अन्नका अनेक कला

अन्नका अनेक कला

भक्तपुर : मंगलबार सकिमना पूर्णिमा। प्रत्येक वर्षको कात्तिक शुक्ल पक्ष पूर्णिमालाई नेपालभाषी समुदायले सकिमना पूर्णिमा मान्छन्। त्यसैले मंगलबार साँझ भक्तपुर नगर क्षेत्रका टोलटोलमा एक किसिमको प्रतिस्पर्धा नै चल्यो। साना बच्चादेखि ज्येष्ठ नागरिकसम्म उक्त स्पर्धामा सक्रिय सहभागिता जनाइरहेका थिए।

नेपालीको चलन नै हो, प्रतियोगीभन्दा रमिते बढी हुने। सोहीअनुसार उक्त स्पर्धामा सहभागी हुनेभन्दा हेर्ने रमितेको घुइँचो बढी थियो। फेरि रमितेहरू एकै ठाउँमा बसिरहने प्रवृत्तिका पनि थिएनन्। भ्याएसम्म सबै प्रतिस्पर्धा भएको ठाउँमा पुग्नैपर्ने। त्यसैले स्पर्धा हेर्ने रमिते पनि फेरिइरहेका हुन्थे।

तर प्रतिस्पर्धामा कुनै पुरस्कार पाइने थिएन। कला–संस्कृति जगेर्ना गर्ने प्रतियोगिता थियो। भुटेका गेडागुडी र मिठाई एवं रोटीका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धा थियो।

हिन्दू धर्मावलम्बीले मान्ने प्रमुख एकादशीमध्ये ठूलो एकादशी मानिने हरिबोधनी एकादशीको पाँच दिनपछिको पूर्णिमा नेपालभाषीका लागि अति महत्वपूर्ण छ। पूर्णिमालाई नेपालभाषी समुदाय सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) भन्छन्।

यस दिन राति नेपालभाषी समुदायको देवगुठी, दाफाभजनले आआफ्ना टोलमा रहेका देवदेवीको मन्दिरअगाडि भजनकीर्तन गर्छन्। त्यस क्रममा भुटेका गेडागुडी तथा मिठाई र रोटीबाट देवदेवीको पूर्ण कदको मूर्ति वा प्रतीकचिह्न बनाउनु यस पर्वको प्रमुख विशेषता हो। भुटेका गेडागुडीमा यस दिन विशेषतः मकै, कालो भटमास, गहँु, केराउ, चना, बकुला र मिठाई तथा रोटीतर्फ मालपुवा र स्वारीको प्रयोग गरी स्थानीय कलाकारले आआफ्ना कलाकारिता प्रदर्शन गर्छन्।

यो प्रदर्शन कुनै प्रतियोगिताभन्दा कम थिएन। त्यसैले एकले बनाएको भन्दा बढी राम्रो चित्र बनाउन कलाकार तँछाडमछाड नै गर्छन्। स्थानीय टोलका साना बालकदेखि ज्येष्ठ नागरिकसम्म यसमा लाग्ने भएकाले यो पर्व कलाकारिता प्रस्फुटन गर्ने सशक्त माध्यम भएको संस्कृतिविद् बताउँछन्। उनीहरूका अनुसार यो पर्वमा कलाकारिता सिकेका तथा जानेका युवा नै बढी अग्रसर हुन्छन्। त्यसैले उनीहरूले आफूलाई अरू कलाकारसँग दाज्ने तथा आफू बढी सक्षम भएको साबित गर्न बढी मेहनत गर्ने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

‘यस दिन बिस्केट जात्रामा सगुन चढाउने भक्तपुर नगरभित्र रहेका अष्टमातृकासँगै सम्पूर्ण देवदेवीको मन्दिरअगाडि चित्र तथा प्रतीक बनाइन्छ’, उनी भन्छन्, ‘जसमध्ये भक्तपुर टौमढीस्थित पाँचतले एवं भैरव मन्दिरअगाडि स्थानीय आकाश भैरव गुठीले भुटेको गेडागुडीबाट बिस्केट जात्रामा उभ्याइने लिंगो र भैरवनाथको रथको आकृति बनाउनु प्रमुख हो।’

