नदी तर्न धान तिर्छन् स्थानीय

नदी तर्न धान तिर्छन् स्थानीय

 सिरहा : हुलाकी सडकअन्तर्गत सिरहा–धनुषा जिल्ला जोड्ने कमला पुल शिलान्यास भएको नौ वर्ष पुग्दासमेत निर्माण सम्पन्न भएको छैन। नदीमा पुल नहुँदा यस क्षेत्रका स्थानीय बासिन्दा काठकै डुंगामा वारिपारि गर्छन्। त्यसबापत उनीहरूलाई वर्षैपिच्छे प्रत्येक घरबाट २० देखि ३० किलो धान माझीलाई तिर्नुपर्छ।

नदीमा अत्यधिक बाढी भएका बेला डुंगा पनि चल्दैन। त्यतिबेला सदरमुकाम सिरहाका वासिन्दालाई जनकपुर पुग्न भारतीय जयनगर बजार हुँदै पूर्व–पश्चिम लोकमार्गबाट जानुपर्छ। ‘नदीमा पुल भए जनकपुर जान एक घण्टा पनि लाग्दैन,’ सिरहा–६ का रञ्जित ठाकुरले भने, ‘बाढी बढी भएकाले डुंगा पनि चल्दैन। टाढाको बाटोबाट जनकपुर पुग्नुपर्छ। खर्च पनि बढ्छ।’

‘पुल शिलान्यास हुँदा खुसी भएका थियौँ तर वर्षौं बितिसक्यो निर्माण हुन सकेको छैन,’ सोही गाउँका इन्द्रजित यादवले भने, ‘कसैले पनि पुल निर्माणमा चासो लिएको देखिएन।’ पुल नहुँदा सास्ती खेप्नुपरेको उनले सुनाए। बिरामी पर्दा पनि ज्यान जोखिममा राखेर काठकै डुंगाबाट सर्वसाधारणलाई वारिपारि गर्नुपरेको उनले बताए।

कमला नदीमा निर्दना, हतमुण्डा, सारश्वर, बसपिटा, चिकना र चतरीघाटबाट स्थानीय काठकै डुंगामा मानिस नदी तर्छन्। दर्जनौँ गाउँका बासिन्दाले ५ महिना (असार–कात्तिक) नदी तर्न डुंगा चलाउनेलाई एक घरपरिवार बराबर २० देखि ३० किलोसम्म वर्षैपिच्छे धान दिने गरेको हतमुण्डाघाटमा डुंगा चलाउने गणेशकुमार सहनीले बताए। तटीय क्षेत्रका बासिन्दा धान तिरेर नदी वारिपारि गर्छन् भने बाहिरका यात्रुलाई मोटरसाइकल ५० रुपैयाँ, साइकल २० रुपैयाँ र व्यक्ति पिच्छे ५÷१० रुपैयाँ तिर्छन्। ‘दिनमा सयभन्दा बढी पटक वारिपारि गर्नुपर्छ,’ सहनीले भने, ‘दिनमा हजार रुपैयाँसम्म कमाइ हुन्छ। नदी वरिपरि गाउँका मानिसले धान दिन्छन्। बाहिरबाट आउनेले रुपैयाँ।’

‘नदीमा पुल बनेको भए जोखिम मोलेर तर्नु पर्दैनथ्यो,’ धनुषा हटलेटवा गाउँकी विमला कापरले भनिन्, ‘बजारमा किनमेल गर्न, घाँस दाउरा गर्न र आफन्त घर आउजाउका लागि नदी तर्नुपर्छ। त्यसका लागि बर्सेनि माझीलाई धान दिन्छौँ।’ नदीमा ठूलो बाढी आएका बेला झन् कठिनाइ भोग्नुपरेको उनले सुनाइन्। छठ पर्वमा छोरी घर सिरहाको कोइलपुर आउँदा घण्टौं कुरेर डुंगाबाट वारिपारि गरेको उनले बताइन्। ‘डुंगाकै भर छ, कहिलेकाहीँ डुंगा चलाउने नहुँदा घण्टौंसम्म कुर्नुपर्छ,’ उनले भनिन्।

‘नदी तर्न कहिलेसम्म धान तिर्दै जाने खै ? ’ इटारीप्रसाहीका भुवन ठाकुरले भने, ‘पुल निर्माण कम्पनीले कामै गर्दैनन्। कहिलेकाहीँ मिस्त्री लेबर ल्याउँछ। थोरै काम हुन्छ। फेरि रोकिन्छ।’ राति डुंगा चलाउने नहुँदा यात्रु अलपत्र पर्ने गरेको उनले सुनाए। बिरामीलाई अस्पताल पुर्‍याउन नदी वारिपारि गर्न झन् समस्या हुने उनले बताए।

सिरहा–धनुषा जोड्ने कमला नदीमा २८ करोड १५ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्न सरकार र पप्पु लुम्बिनी जेभी कन्ट्रक्सनबीच सम्झौता ३० मंसिर ०६८ सालमा भएको थियो। दुई पटक म्याद थपिँदा पनि पुल निर्माण गर्न सकेनन्। त्यसपछि पप्पु कन्ट्रक्सनलाई निर्माण कामबाट हटाइएको छ। ०७६ असोज १ गतेबाट लुम्बिनी बिल्डर्सले निर्माण थालेका छन्।

कमला पुल निर्माण गर्न पछिल्लो पटक एक वर्षको म्याद थप भएको निर्माण कम्पनीका इन्जिनियर सूर्यप्रकाश शर्माले बताए। थपिएको समयभित्र निर्माण कार्य सक्ने गरी कामलाई अगाडि बढाएको तर निर्माण सामग्री ल्याउने सुलभ बाटो नहुँदा धेरै कठिनाइ भोग्नुपरेको उनले सुनाए। ‘पहिला बाटो राम्रो थियो तर ०७६ असार २७ गते भएको अविरल वर्षासँगै आएको बाढीले भत्काएको सडक अहिलेसम्म मर्मत हुन नसक्दा निर्माण सामग्री ल्याउन कठिन भएको छ,’ उनले भने, ‘हालसम्म ५५ प्रतिशत काम भइसकेको छ। १२ स्ल्याबमध्ये २ स्ल्याब पहिलाकै निर्माण कम्पनीले ढलान गरिसकेका छन् बाँकी १० स्ल्याबको ढलान र अन्य बाँकी काम तीव्रतासाथ अगाडि बढाइएको छ।’

थपिएको एक वर्षभित्र ८० प्रतिशत निर्माण सक्ने उनले बताए। ‘८० प्रतिशत काम सक्दा फेरि ६ महिना समय थप्न सकिने प्रावधान छ,’ उनले भने, ‘६ महिनाभित्र कमला पुल निर्माण सक्ने हाम्रो दाबी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.