विश्वभर आज : चिनियाँ कोइलाखानी विस्फोटमा १५ को मृत्यु, ट्रम्पको स्वास्थ्य परीक्षण लुकाइयो, किन ?
उपचारका लागि जेलबाट छुटेर बेलायत गए नवाज सरिफ

इस्लामाबाद : पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान गरेका छन् । भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय भोगिरहेका सरिफ अदालतले उपचारका लगि फुकुवा गरिदिएपछि मंगलबार लण्डनका लागि उडेका हुन् ।
पछिल्लो केही महिनादेखि सिकिस्त उनलाई चिकित्सककै सल्लाह वमोजिम उपचारका लागि विदेश जान फुकुवा भएको हो । उनलाई लिन लाहोर विमानस्थलमा एकाबिहानै दोहाबाट एयर एम्बुलेन्स आइपुगेको बताइएको छ ।
उनको यात्रा अवधिभर चिकित्सक टोली पनि विमानभित्रै रहनेछ । ६९ वर्षीय नवाजले चौधरी सुगरमिल्स काण्डमा भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका हुन् । उनीसँगै उनकी छोरी मरियम पनि सोही मुद्दामा जेलमै छिन् ।
चिनियाँ कोइलाखानीमा विस्फोट, १५ को मृत्यु

बेइजिङ : चीनको साङछी प्रान्तस्थित एक कोइला खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । अरु नौजना घाइते छन् । उत्तरी क्षेत्रमा ‘साङ्छी पिङ्ग्यायो फेङ्ग्यान कोल एण्ड कोक ग्रुप’ले सञ्चालन गर्दैआएको कोइलाखानीमा ग्यास विस्फोट भएको हो ।
सिन्ह्वा न्युजका अनुसार विस्फोट हुँदा खानीभित्र ३५ जना कामदारले काम गरिरहेका थिए । विस्फोटसँगै त्यहाँबाट ११ जना भाग्न सफल भएका हुन् । खानीका कामदारहरुको असावधानीका कारण घटना भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
चीनमा यसअघि पनि खानीभित्र विस्फोट हुने गरेको थियो । २०१८ डिसेम्बरमा ७ जना खानीका कामदारको मृत्यु भएको थियो । गत वर्ष नै अक्टोबर महिनामा २१ जनाको विस्फोटबाटै मृत्यु भएको थियो ।
किन लुकाइयो डोनल्ड ट्रम्पको आकस्मिक स्वास्थ्य परीक्षण ?

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी चिकित्सकले ट्रम्पको स्वास्थ्य जाँच गराएको समाचार अस्वीकार गरेका छन् । छातीको दुखाइका कारण केही घण्टा अस्पताल पुगेर ल्याब परीक्षण गराएको कुरा चिकित्सकले इन्कार गरेका हुन् ।
जब कि, ट्रम्प शनिबार वाल्टर रिड नेश्नल मिलिटरी मेडिकल सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए । जुन कुरा ट्रम्पका चिकित्सक सिन कोन्लीले अस्वीकार गरेका हुन् । ‘केही अनुमानका बावजुद राष्ट्रपतिलाई कुनै छातिको दुखाइ थिएन । न त कुनै आपतकालिन उपचार नै गराए,’ कोन्लीले भने ।
स्थानीय मिडियाका अनुसार ट्रम्पको छातिको दुखाइका कारण स्वास्थ्य परीक्षण तालिकामै थियो । सोमबार भने वासिङ्टन पोस्टले ट्रम्पको स्वास्थ्यबारे सम्पादकीय नै लेखेको थियो । ‘ट्रम्पको रहस्यमयी अस्पताल भ्रमणले उब्जाएका प्रश्न’ शीर्षकमा सम्पादकीय थियो ।
ट्रम्पले यो परीक्षणलाई ‘वार्षिक नियमित परीक्षण’ भने पनि पत्रिकाले गत फेब्रुअरीमा मात्रै नियमित परीक्षण गराएकाले त्यस्तो हुन नसक्ने जनाएको छ । पोस्टले राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी हरेक अमेरिकी नागरिकले पाउनुपर्ने तर्क गरेको थियो ।
हङकङमा प्रदर्शनकारीलाई हतियार छाड्न आग्रह

