स्रोत नखुलेको ३५ लाख सहित दुईजना पक्राउ
बारा : प्रहरीले बाराको पचरौता नगरपालिका ८ स्थित लंगडाचोकबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा सुरक्षा प्रहरी बेस क्याम्प लंगडाचोक र प्रहरी विशेष ब्युरोबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ ७ झवानीका सुनिल महतो र राजनकुमार दुबेलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
सिम्रौनगढको महेन्द्र आदर्शबाट कलैयातर्फ आउँदै गरेको ना २६ प १६४९ नम्बरको मोटरसाइकलमा उनीहरु सवार थिए । प्रहरीले उनीहरुको साथमा रहेको झोलाबाट रकम बरामद गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी रन्जितसिंह राठौरले जानकारी दिए ।
राठौरका अनुसार एक हजार दरको एक हजार दुई सय थान र पाँच सय दरको चार हजार सात सय थान नेपाली नोट बरामद गरिएको छ । उनीहरुले रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रवक्ता राठौरले जानकारी दिए ।
उनीहरुको साथबाट विभिन्न बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित चेक र भौचरको फोटो, कारोवारको आवाज रेकर्ड फेला परेको प्रवक्ता राठौरले बताए । उनीहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी कसूर, २०७३ अन्तर्गत कसुरमा जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको राठौरले जानकारी दिए ।