कसले सुनेको छ बेलुनको कथा ?
भाइबहिनी हो, तिमीहरू सबैले बेलुन देखेका छौ है ? धेरैले त फुलाएर खेलाएका पनि छौ होला। खासमा बेलुन सबैलाई मनपर्छ। रंगीचंगी बेलुनलाई विवाह, जन्मदिन आदि रमाइला कार्यक्रममा जताततै झुन्ड्याई कार्यक्रमलाई आकर्षक बनाउन प्रयोग गरिन्छ। तर, धेरैले यो बालबालिकाका लागि खेलौना मात्र हो भन्ने ठान्छन्।
यो खेलौना मात्र नभई यसको प्रयोग ठूलाठूला युद्धमा पनि भएको इतिहासले जनाउँछ। त्यसैले भाइबहिनी हो, आज म तिमीहरूलाई बेलुनको सुरुआत कहाँबाट भयो ? यसलाई कहाँ कसरी प्रयोग गरिँदै आएको छ ? भन्नेबारे भित्री कथा बताउँछु। ....
बेलुनको आविष्कार १७औं शताब्दीमा फ्रान्समा भएको हो। फ्रान्समा दुई भाइ थिए। एउटाको नाम स्टेफिन थियो भने अर्कोको जोसेफ। यी दुवै फ्रान्सको एनोएन नगरमा बस्थे। दुवैलाई उड्ने कला सिक्ने ठूलो इच्छा थियो। एकदिन उनीहरूले कागजभित्र खोक्रो भएको एउटा थैली बनाएर त्यसमा तातो हावा भरेर हावामा उडाउने सोच बनाए। त्यो दिन थियो ५ जुन १७८३।
उनीहरूले १० मिटर व्यास भएको भित्र खुकुलो गोला बनाएर एउटा खम्बामा बाँधे। त्यसपछि तलबाट भुसमा आगो लगाए। भुसबाट निस्केको धुवाँ त्यो खुकुला गोलो कागजभित्र भरिँदै गयो। धुवाँ भरिएपछि कागज हलुको भयो र केही मिनेट मै १८ सय मिटरको उचाइमा पुग्यो। तर, छिटै तल झर्न थाल्यो। यसबाट उनीहरू यसमा धुवाँ भरिएपछि हलुको भई उड्छ भन्ने कुरा थाहा पाए।
उनीहरूले गरेको यो खबर फ्रान्सका एक प्रसिद्ध वैज्ञानिक चाल्र्सले थाहा पाए। चाल्र्सले यस प्रयोगलाई पुनः दोहोर्याउने निश्चय गरे। तर, उनले धुवाँको सट्टामा हाइड्रोजन ग्यासको प्रयोग गरे। किनभने हाइड्रोजन हावा भन्दा १४.५ गुण हलुको हुन्छ।
त्यो बेलाको समयमा बेलुन उड्नु कुनै जादुभन्दा कम थिएन। बेलुन उडाउन उनले चन्दा पनि संकलन गरे। आफ्ना साथीहरूको सहयोगमा ४ मिटर व्यास भएको रेशमको बेलुन बनाए। भित्रबाट ग्यास बाहिर ननिस्कियोस् भनेर भित्रपट्टि गमले टालिदिए। २३ अगस्ट १७८३ मा रेशमका ती गोला लिएर ३ किलोमिटर पर एउटा मैदानमा लिएर गए। त्यो हेर्नका लागि मानिसको निकै ठूलो घुइँचो लाग्यो। उक्त बेलुन सबैले आश्चर्य मान्दै हेरे।
बेलुका ५ बजे बेलुन उडाइयो। बेलुन हलुका भएका कारण दुई मिनेट नपुग्दै उडेर १०० मिटर माथि पुग्यो। त्यहीबेला पानी पर्न थाल्यो। बेलुन बादलमा विलीन भयो। हराएको बेलुन पेरिसबाट २५ किलोमिटर टाढा गएर झरेको रहेछ। बेलुन झर्दै गरेको खेतमा काम गरिरहेका दुई जना किसानले देखे। यो के हो ? भनेर आश्चर्य मान्दै उनीहरूले दृष्टि लगाए। आकाशबाट झर्ने पक्कै कुनै दैत्य वा राक्षस होला ? भन्ने लाग्यो। डरले नजिक जान सकेनन्। टाढैबाट बेलुनमा ढुंगाले हान्न थाले। हान्दाहान्दै बेलुन फुट्यो। डराइडराई एउटा किसान बेलुन नजिक गयो। फुटेको बेलुनलाई घोडाको पुच्छरमा बाँधेर गाउँको पादरी समक्ष लग्यो। पादरीले बेलुन हेर्यो। बेलुनभित्रको सानो थैलीमा एउटा कागजको टुक्रा थियो। त्यसमा चाल्र्स नाम र ‘यो कसैले फेला पारे लेखिएको ठेगानामा ल्याइदिनुहोला’ भन्ने सानो सूचना लेखिएको थियो। यो सूचना पढेर पादरी र किसान एकदमै खुसी भए। यसरी बेलुनको चर्चा जताततै हुन थाल्यो। त्यसपछि यसमाथि अनेक प्रयोग हुन थाल्यो।
सन् १८०८ मा बेलुनको सहायताले हावाबाटै युद्ध भयो। युद्ध गर्ने मानिस एमडी ग्राडपर र एमएल पिक थिए। उक्त युद्ध एक अभिनेत्रीका कारण भएको थियो। युद्धमा पिक र उसका मानिस मारिए। बाँकी अरू ३० किलोमिटर पर गएर एउटा मैदानमा उत्रिए।
त्यतिबेला वैज्ञानिक चाल्र्सको ज्यान खतरामा थियो। यही बेलुनका कारण उनी बाँचे। वास्तवमा चाल्र्स राजाको घरमा काम गर्थे। राजाले दुस्मनहरूलाई जेलमा कोचिदियो, त्यसमा चाल्र्स पनि समातिएका थिए। चाल्र्सलाई पनि मृत्युदण्ड सुनाइएको थियो। तर, उनी बेलुनकै कारण बाँचे। त्यसपछि उनले धेरै बेलुन बनाए। र संसारभरि यो प्रयोग हुन थाल्यो। यसरी बेलुन प्रचलनमा आएको हो।