मुगुका अग्नि पीडितले पाए नयाँ घर
मुगु : एक वर्षदेखि त्रिपालमा बस्दैआएका मुगुम कार्मारोङ गाउँपालिका—४ किम्री गाउँका १९ अग्नि पीडित परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ ।
किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष बैशाख २० गते आगलागीबाट अन्नवाली र धनसम्पत्ति पूर्ण रुपले क्षति भएको थियो । एक वर्षसम्म खुल्ला आकासमुनी त्रिपालमा हिउँद वर्षाका कष्टकर जीवन बिताउँदै आएका १९ पीडित परिवारलाई शनिबार नयाँ निर्मित घर हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सल्केको आगोले सँगै जोडिएका १९ घरधुरी पूर्ण रुपले क्षति भएपछि उनीहरुको नयाँ घर निर्माण गर्ने जिम्मा मानवअधिकार तथा वातावरण विकास केन्द्र हिरेन्डेकले लिएको थियो । यसका लागि ब्याक टु लाई इभीको आर्थिक सहयोग थियो ।
आगलागी भएका १९ घरधुरीका लागि प्रति घर ६ लाखका दरले १ करोड २२ लाख ५५ हजारमा शौचालय सहित ढुङ्गा, काठद्वारा निर्मित १९ घर हस्तान्तरण गरिएको हिरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले जानकारी दिए । गत वर्ष मंसिर २६ गतेबाट निमार्ण कार्य सुरु भएका घर हालै सम्पन्न भएका हुन् । हिरेन्डेकका प्रतिनिधि, प्रदेश सांसद दानसिंह परियार लगायत स्थानीय जनप्रतिनिधिहरुले पीडितलाई घर हस्तान्तरण गरेका थिए ।