आलम र संजय टक्ला एकै ठाउँमा
ललितपुर : रौतहट बम काण्डमा संलग्नताको मुद्दामा पूर्पक्षका लागि थुनामा पठाइएका पूर्वमन्त्री मोहम्मद आफताब आलम सोमबार नख्खु जेलमा शान्त थिए। नख्खु कारागारको सीआरसी ब्लक टूको दोस्रो तलामा राखिएका उनी दुई जना लागुऔषध र एकजना चोरीको कैदीसँगै राखिएका छन्। आलमसँगै जनकपुर बमकाण्डका अभियुक्त संजयकुमार साह ‘टक्ला’ पनि नख्खुमै छन्। साहले ५ जनाको ज्यान जाने गरी बम विस्फोट गराएको अभियोगमा नख्खुमा सजाय भुक्तान गरिरहेका छन्।
आलम कारागारमा आएको दिन शनिबारदेखि नै शान्त छन्। उनलाई अन्य कैदीभन्दा आरामदायी कोठामा राखिएको छ। कारागारका प्रमुख सुरेन्द्र पौडेलका अनुसार उनको चालचलन शान्त रहेको छ। आलम सोमबार पनि जेलमा मान्छेहरूलाई उत्सुकताका साथ हेरिरहेका थिए। कालो हाइनेक, सेतो धोती र सफाचट जँुगामा चिटिक्क थिए। उनी अलिकति पनि विचलित देखिएनन्।
पौडेलका अनुसार नख्खुमा १ हजार ५ सय कैदी बन्दी छन्। उनीहरूका लागि तीन ब्लक छन्। प्रत्येक ब्लकमा ५ सय कैदी राखिएका छन्। सीआरसी ब्लकको दोस्रो तलामा आलमको कोठा अन्य कैदीबन्दीको भन्दा राम्रो देखिन्थ्यो। क्षमता हेरेर एउटै कोठामा २० देखि २५ कैदी राखिए पनि आलम बस्ने कोठामा चार जना माब कैदी छन्। कोठा अलि साँघुरो नै छ।
नख्खुमा बस्न खासै रुचाएका छैनन् उनले। डिल्लीबजार कारागार जाने मनसायमा रहेका आलम आफ्ना लागि छुट्टै कोठा र शौचालयको माग गरिरहेका छन्। उनले आफ्ना परिवारका सदस्यसँग सफा ठाउँमा सारिदिए हुन्थ्यो भन्दै डिल्लीबजार जान चाहेको कुरा सम्बन्धित ठाउँमा राखिदिन अनुरोध गरेका छन्। ‘मुझे डिल्लीबजार ट्रान्सफर करदो,’ आफन्तसँग आलमले भनेको टिपोट पौडेलले सुनाए।
कारागार प्रशासनले अरूलाई प्रभाव पार्न सक्ने र शंकास्पद कैदीको क्रियाकलाप नियाल्ने र निगरानी गर्ने गर्छ। यसै सिलसिलामा आलमले आफ्ना छोरासँग गरेको कुराकानीबारे प्रशासनले निगरानी राखेको हो। उनका छोराले कारागारमा कुनै पनि प्रकारका कुरा नगर्न सुझाएका छन्। आलमले गर्ने सम्पूर्ण कुरा प्रशासनले रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गर्न सक्ने भएकाले सचेत रहन छोराले उनलाई सुझाएका छन्। तर कारागारले कुनै पनि कैदीबन्दीको भनाइ रेकर्ड नगरेको पौडेलले प्रष्ट्याएका छन्।
‘कारागारमा कोही ठूलो सानो हुन्न, सबैलाई समान व्यवहार हुन्छ,’ पौडेलले भने। आलम पनि सामान्य कैदीले जस्तै दिन काटिरहेका छन् अहिले। उनी सामूहिक मेसमै खाना खान्छन्। उनलाई सुगर र प्रेसरको समस्या छ। तर अस्पताल लगिहाल्नुपर्ने अवस्था भने छैन। भेट्न आउनेको लर्को पनि ठूलै छ। आइतबार मात्र उनलाई भेट्न आएका कम्तीमा ६० जना फर्काएको पौडेलको भनाइ छ। ‘एउटै समूहमा १२÷१५ जना आए,’ पौडेलले भने, ‘माननीयज्यूहरू र पार्टीका कार्यकर्तादेखि आफन्तहरुको घुईंचो लागेको थियो।’ तर सोमबार भने यस्ता आगन्तुक कोही देखिएनन्।
आलम जस्तै अरु धेरै भीआईपी पनि नख्खुमै राखिएका छन्। पूर्वराज्यमन्त्री नवीन विश्वकर्मा एक महिना पहिलादेखि नख्खुमा छन्। पूर्वराज्यमन्त्री मन्त्री संजय साह पनि २ वर्षदेखि यहीँ थुनिएका छन्। विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश वली, माइला लामालगायत बन्दी पनि त्यहीँ छन्।
नख्खु कारागारमा कैदी बन्दीलाई पुस्तकालय, क्यान्टिन, सैलुन, किनमेल केन्द्र, पुल तथा स्नुकरलगायत खेल खेल्ने ठाउँ, आयआर्जनका काम सिक्ने अवसर, प्रत्येक दिनका पत्रपत्रिका पढ्न पाउने जस्ता सुविधा दिइएको छ। कारागारमा ८० प्रतिशत कैदी बन्दी आपराधिक क्रियाकलापका संलग्नता काराण आएका भए पनि २० प्रतिशत भने परिबन्दमा परेका रहेको प्रमुख पौडेलले बताए। सुरक्षाको हिसाबले चुनौती हुने भन्दै यतिबेला नख्खु कारागारभित्र जान कडाइ गरिएको छ।