श्रम स्वीकृतिको सास्ती उस्तै

श्रम स्वीकृतिको सास्ती उस्तै

वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । त्यसकै ‘लाइभ’ अन्नपूर्ण पोस्ट्को अड्डामा अन्नपूर्ण अंक २ मा प्रकाशन गरिएको थियो । ठीक एक वर्षपछि आइतबार अड्डामा अन्नपूर्णको टोली पुनः ताहाचल पुग्दा श्रम स्वीकृतिको सास्ती उस्तै भेटियो ।

समयमा काम नबन्दा कतिपयले उडान रद्द गर्नुपरेको थियो । अधिकांश त उडान छुट्ला कि भन्ने चिन्तामा देखिन्थे । सरकारले प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरे पनि त्यसका लागि सेवाग्राही काठमाडौंमै आउने गरेको भेटियो ।

साँझ साढे ५ बजेको थियो, उदयपुरका छविन्द्रबहादुर मगर हतास देखिन्थे । घडी हेर्दै भन्दै उनी थिए, ‘बर्बादै भयो ।’ उनी आइतबारै साउदी अरब उड्नुपर्ने रहेछ । ‘आज (आइतबार) राति १० बजेको टिकट हो । काम भएन भने त बर्बादै हुन्छ’, उनी साथीहरूसँग दुखेसो गर्दै थिए, ‘कति बेला काम हुन्छ अनि होटल पुगेर सामान लिई एअरपोर्ट जाऔं ? ’ उनी बिहान ११ बजे कार्यालय पुगेका थिए । झन्डै चार घण्टा त लाइन लागेर पासपोर्ट बुझाए । ‘अझै काम भएको छैन’, उनले भने ।

पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेदेखि नवीकरण गर्न आउनेको भीड थेगिनसक्नु थियो । अधिकांश नेपाली कामदार दसैंको समयमा स्वदेश आएर छठपछि फर्किने भएकाले श्रम स्वीकृति लिन भीड लाग्ने गरेको कर्मचारीले बताए । धनुषाका एक युवकले बुधबारदेखि कार्यालय धाइरहेको बताए । ‘चार दिन भयो, कामै भएको छैन’, २९ वर्षे ती युवकले भने, ‘कहिले के पुगेन भन्छन्, कहिले के, दुःख दिने काम मात्र भयो ।’ आफूसँग भएको १० हजार रुपैयाँ पनि सकिएको उनले सुनाए । काम नभए सडकमै सुत्नुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

बाराका अजय कुमार साँझ ५ बजेसम्म पनि काम नभएपछि कर्मचारीप्रति आक्रोश पोखिरहेका थिए । ‘बिहान ९ बजे आएँ । तीन घण्टा लाइन लागेर १२ बजे डकुमेन्ट बुझाएँ’, उनले भने, ‘भोलि (सोमबार) बिहान १० बजेको उडान छ ।’ उनी नौ वर्षदेखि कतारमा काम गर्दै आएका छन् ।

साँझ कार्यालय समयपछि पनि कर्मचारी काममै थिए । श्रम स्वीकृतिको पर्खाइमा रहेकाहरूको भीड उस्तै थियो । काम नहुने हो कि भन्ने त्रासमा रहेका सेवाग्राहीलाई आश्वस्त पार्न कर्मचारी भन्दै थिए, ‘तपाईंहरूको काम राति १० बजेसम्म भए पनि आजै हुन्छ । चिन्ता नगर्नुस् ।’

दैनिक १ हजार जना श्रम स्वीकृति नवीकरण गर्न पुग्छन् । ५ सयको हाराहारीमा नयाँ श्रम स्वीकृति लिन पुग्ने गरेको कार्यालयले जनाएको छ । ‘धेरैजसो नेपाली कामदार दसैंमा घर आउँछन् र छठ सकिएपछि फर्किन्छन्’, निर्देशक सुरेश जोशीले भने, ‘धेरै कामदार एकै पटक फर्किंदा यहाँ कामको चाप बढेको हो । हामीले समय व्यवस्थापन गर्ने गरेका छौं ।’

आइतबार बिहान ७ बजे कार्यालय खुलेको उनले सुनाए । साँझ अबेरसम्म काम भइरहेको थियो । ‘हामीले उहाँहरूको हवाई टिकट हेरेर चाँडो काम गरिदिन्छौं’, उनले भने, ‘आजै टिकट भएकाहरूलाई प्राथमिकता दिन्छौं । काम सकिएन भने अर्काे दिन लाइन नबसी काम गरिदिन्छौं ।’