हङकङ : हङकङकी नेत्रीले विश्वविद्यालय कब्जा गरेका प्रदर्शनकारीहरुलाई आत्मसमर्पण गर्न आग्रह गरेकी छन् । पोलिटेक्निक युनिभर्सिटीमा आइतबार भएको हिंसात्मक प्रदर्शनबारे प्रतिक्रिया दिने क्रममा नेत्री क्यारी ल्यामले यस्तो बताएकी हुन् ।
जहाँ ४ हजार भन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन् । यस क्रममा प्रदर्शनकारीले हिंसात्मक प्रदर्शन रोक्नुपर्ने क्यारीको अडान छ । साथै हतियार पनि छाड्नुपर्ने उनले शर्तको रुपमा अघि सारेकी छन् ।
हङकङमा ठूलो संख्यामा प्रहरी तैनाथ गर्नुका साथै ४ हजार ५ सय प्रदर्शनकारी पक्राउ परेका छन् । हजारौं प्रदर्शनकारीले सडक, सपिङ मल लगायत सार्वजनिक स्थल कब्जामा लिएर प्रदर्शन गर्दैआएका छन् ।
हङकङमा ६ महिनादेखि जारी आन्दोलन हिंसात्मक रुपमा देखिन थालेको छ । अन्तर्राष्ट्रिय चासोको मुद्दा बनिसकेको सरकार विरोधी आन्दोलनमा चीनले पनि जनमुक्ति सेना तैनाथ गरेको छ ।
लिबियाबाट ९४ शरणार्थी र आप्रवासीको उद्धार

लिबिया : लिबियाको समुद्री किनारबाट ९४ शरणार्थी र आप्रवासीहरुको उद्धार भएको छ । जहाँ चार गर्भवती महिला समेत छन् । स्थानीय समय अनुसार मंगलबार बिहान ४ बजे पानीजहाज मार्फत उनीहरुलाई उद्धार गरिएको हो ।
उद्धार हुनेमा ४५ जना पुरुष, ११ महिला र ३८ जना बालबालिका थिए । हरेक वर्ष सयौंको संख्यामा शरणार्थी तथा आप्रवासीहरु जोखिमयुक्त बाटो हुँदै अवैध तरिकाले युरोप छिर्ने गरेका छन् ।
घोचढीमा भिड्दै पहिलो साउदी महिला

रियाद : साउदी अरेबियाकी खेलाडी डाल्मा मल्हासबारे अरब मुलुकमा अहिले चर्चा छ । घोडचढीको प्रतिष्पर्धामा सहभागी भएपछि अरेबिक मिडियामा उनले चर्चा पाएकी हुन् ।
त्यसो त, मल्हास पहिलो साउदी महिला एथ्लेट्स र घोडचढी खेलाडी हुन् ।
२०१० को ओलम्पिकमा समेत सहभागी मल्हासले घोडचढी प्रतिष्पर्धामा भाग लिने पहिलो साउदी महिलाको इतिहास रच्दैछिन् । ओलम्पिकमा कांस्य पदक समेत पाएकी थिइन् । घोडचढीको रुपमा मल्हासले ‘दिरिया इक्वेस्ट्रियन फेस्टिबल’मा प्रतिष्पर्धाको तयारी गरेकी हुन् ।
'लामो समयदेखि म यही प्रतिक्षामा थिएँ । म ज्यादै उत्साही छु । आफ्नै मातृभूमिमा प्रतिष्पर्धा गर्न मेरा लागि पहिलो पटक हुनेछ,’ उनले भनिन् । उक्त फेस्टिबल ऐतिहासिक दिरियास्थित अल दुहमीमा हुनेछ । जुन साउदी अरेबियाकै पहिलो र ऐतिहासिक हुनेछ । डिसेम्बर १२ देखि १४ र १९ देखि २१ गतेसम्म हुने प्रतिष्पर्धामा १ सय ५० घोडचढीका खेलाडी सहभागी हुने बताइएको छ । साथै १५ सय जति दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !