राष्ट्रिय परिचयपत्र बनाउन आएनन्

राष्ट्रिय परिचयपत्र बनाउन आएनन्

ललितपुर : एक जनाले एउटाभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक पहिचान) वितरण सुरु गरिएको थियो। परिचयपत्र वितरण सुरु भएको ५ महिना भए पनि ललितपुरमा परिचयपत्र लिनेको संख्या न्यून छ। जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यालय राखेर परिचयपत्र बाँड्ने सुरु गरिएको हो। तर कार्यालयसँग जोडिएका वडा नम्बर ४ र ५ का एक जना पनि परिचयपत्र बनाउन नआएको गुनासो कर्मचारीले गरेका छन्।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालका अनुसार हालसम्म पटक पटक सूचना जारी गर्दा पनि स्थानीयहरू परिचयपत्र बनाउन नआएको बताए। ‘खै किन हो, कसैमा उत्सुकता देखिएन,’ भुषालले भने, ‘सरकारले राष्ट्रिय परिचयपत्रको महत्व के हो बुझाउन नसकेको जस्तो छ।’ उनले विशेष गरी वडा नम्बर ४ र ५ का बासिन्दा नआएको बताए।

वडा नम्बर ४ अध्यक्ष नारायण केसीका अनुसार उनी आफैंले नै पनि परिचयपत्र बनाएका छैनन्। उनले भने, ‘भोलि नै बनाउन जान्छु।’

तर उनले आफ्ना वडाका सबैलाई पटकपटक जानकारी गराइसकेको उनले बताए। परिचयपत्रको प्रयोजन र महत्व प्रष्ट नभइसकेकाले वडावासीले खासै चासो नलिएको हुनसक्ने बुझाई उनको छ। उनले राष्ट्रिय परिचयपत्र बनाउन जिल्लावासीसँग नागरिकता मात्र लिएर जान र बाहिर जिल्लाका मानिसले बसाइसराइको कागज र नागरिकता लिएर जानका लागि सुझाए।

वडा नम्बर ५ का अध्यक्ष विकासमान    श्रेष्ठले पनि अझै परिचयपत्र नबनाएको स्विकारे। उनले भने, ‘चाँडै परिचयपत्र बनाउने तयारीमा छु।’ धेरैजसो स्थानीय आवश्यकै परेको खण्डमा मात्र आउने गरेको उनले बताए। राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षका अनुसार पाँच महिनाको अवधिमा १ हजार ८ सयले मात्र परिचयपत्र बनाउनका लागि आवेदन दिएका छन्। तीमध्ये हालसम्म ६ सय जनाले परिचयपत्र पाएका छन्। दक्षिणी भेगबाट नागरिकता बनाउन आउनेले परिचयपत्र पनि बनाउने गरेको जानकारी कक्षले दिएको छ। यतिबेला कर्मचारी फुर्सदिला देखिन्छन्।

ललितपुरमा विभिन्न पृष्ठभूमिका बासिन्दाको बसोबास छ। आफ्नो पहिचान बाहिरिने डरले परिचयपत्र नलिएको हुनसक्ने कार्यालयको बुझाइ छ। परिचयपत्र दिनुअघि व्यक्ती स्वयं र बाबुआमाको नागरिकता, १० औंलाको छाप, फोटो, ठेगानालगायत विवरण राखिन्छ। त्यही भएर पनि जिल्लावासी परिचयपत्र लिन हच्किएको हुन सक्ने अनुमान छ।

तर सरकारले नागरिकलाई अनेक थरी परिचयपत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचयपत्र वितरण थालेको थियो। १५ जिल्लामा पहिलो चरणको पाइलट कार्यक्रमका रुपमा सरकारले वितरण सुरु गरेको हो। प्रदेश ३ को ललितपुर, चितवन र रसुवामा परिचयपत्र वितरण सुरु भएको हो। सरकारले झापा, संखुवासभा, महोत्तरी, सप्तरी, तनहुँ, स्याङजा, गुल्मी, कपिलवस्तु, सल्यान, जुम्ला, अछाम, कञ्चनपुरलगायत जिल्लामा पनि वितरण थालेको थियो।

असारमा परिचयपत्र वितरण उद्घाटन गर्दै ललितपुरका तीन सांसदले परिचयपत्र लिएका थिए। ललितपुर क्षेत्र १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, क्षेत्र २ का कृष्णलाल महर्जन र क्षेत्र ३ की पम्फा भुषालले परिचयपत्र लिए पनि यहाँका स्थानीय भने अझै परिचयपत्रबारे बेखबरजस्तै छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.