हिउँ चितुवा खोज्न ‘स्याटेलाइट टेलमेट्री’
काठमाडौं : शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जमा रहेका २ वटा हिऊँ चितुवामा ‘स्याटेलाइट टेलमेट्री’ जडान गरिएको छ। हिऊँ चितुवाको विचरण क्षेत्र, आहरा, वासस्थान र अन्य गतिविधि नियाल्न ‘स्याटेलाइट टेलमेट्री’ जडान गरिएको हो। चितुवाको घाँटीमा झुन्ड्याइने ‘स्याटेलाइट टेलमेट्री’बाट उनीहरूको गतिविधि काठमाडौंमा बसेर सजिलै अध्ययन गर्न सकिन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा २ वटा चितुवामा ‘स्याटेलाइट टेलमेट्री’ जडान गरिएको विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। यसअघि विभागले कञ्चनजंघा संरक्षण क्षेत्रका चारवटा चितुवामा उपकरण जडान गरेको थियो। यो क्षेत्रका चितुवाका बारेमा समेत अध्ययन भइरहेको छ।
‘स्याटेलाइट टेलमेट्रीबाट प्राप्त हुने सूचनाका आधारमा हिऊँ चितुवासँगै अन्य जिवजन्तु संरक्षणका अल्पकालीन र दीर्घकालीन योजना बनाउन सकिन्छ’, श्रेष्ठले भने, ‘हिउँ चितुवासँगै अन्य दुर्लभ र लोपोन्मुख जीवजन्तु संरक्षणमा सघाउ पुग्नेछ।’
हिऊँ चितुवा पाइने क्षेत्रमा विभागले क्यामेरा ट्रापसमेत जडान गरेको छ। विभागका अनुसार नेपालको उच्च पहाडी र हिमाली भेगका कञ्चनजंघा, मकालु वरुण, सगरमाथा, गौरीशंकर, लाङटाङ, अन्नपूर्ण, शे-फोक्सुन्डो, रारा, अपिनाम्पा संरक्षित क्षेत्रमा चितुवाको चहल-पहल छ।
नेपालसहित विभिन्न १२ मुलुकमा हिऊँ चितुवा पाइन्छ। विश्वभर यसको संख्या ६ हजार ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ। नेपालमा तीनदेखि पाँच सयको हाराहारीमा हिऊँ चितुवा रहेको अनुमान छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)ले यसलाई अति दुर्लभको सूचीमा सूचिकृत गरेको छ। त्यस्तै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस)ले अनुसूची १ मा समावेश गरेको छ।
हिऊँ चितुवा लजालु हुने भएकाले बिरलै मात्र देखिन्छ। हिऊँ चितुवा संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेर संरक्षणको काम गरेको छ। नेपालले ३ वटा ब्लकमा हिऊँ चितुवा संरक्षणको काम गरिरहेको छ। कञ्चनजंघा, मकालु वरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षित क्षेत्र समेटिएको पूर्वी ब्लक नामाकरण गरिएको छ। मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्य क्षेत्र तथा ढोरपाटन सिकार आरक्ष, शे-फोक्सुण्डो, रारा र खप्तड निकुञ्जसहित अपिनाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक नामाकरण गरिएको छ छ।