सम्झौतापत्र नहुँदा झनै समस्या

कार्यालयमा भेटिएका अधिकांश सेवाग्राहीको साझा समस्या देखियो, ‘सम्झौतापत्र नहुनु ।’ श्रम स्वीकृति नवीकरण गर्न सरकारले रोजगारदाता कम्पनीसँगको सम्झौतापत्र अनिवार्य गरेको छ । कार्यालयले सम्झौतापत्र नभएकै कारण दुःख नदिने बताए पनि कर्मचारीले अनिवार्य भनेपछि सेवाग्राही मर्कामा परेका थिए ।

‘यो नियम हामीलाई थाहै थिएन । तीन–चार घण्टा लाइन लागेर डकुमेन्ट बुझायो, सम्झौतापत्र खोइ भनेर सोध्छन्’, चार दिनदेखि कार्यालय धाइरहेका धनुषाका एक युवकले भने, ‘यताबाट कम्पनीमा फोन गरेर सम्झौतापत्र पठाइदेऊ भन्यो, हुन्छ भन्छन् पठाउँदैनन् । अझै कति दिन धाउनुपर्ने हो ? ’ उनी कतारमा रहेका साथीलाई सम्झौतापत्र पठाइदिन फोनमार्फत आग्रह गरिरहेका थिए । अनि, कार्यालयका कर्मचारीलाई इमेल आए÷नआएको सोधिरहेका थिए ।

‘म साउदी बसेको १५ वर्ष भयो । सातपटक नेपाल आइसकें तर यसअघि यो सम्झौतापत्र चाहिन्नथ्यो’, बैतडीका हिक्मत बोहोराले भने, ‘भोलि (सोमबार)को उडान छ । घरबाट हिजो (शनिबार) आएँ । आज सम्झौतापत्र चाहिन्छ भनेपछि अहिले नै कसरी ल्याऊँ ? ’

वीरबहादुर बस्नेत साउदीमा क्रेन चलाउँछन् । उनीसँग न कम्पनीसँगको सम्झौतापत्र थियो न त ड्राइभिङ लाइसेन्स । ‘यहाँ किन चाहिन्छ र भनेर लाइसेन्स उतै कम्पनीमा छाडेर आएँ । सम्झौतापत्र पनि छैन’, उनले भने, ‘बुधबार यहाँ आएपछि अनिवार्य चाहिन्छ भन्नुभयो । कम्पनीले अझै इमेल गरेको छैन ।’ इमेल नआएकै कारण हवाई टिकटसमेत रद्द गर्नुपरेको उनले सुनाए । ‘शुक्रबारको टिकट थियो रद्द गरें । ३० हजार रुपैयाँ थप लाग्ने देखियो’, उनले भने ।

भिसा स्टिकर हराउने चिन्ता

सरकारले हालै मात्र भिसा स्टिकरमा नयाँ प्रावधान ल्याएको छ । कामदारले अब इमेलमै स्टिकर पाउँछन् । मोबाइलमै स्टिकर देखाएर कामदार सजिलै विदेश उड्न पाउँछन् । स्टिकर थपिँदै जाँदा राहदानी फोहोर भएको भन्दै सरकारले इमेलमै स्टिकर दिने व्यवस्था गरेको हो । त्यसको जानकारी कामदारको मोबाइल नम्बरमा आउँछ । तर, कतिपयले इमेल नचलाउने हुँदा सरकारले प्रिन्ट दिने व्यवस्थासमेत गरेको छ । प्रिन्ट हराउला कि भन्ने चिन्ता सेवाग्राहीमा देखियो ।

‘मैले इमेल चलाउँदैन, यो प्रिन्ट दिनुभएको छ । हरायो भने त म विदेश जानै पाउँदैन’, एक युवाले भने, ‘राहदानीमा टाँस्दा ढुक्क हुन्छ नि । छुट्टै पाना राख्दा कता हराउँछ–हराउँछ ।’ सरकारले केही समयपछि प्रिन्ट दिन बन्द गर्ने तयारी गरेको छ ।