भक्तपुर नगरमा मात्र होइन, नेवार बस्ती भएका ग्रामीण क्षेत्रमा पनि यस किसिमले आआफ्नो क्षेत्रमा रहेको देवताको भुटेका गेडागुडीको प्रतिमूर्ति बनाइने उनले जानकारी दिए।

यी देवदेवीका प्रतिमूर्ति प्रदर्शन गर्दै दाफाभजन तथा गुठियार राति अबेरसम्म भजनकीर्तन गर्छन्। यसरी भजनकीर्तन गर्दै गर्दा अन्य भक्तजनले आफ्ना घरमा भुटेका गेडागुडी तथा पिँडालु, सखरखण्डलगायत देवतालाई चढाउने तथा बाँड्ने गर्छन्।

यस बेला धान भित्याइसक्ने भएकाले किसान पनि फुर्सदमै हुन्छन्। दसैं र तिहारपछि हुने यस पर्वमा सबैभन्दा बढी मानिस भेला हुने मानिन्छ।

संस्कृतिकर्मी धौभडेलका अनुसार दसैंतिहारपछि काठमाडौं उपत्यकामा जाडो याम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा प्राप्त हुने मानिन्छ। त्यसैले यस दिनको पूर्णिमालाई नेपालभाषामा सकिमना पुन्ही (पिँडालु उसिनेर खाने पूर्णिमा) भनिन्छ।

यो पर्वको आफ्नै विशेषता र महत्व रहेको उनी स्पष्ट पार्छन्। जाडो मौसममा गेडागुडी चपाउँदा शरीरमा एकप्रकारको शक्ति प्रवाह हुने र यसले शरीरमा ऊर्जा प्राप्त भई मानिसलाई नयाँ जोश र जाँगरसहित काम गर्न उत्साहित गर्ने उनी बताउँछन्।

कृषिमा आधारित पर्व

संस्कृतिकर्मी विनोदराज शर्मा सकिमना पूर्णिमा कृषिमा आधारित पर्व भएको बताउँछन्। उनका अनुसार यस बेला किसानहरूले घरको ढुकुटीमा धान भित्याइसकेका हुँदैनन्। तर उनीहरूको ढुकुटीमा गहुँ भने बाँकी रहेको हुन्छ। त्यही गहुँ भुटेर देवतालाई सगुनका रूपमा चढाएर यस पर्व मनाइन्छ। भुटेको गहुँसँगै तेलमा मोलिएको कालो भटमास, फुलेका मकै र लावा प्रयोग गरेर कलाकारिता प्रदर्शन गर्नु यस पर्वको आकर्षण भएको उनी बताउँछन्। यसरी कलाकारिता प्रदर्शन गर्नुलाई स्थानीय नेपालभाषामा ‘नसा ब्वयेगु’ भनिन्छ।

‘गहुँ यस्तो अन्न हो, जुन भुटेर पनि खाइन्छ र पीठो बनाएर रोटी पनि खाइन्छ’, संस्कृतिकर्मी शर्मा भन्छन्, ‘त्यसैले सकिमना पूर्णिमामा गहुँको बढी महत्व छ। भुटेको गहुँसँगै गहुँकै पीठोको रोटी देवतालाई चढाइन्छ।’

सकिमना पूर्णिमामा गहुँको महत्व भएजस्तै मंसिर शुक्ल पूर्णिमा एवं धान्य पूर्णिमाको दिन नेपालभाषीले मनाउने योमरी पूर्णिमामा धानको महत्व छ। त्यस दिन धानलाई चामल बनाएपछि त्यसको पीठोबाट योमरी पकाएर खाइन्छ। योमरीमा चाकु, खुवा राखेर पकाइने हुनाले चिसोयाममा यसबाट पनि मानव शरीरलाई ऊर्जा प्राप्त हुने गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.