जाजरकोटवासीलाई झस्काइरहने त्यो दिन...

जाजरकोटवासीलाई झस्काइरहने त्यो दिन...

जाजरकोट  : भेरी नगरपालिका–४ रामजानकी टोलका कैलाशसिंह खत्रीलाई मंसिर ४ आएपछि मन भकानिन्छ। चार वर्षअघि २०७१ साल मंसिर ४ गते जिल्लाको भुर रावतगाउँ नजिकै ५४ जनाको ज्यान जाने गरी भएको बस दुघर्टनामा उनका छोरा प्रदेशसिंह खत्रीको पनि मृत्यु भएको थियो। छोराको यादमा उनी तड्पीरहेका छन्।

लक्का जवान छोरा बस दुघर्टनामा गुमाउनु पर्दा उनको मन अझै थामिएको छैन। ‘नेपालगञ्ज जाने भनेर हिँडेको छोरा कहिल्यै नफर्किने गरी छोडेर गयो। मंसिर ४ हाम्रो लागी कालो दिन हो’, उनले भने। छोरा वितेपछि बुहारी पनि दोस्रो विवाह गरेर गइन्। नावालक नाती नातिना हुर्काउने, पढाउने जिम्मा उनकै काँधमा छ। ‘मेरो जस्तो पिडा कसैले भोग्न नपरोस्’, उनले भने।

भेरी नगरपालिका–२ की लक्ष्मी खड्का पनि बस दुर्घटनापछि पति वियोगमा परिन्। पतिको मृत्युसँगै उनको काँधमा एक छोरा र दुई छोरी हुर्काउने जिम्मेवारी आयो। कमाउने मानिसको दुघर्टनामा ज्यान गएपछि दैनिक गुजरा चलाउनसमेत मुस्किल परिरहेको उनको भनाइ छ। ‘मंसिर ४ हाम्रो लागी कालो दिन भयो। यो दिन फर्केर नआइदिए हुन्थ्योजस्तो लाग्छ’, उनले भनिन, ‘नेपालगञ्ज जाने भनेर हिँडेको श्रीमान् फर्केर आउनुभएन। केटाकेटीका लागी भए पनि मुटुमाथि ढुँगा राखेर जिउनु परेको छ।’

खत्री र खड्काजस्तै बस दुर्घटनामा ज्यान गुमाएका ५४ जनाका परिवारको हालत उस्तै छ। जाजरकोट खलंगाबाट ६५ जना यात्रु बोकेर नेपालगञ्जका लागी छुटेको बस छिन्चु–जाजरकोट सडक खण्डको भुर नजिकबाट भेरी नदीमा खसेको थियो। थोत्रो बस, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु राखिएकाले दुघर्टना भएको थियो।

यति धेरैले ज्यान गुमाउने गरी भएको बस दुघर्टनापछि उक्त सडकको छेउमा सुरक्षा बार लगाइएको छ। केही समय सिटभन्दा बढी यात्रु राख्न नपाइने, टाईम कार्ड प्रयोग गरेर कडाई गरे पनि पछिल्लो समय यो क्रम सेलाएको छ। सो दुघर्टनाको दुई वर्षपछि २०७३ सालमा उक्त सडकको खलंगा नजिकै बोहरामा भएको अर्को बस दुघर्टनामा २७ जनाले ज्यान गुमाएका थिए।

पाँच बर्षको अवधीमा छिन्चु जाजरकोट सडक खण्डमा ८५ जनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ। स्थानीय र पीडित परिवारले दुघर्टना भएको दिनको अवसर पारेर बुधवार दुघर्टनास्थलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.