'जीवन काँडा कि फूल' प्रदर्शनमा रोक लगाएको निर्माताको आरोप
धनकुटा : मदन पुरस्कार विजेता झमक घिमिरेको बहुचर्चित आत्मकथामा आधारित फिल्म 'जीवन काँडा कि फूल' का निर्माता तथा निर्देशक विनोद विष्टले हलमा प्रर्दशन गर्न नदिई फिल्ममाथि वितरकले रोक लगाएको भन्दै आरोप लगाएका छन् ।
पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्माता तथा निर्देशक विष्टले वितरकले फिल्म नचलेको भन्दै पन्छिएर हलबाट उतारेर प्रदर्शन गर्न नदिएको आरोप लगाएका हुन् ।
वायोपिक फिल्म 'जीवन काँडा कि फूल' गत कात्तिक २२ गते देखि देशभर प्रर्दशनमा आएको थियो । तर वितरकले पर्याप्त हल नदिँदा सीमित हलमा मात्रै फिल्म प्रदर्शन भइरहेको छ।
उनले वितरकले फिल्म चल्न नदिएर हत्तोत्साहित गरेको दुखेसो गरे । धेरै दर्शकले फिल्म हेर्न खोजे।तर हलमा लागेन।धेरै दर्शकले फिल्म नराम्रो भन्दा पनि हेर्न नपाएको भन्ने मात्र गुनासो गरेको उनले बताए ।
काठमाडौंको केही स्थानबाहेक, पोखरा, धरानजस्ता बजारमा फिल्म लागेन । इहटरी, विर्तामोड, दमक, हेटौडा धनकुटा लगायत केही स्थानमा मात्रै फिल्म प्रदर्शन भएको थियो । उनका अनुसार क्यूएफएक्स, मल्टिप्लेस हलमा फिल्म शुक्रबार प्रर्दशन हुनुपूर्व बुधबार नै कुन-कुन हलमा फिल्म लाग्दैछ । कति सो पायो भन्ने खबर निर्मातालाई आउँछ।
'बक्स अफिसको सर्भर अहिले चलचित्र विकास वोर्डले राख्दो रहेछ । टाइमिङ विकास वोर्डले फिक्स गर्दो रहेछ,' उनले भने। वितरक कम्पनी वालाजी टेलिफिल्मका संचालक सुनिल मानन्धरले विकास वोर्डबाट सर्भर ह्याक भयो भन्ने खबर दिएको उनले बताए । उनले भने, 'सिटी मलमा रहेको मल्टिप्लेसमा शुक्रबार बिहान ११ बजे एउटा मात्रै सो पाइएको रहेछ । तर आफूले शुक्रबार बिहान ९ बजे मात्रै खबर पाएको उनले बताए।'
एउटा बहुचर्चित कृतिमा आधारित फिल्म प्रदर्शन हुँदा पनि कुनै निकायबाट साथ नपाएको उनले दुखेसो गरे । गेम प्लान्ट गरेर फिल्म माथि दह्रो राजनीतिक गरेको उनको दावी छ ।
उनले भने, 'अब अरुले वायोपिक बनाउने आँट गर्दैनन् । हिजो पनि बनेका वायोपिक फिल्म यसरी नै असफल भएका हुन् । वितरक, मल्टिप्लेस हलहरुले नियत खराब गरेर फिल्म चलाएनन् । काठमाडौं २९ वटा मल्टिप्लेस तथा क्यूएफएस हल छन् । कम्तीमा पनि एक÷एक शो पाएको हुन्थ्यो। सन्तोक मिल्थ्यो । '
'फिल्ममा स्टार कलाकार नभएको भनियो। झमक घिमिरेको फिल्म कुन चै स्टार काष्टलाई ल्याएर खेलाउनु । यो फरक खालको फिल्म भएकोले यही अनुसार सरकार, सबै निकायले सहयोग गर्नुपथ्यो, उनले भने, 'विरजंगमा सम्पन्न फिल्म महोत्सवमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हाम्रो नेपालमा वायोपिक फिल्म किन बन्दैनन् । आर्ट फिल्म किन बन्दैन भनेर मन्तव्यमा गुनासो राखेको सुने । तर बनिरहेको फिल्मलाई चलाउन कसैले ध्यान दिनु भएन । वेवास्ता गर्नुभयो ।'
फिल्ममा झमक सानो छँदाको रोल सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धचार्यले गरेकी छिन् । त्यस्तै फिल्ममा झमकको बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरिलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
करिब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ । फिल्मका कार्यकारी निर्माता बद्री चौहान, उमानाथ सुवेदी, जुनु गौतम, संवाद झमक घिमिरे, मुक्ति उपाध्याय बराल, पटकथा मुक्ति उपाध्याय बराल, संगीत प्रकाश शिवाकोटी, गीतकार झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेश प्रकाश महरा, प्रोडक्सन म्यानेजर प्रकाश हमाल, कलररिष्ट श्याम कुँवर, सम्पादक तारा थापा किम्भे लगायत छन् ।
दर्शकको उत्साहजनक साथ
धनकुटामा भने उत्साह साथ फिल्म प्रदर्शन भइरहेको छ । दर्शकको प्रतिक्रिया बुझ्न आएका निर्देशक विष्टले हलमा दर्शकको घुइँचो देखेर छक्क परे । अन्नपूर्णसँग कुरा गर्दै उनले भने, 'दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु।' फिल्म हेर्न आउने धेरै दर्शक भावुक बनेको धनकुटा सिनेमा हल संचालक पूर्णकुमार चौधरीले बताए।