठकले उक्त सम्झौता कार्यान्वयनको सन्दर्भमा पनि केही बोलेको छैन । संविधान संशोधन गर्न सरकार र सदनबाट चाँडै ध्यानाकर्षण गराइने उपमहासचिव प्रकाश अधिकारीले बताए । आफूहरू संविधान संशोधनकै लागि सरकारमा गएको उनको भनाइ छ । ‘पार्टीका तर्फबाट शीर्ष नेताहरूले कुराकानी गर्नुहुन्छ’, उनले भने, ‘त्यसपछि आवश्यक परे पदाधिकारी बैठक गरेर निर्णय हुन सक्छ ।’