रानीपोखरीमा डोजर

रानीपोखरीमा डोजर

काठमाडौं : रानीपोखरी पुनर्निर्माणमा डोजर प्रयोग भएको छ। काम छिटो सकिने र लागत थोरै हुने भन्दै डोजर उपयोग गरिएको हो। रानीपोखरीमा दुई वटा डोजर प्रयोग गरिएको छ। पुराना संरचना भत्काउन डोजर प्रयोग भएको छ। माटो मुछ्न र सम्याउन एक्स्काभेटरको प्रयोग भइरहेछ। मल्लकालीन सम्पदामा डोजर चलाएको भन्दै सम्पदा अभियन्ताहरूले विरोध गरिरहँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ७ महिनामा काम सक्ने तयारीमा छ।

प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर भन्छन्, ‘मानिसबाट काम गराउँदा महिनौं लाग्छ। डोजरले त्यही काम दिनभरमै सकाउँछ।’ डोजर प्रयोग गरेसँगै काम तीव्र गतिमा भएको उनले बताए। तर सम्पदाप्रेमीहरू डोजरको प्रयोग कुनै पनि हालतमा गर्न नहुने बताउँछन्।

‘रानीपोखरी पुनर्निर्माण सम्पूर्ण नेपालीको अपनत्व र भावनासँग जोडिएको छ,’ सम्पदा अभियन्ता गणपतिलाल  श्रेष्ठ भन्छन्, ‘पैसा र समय बचाउने नाममा डोजर प्रयोग गर्नु उचित होइन।’ डोजर चलाएर मौलिकता मास्न खोजेको  श्रेष्ठको आरोप छ। सुरुमा ६० भन्दा बढी जनशक्ति प्रयोग गरिएको पुनर्निर्माणमा हाल २० जना मात्र कामदार छन्। भक्तपुरका दक्ष जनशक्ति हटाएर डोजर ल्याइएको हो।

सम्पदाविद विष्णु कार्कीले पुनर्निर्माण क्रममा रानीपोखरीमा प्रयुक्त सिमेन्ट, कंक्रिट हटाउन डोजर प्रयोग भएको बताएका छन्। ‘रानीपोखरीको मन्दिर र गारोमा सिमेन्ट प्रयोग भएको थियो। त्यही संरचना हटाउन डोजर प्रयोग गर्नु गलत होइन,’ उनले भने। काम सहज बनाउन डोजर प्रयोग गरेको बताए पनि संवेदनशील क्षेत्रमा समेत डोजर कुदेको निर्माणमा संलग्नहरू नै बताउँछन्।

रानीपोखरी पुनर्निर्माणमा डोजर नचलाउने सहमति भएको थियो।

मन्दिर क्षेत्र संवेदनशील भएको र त्यहाँ पुरातात्विक तथा ऐतिहासिक अवशेष हुनसक्ने भन्दै दुई महिना मानव संसाधान प्रयोग गरियो। पुरातत्वविदका साथै सम्पदाविदले पोखरीमा पानीको मुहान रहेको बताउँदै आएका छन्। तर अनुसन्धान गर्दा त्यस्तो स्रोत नभेटिएको भन्दै रानीपोखरीमा डोजर चलाइएको छ।

पुनर्निर्माणमा दुई बेग्लाबेग्लै समूहले काम गरिरहेका छन्। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पोखरीको पर्खाल र जमिनमा इँटा तथा माटो बिछ्याइरहेको छ। पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरीको पहिलो, दोस्रो र बाहिरी घेरा बनाउने जिम्मा ठेकेदार कम्पनी सीएमसीलाई दिइएको छ। तर काम भने १० प्रतिशत पनि भएको छैन।

पोखरीमा पुरातात्विक महत्वका साना र ठूला माःअप (पातलो इँटा) प्रयोग भएको छ। माछीकाँडे शैलीमा पर्खाल लगाइएको छ। ८५ प्रतिशत पर्खाल लगाइसकेको उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले बताए। ‘भक्तपुर साखुँ लगायतका खानीबाट ल्याइएको कालो द्यःचा (देउता माटो) प्रयोग भएको छ,’ उनी भन्छन्। पोखरीको जमिनमा बालुवा, त्यसमाथि कालो माटो र इँटा राखेर काम भइरहेको छ।

रानीपोखरीको परिपरि चार ढुंगेधारा भएको सम्पदाविद कार्की बताउँछन्। राष्ट्रिय नाचघर, भोटाहिटी, विद्युत प्राधिकरण रहेको ठाउँमा यी ढुंगेधारा बनाइएको थियो। यहाँ आउने पानीको ७ मुहान रहेको प्रमाण भेटिन्छ। ०७२ को भूकम्पपछि ती मुहानको खोजी गरिएको थियो। कार्की भन्छन्, ‘त्रिचन्द्र कलेजको कम्पाउन्डमा दुई मूल भेटिएका छन्। वर्षात्का बेला त्यहाँ पानी रसाउँछ।’ आकाशेपानी रिचार्ज गर्ने मल्लकालीन संरचना अहिले नष्ट भइसकेको भन्दै रानीपोखरीको एक छेउमा दुई वटा ‘डिप बोरिङ’ गरिँदैछ।

पोखरीमा पानी सदाबहार बनाउन टुँडिखेलछेउको वीर अस्पतालसँगैको इनार प्रयोग हुने भएको छ। उक्त इनारको पानी असन इन्द्रचोकको प्यास मेटाउन खनिएको थियो। मेलम्चीको पानीसमेत लैजाने योजना छ। बालगोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट (शिखर) शैली मा निर्माण हुने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.