जागिर छाडेर च्याउ खेती
धनगढी : धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३४ वर्षीय मनोज पडाल ६ वर्षअघि गैरसरकारी संस्थामा जागिरे थिए। त्यसअघि उनले कक्षा १२ मा पढ्दा–पढ्दै स्थानीय त्रिभुवन माविमा अध्यापन पनि गरे। अध्ययन गर्दागर्दै स्नाकोत्तरको पढाइ पूरा गरे।
अध्ययन र जागिरलाई एकैसाथ अघि बढाएका पडालले गैरसरकारी संस्थामार्फत गाउँ जाँदा अरुलाई स्वरोजगार बन्न सिकाउँथे। जागिरे जीवनभन्दा पनि व्यावसायीक जीवनले सफलता दिलाउने भन्दै अरुलाई सुझाव दिन्थ्ये। लामो समय जागिर गरेका पडाललाई सँधै अरुलाई सुझाव मात्र दिनुभन्दा आफैं गर्नुपर्छ भन्ने सोँच आयो।
‘संस्थामा तलब राम्रै थियो, तर गाउँमा जाँदा अरुलाई दिने सुझावले कहिलेकाँही आफैंलाई गिज्याउँथ्यो। म किन आफैं गरे अरुलाई प्रमाणीत गर्न सकेको छैन भन्ने लाग्यो। अनि जागिर छाडेर आफैं व्यावसायीक च्याउ खेतीमा लागेँ,’ विगत सम्झिँदै उनले भने। ५० हजार लगानीमा एक टहराबाट सुरु गरेको व्यवसाय अहिले धनगढीका विभिन्न ३ ठाउँ र कैलालीको पहाडी गाउँपालिका चुरेमासमेत विस्तार गरेका छन्।सुरुवाती दिन सम्झिँदै पडाल थप्छन्, ‘थोरै उत्पादन थियो, बजार पाउनै मुस्किल ! कहिलेकाँही त फेरी जागिरै गरौं भन्ने लाग्थ्यो। तर हिम्मत हार्न सकिएन। तर अहिले जति उत्पादन गरे पनि बिक्रीको समस्या छैन। बरु माग अनुसारको उत्पादन पुर्याउन नसक्दा कहिलेकाँही मन खिन्न हुन्छ।’
जागिर छाडेर च्याउ खेती गरेपछि सुरुमा त उनले परिवारकै साथ पाएनन्। तर विस्तारै आम्दानी देखेपछि सबै परिवार यसैमा होमिए। समाजमा पढे लेखेका मान्छेले कृषि पेशा गर्नुहुन्न भन्ने मान्नेतालाई तोड्दै उनले २०७० मा च्याउ खेती सुरु गरेका हुन्। २०७२ मा उनले च्याउ उत्पादन उद्योग नै दर्ता गरे। पडाल फारवेस्टर्न एग्रो फर्म का नाममा दर्ता गरेका उनले अहिले चार जना कामदारलाई मासिक १२ देखि १५ हजारसम्म तलब खुवाउँदै आएका छन्।यस्तै प्रसस्त जमिन नभएपछि १५ वर्षका लागि वार्षिक ६० हजार तिर्नेगरी डेढ बिघा जमिन भाडामा लिएका छन्। च्याउबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने उनी बताउँछन्। च्याउ खेतीबाटै कैलालीको खानाडाँडामा ४ कठ्ठा जमिन र पीकअप गाडीसमेत खरिद गरेका छन्।
उनको बजार धनगढी र अत्तरिया हो। दैनिक ४५ किलोसम्म च्याउ बिक्री गर्छन्। पढेलेखेका युवाहरू जागिर र वैदेशिक रोजगारीमा लागि दौडिने मात्र होइन, आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका पडाल। कृषिमा भविष्य देखेका पडालले च्याउ खेतीका साथै विभिन्न जातका बिरुवा उत्पादनका लागि नर्सरीसमेत बनाएका छन्।