झिसमिसेमै लाइन

श्रम स्वीकृति लिन झिसमिसेमै सेवाग्राही वैदेशिक रोजगार कार्यालयमा पुग्छन् । कार्यालयबाहिर रहेका व्यवसायीका अनुसार बिहान ५ बजेअघि नै सेवाग्राहीको भीड लाग्छ । कार्यालयको ढोका खुल्छ ९ बजेतिर । काम सुरु हुन्छ १० बजेपछि मात्र । कार्यालयमा टोकनको व्यवस्था हटाइएको छ । अनलाइनबाट फारम भरी टोकन नम्बर र समय लिनुपथ्र्यो । अहिले घण्टौं लाइन लागेर फारम बुझाउनुपर्ने र पालो मिच्ने अवस्थाले सेवाग्राहीमा असन्तुष्टि देखिन्थ्यो । छिट्टै टोकन प्रणाली ल्याउन लागेको कर्मचारीले बताए । त्यसबाट कामदारको समय बचत र कार्यालयको भीड व्यवस्थित गर्न सकिन्छ ।

‘टोकन सिस्टम हुँदा राम्रो थियो । अहिले त त्यो सिस्टमै हराएछ’, उदयपुरका मगरले भने, ‘ठेलमठेल गरेर दिनभर लाइन लाग्दा साह्रै दुःख पाइयो । पैसा तिरेर सेवा लिँदा पनि सुख छैन । हाम्रो नेपालमा जुन काम गर्न पनि घण्टौं लाइन लाग्नुपर्ने विडम्बना कहिले अन्त्य होला ? ’ उनीहरूको दुखेसो थियो– ‘आफ्नै देशमा श्रम स्वीकृति लिन यति दुःख छ अनि विदेशमा हुने दुःखको कुरै नगरौं ।’

कार्यालयको मूल ढोकामा प्रहरीले पहरा दिन्छन् । सेवाग्राहीबाहेक अरूलाई कार्यालयभित्र प्रवेशमा कडाइ गरिएको छ । लाइन व्यवस्थापनदेखि सेवाप्रवाहमा प्रहरीले सहयोग गर्ने गरेका छन् । दैनिक सयौंको संख्यामा आउने सेवाग्राहीको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे देखिन्छ ।

महिलालाई परामर्श केन्द्र

पहिलो पटक विदेश जान लागेका नेपाली महिलालाई लक्ष्य गरी सूचना तथा परामर्श केन्द्र सञ्चालन गरिएको छ । रोजगारदाता, श्रम कार्यालय र श्रमिकबीच भएको त्रिपक्षीय सम्झौताबारे जानकारी लिनुका साथै विदेशमा काम गर्दा आउने कठिनाइबारे परामर्श दिइने गरेको छ । उनीहरूलाई वैदेशिक रोजगारसम्बन्धी श्रव्य–दृश्य सामग्री देखाउनुका साथै दलालबाट हुन सक्ने ठगीबारे पनि सेचत गराइन्छ । जोर्डन जान लागेका महिला ठूलो संख्यामा आइतबार श्रम स्वीकृतिका लागि ताहाचल पुगेका थिए । घरेलु काममा जोर्डन जान लागेका उनीहरुले प्रतिक्रिया दिन अस्वीकार गरे ।

बिमावालाले लाउँछन् हैरानी

कलंकी चोकबाट कालिमाटीसम्मको सडकमा हात समात्दै सोध्न आउँछन्–श्रम गर्ने हो ? ’ अन्नपूर्ण टोली बिहान १० बजे सोल्टीमोडबाट वैदेशिक रोजगार कार्यालयतर्फ जाँदा १२ जनाभन्दा बढीले एकै प्रकृतिको प्रश्न गरे, श्रम गर्न आउनुभएको ? बिमा गर्नुभयो ?  फारम भर्नुभयो ? ’

श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्नुपर्ने व्यवस्था छ । अधिकांश नेपाली ‘दलाल’को भर पर्छन् । दलालले विगतमा मनोमानी रूपमा कामदारबाट पैसा असुल्ने गर्थे । अनलाइन फारमका लागि ३ सय रुपैयाँ तोकिएको छ । वडा कार्यालय, विभाग र व्यवसायीबीचको सम्झौताअनुसार ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको हो । तर, आइतबार अन्नपूर्ण टोलीले कुरा गर्दा केही सेवाग्राहीले ६ सय रुपैयाँसम्म तिरेको बताए । कामदारले श्रम स्वीकृति लिनुअघि १ हजार ५ सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ । उमेरअनुसार बिमा गर्नुपर्छ । सबैजसो बिमा कम्पनीका कार्यालय त्यहाँ खुलेका छन् । उनीहरूले सेवाग्राहीबाट सकेसम्म अधिकतम पैसा लिने गरेको पाइयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.