किसानले लगाए धानखेतमा आगो

किसानले लगाए धानखेतमा आगो

झापा : झापामा फड्के किराले धान सखाप पारेपछि किसानले खेतमा आगो लगाएका छन्। फड्के कीराले जरैदेखि काटिदिएपछि पोटाउँदा पोटाउँदै सुकेको पराल आगो लगाएर डढाउन थालेका हुन् ।

२८ कठ्ठा खेतमा धान लगाएका मेचीनगर नगरपालिका ९ का कमलमणि पौडेलले फड्के कीराले धानको जरा काटेर सखाप पारेपछि अहिलेसम्म १० कठ्ठामा आगो लगाएको बताए । मेचिनगरकै अर्का कृषक धनमायाले ९ कठ्ठा जति धान खेती डढाएको बताइन् । उनले डेढ बिघामा धान लगाएकी थिइन् । 'धान पोटाउँदै थियो, गहुँको बाला सुकेझै सुक्न थाल्यो,' उनले भनिन् ।

धनमायाले विगतका वर्षमा सय मन धान भित्राउने गर्थिन् ।  यो पटक ४० मन पनि होला कि नहोला भएको छ ।'घरको अरु आम्दानीको स्रोत छैन, वर्षैपिच्छे बेचेको धानले नै फेरि खेती लगाउन र यसो घर खर्च पनि चलाउने गरिन्थ्यो,' उनको दुखेसो छ, 'छोराछोरी जत्तिकै स्याहार गरियो अब पाक्यो भनेर थन्काउने बेलामा यस्तो बिपत आइलाग्यो । मन बलियो बनाएर आगो लगायौँ ।'

  
झापाको गौरिगञ्ज गाउँपालिका ३ नम्बर वडाका कृषक पदम ठाकुरले करिब १ कठ्ठा जग्गा बराबरको धानमा आगो लगाए । उनी भन्छन्, 'एक कठ्ठामा एउटै दाना देखिएन । यसले अरु बाँकीलाई पनि असर गर्ला कि भन्ने डरले डढाएँ,  यो त खाँदै जाँदो रैछ । भित्रभित्रै खाएर सकेको पत्तो नपाइने रैछ ।'

धान खेतिमा देखिएको फड्के जातको किरा जिल्ला भरीका क्षेत्रमा धेरथोर मात्रामा फैलिएको कृषि विज्ञ बताउँछन् । हालसम्म झापा जिल्लाभरी २ सय १५ बिगाहा क्षेत्रफल बराबरको धानखेतीमा फड्के किराको समस्या देखिएको कृषि ज्ञानकेन्द्र झापाका कृषि प्रसार अधिकृत शेषराज पौडेलले बताए । 

झापामा पछिल्लो समय धान खेतीमा विभिन्न समस्या देखिएको छ । कहिले फौजी कीरा त कहिले फड्के कीराले किसानलाई हैरान पारेको छ ।मेचीनगर नगरपालीका वडा  ९ का अध्यक्ष गोपाल खड्काका अनुसार वडाको पहुँचमा किसानको सहयोगका लागि केही छैन । 'हामी नगरपालिकालाई सिफारिस मात्र गर्न सक्छौं, अरु हाम्रो पहुँचको बाहिरको कुरा हो,' उनले भने ।

कृषि प्रसार अधिकृत पौडेल भने बेलैमा किसानले जानकारी नदिएको बताउँछन् ।  'चाडबाडको रन्कोले छपक्कै छोपेको बेला कीराले धान खाइसकेको किसानलाई पत्तै भएनछ,' उनले भने । पछिल्लो एक सातामा मात्र कृषकको गुनासो स्थानीय तह मार्फत आउन थालेपछि कृषि ज्ञान केन्द्रले फड्के किराको आक्रमणबारे खोजी गरेको ज्ञानकेन्द्रका प्रमुख  निलकमल सिंहले बताए ।

सिंहका अनुसार झापाका मेचिनगरका ९, १४, ४, २, ३ वडा, भद्रपुर २, हल्दीबारी, ५, बिर्तामोड १०, गौरीगञ्ज ३, शिबसताक्षी ८ र ६ वडा लगायतमा फड्केले धानमा असर गरेको छ । सिंहले भने सबैतिर अलि अलि समस्या छ तर पनि यसलाई प्रकोपको रुपमा लिन नमिल्ने उल्लेख गरे । 'थोरै खेती हुने किसानलाई यो समस्याको रुपमा देखिएको हो,’ उनले भने । 

स्थानीय निकायबाट राहतका लागि सिफारिस आएमा प्रदेश सरकार समक्ष पुर्‍याउन सकिने उनले बताए । झापामा गत वर्षभन्दा यसपालि शून्य दशमलब एक प्रतिशतले धानको उत्पादकत्व घटेको अनुमान छ । कृषि प्रसार अधिकृत पौडेलका अनुसार पर्याप्त वर्षा नहुनु, युरिया मलको अभाव र सुरुवाती चरणमा देखिएको फौजी र पछिल्लो चरणमा देखिएको फड्के कीराको कारणले उत्पादकत्व घटेको हो ।
 
गत वर्ष चार लाख दुई हजार पाँच सय मेट्रिकटन धान उत्पादन भएको झापामा यो वर्ष तीन लाख ८१ हजार ९ सय ३७.५ मेट्रिकटन उत्पादन हुने अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.