सुस्ताकी ‘लैला’को ‘मजनु’ प्रेम

सुस्ताकी ‘लैला’को ‘मजनु’ प्रेम

परासी : वास्तविक नाम ‘नुरुजा बेगम’। प्यारो गरेर रेखदेख गर्दै आएको जमिनलाई भारतीय एसएसबीले अतिक्रमण गर्न थाल्यो। नेपाली सुस्तावासी र भारतीय पक्षबीच भनाभन भयो। उनले उद्घोष गरिन्, ‘आजदेखि मेरो नाम ‘लैला’ भयो।’

२०३४ सालमा नारायणीमा आएको भीषण बाढीले नदीको धार परिवर्तन गर्‍यो। धार परिवर्तन गर्नुअघि नेपाल–भारतको सिमाना नारायणी नदी थियो। धार परिवर्तनसँगै नारायणी नदी पश्चिमको त्रिवेणीघाटदेखि सगरदिनसम्मको गाउँ पूर्वतर्फ पुग्यो। सोही गाउँ हो सुस्ता। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा पर्ने सुस्तालाई तीनतर्फबाट बिहारले घेरेको छ। नारायणीपारि रहेको सुस्तालाई भारतले ४०÷४२ सालदेखि आँखा लगाउन थालेको हो। सुस्ताका स्थानीय त्यही बेलादेखि भूमिरक्षाका लागि लड्दै आएका छन्।

६२ वर्षीया लैला भारतीय पक्षले विवाद निकाल्न थालेपछि तन्नेरी जोश लिएर भूमिरक्षाका लागि लाठी र भाटा लिएर सीमामा पुग्छिन्। लैला नाम राख्नुको कारण बताउँदै उनले भनिन्, ‘पहिला गाउँमा धार्मिक कार्य र विवाह हुँदा ‘डेक’ ल्याएर फिल्म हेर्ने चलन थियो। एक दिन गाउँमा ‘लैला–मजनु’ फिल्म चलेको थियो। मैले फिल्म सुरुदेखि अन्तसम्म हेरें। उनीहरूको प्रेम देखेर म प्रभावित भएँ। मैले सबैभन्दा बढी माया गर्ने मेरो भूमि नै हो। त्यसै दिनदेखि मैले गाउँलेलाई भनें, ‘आजदेखि मेरो नाम ‘लैला’ भयो।’

भारतले सीमा विवाद निकालेर विवादमा ल्याएको सुस्तामा दैनिक विभिन्न संघसंस्था, राजनीतिक दल, भ्रातृ संगठन, पत्रकारलगायतको टोली पुग्छन्। नयाँ पुस्तालाई उनको वास्तविक नाम थाहा छैन। सुस्तामा पुग्ने जोकसैले ‘लैला दिदी’ हुनुहुन्न भनेर सोधखोज गर्छन्।

‘म लैला हुँ। मजनु मेरो भूमि हो, जुन भूमि सुस्ता हो। मेरो मजनुलाई कसैले गिद्दे आँखा लगाउन खोजे ज्यानै लिन्छु’, लैलाले भनिन्। सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर छ। १४ हजार हेक्टर भारतले अतिक्रमण गरिसकेको छ। साढे ७ हजार हेक्टरमात्र सुस्तावासीले भोगचलन गर्दै आएका छन्।आन्दोलनको अगुवाइ गर्दै लैला बेगम

भारतले विवाद निकालेपछि ‘धनैया रेता’ गाउँको १९ हजार चार सय ८० हेक्टर पर्ती जग्गासहितको जंगल क्षेत्र नेपाल–भारत दुवै देशका जनताले जोतभोग नगर्ने सहमति गरेर छाडिएको छ। २०६२ सालमा भारतीयले एकाएक भूमि अतिक्रमण तीव्र बनाए। २०६४ सालमा स्थानीय र सीमा क्षेत्रका दुई देशका प्रशासनसहित बसेर उक्त क्षेत्र कसैले पनि भोगचलन गर्ने भन्दै सहमति गरिएको हो।Sustaसुस्ता गाउँ

‘सहमतिको समयमा विवाद निकालेको जग्गालाई भारतले आधाआधा बाँडेर लिन भनेको थियो। सुस्तावासीले नमानेपछि अहिले गौचरनका रुपमा छाडिएको छ। तर पनि बेला बेलामा भारतले अतिक्रमण गर्न खोज्छ’, लैला भन्छिन्, ‘हाम्रो जमिन भारतीयलाई किन आधा दिने ?  विवाद निकालेको जग्गा र अतिक्रमण गरेको १४ हजार हेक्टर फिर्ता नभएसम्म मेरो नाम ‘लैला’ नै रहनेछ।’

उनको ५ बिघा जमिन छ। अन्य जमिन अतिक्रमण गरेर भारतीयले लिएको उनले बताइन्। भएको जग्गाको पनि प्रमाण पुर्जा छैन। सुस्ताका अधिकांश स्थानीयसँग जोतभोग गरेको जग्गाको पुर्जा छैन। नागरिकता नहुँदा पुर्जा बन्न नसकेको हो।

लैलाका पति २ छोरा र २ छोरी छन्। लैला नेपालकै त्रिवेणीमा जन्मिएकी हुन्। छोराछोरी सबैको नेपालमा विवाह भएको छ। सुस्ताका धेरै स्थानीयको नागरिकता छैन। लैलाको पनि नागरिकता छैन। सुस्ता गाउँमा २ सय ६५ घरधुरी छन्। तीन हजार १ सय ३३ जनसंख्या छ। तीमध्ये करिब तीन सय ५० जनाको मात्र नागरिकता छ।

‘एक दिन अवश्य मेरो नागरिकता बन्ला’, उनले भनिन्, ‘नागरिकतामा पनि मेरो नाम ‘लैला’ राख्नेछु।’ सीमास्तम्भ नहुँदा पटकपटक भारतीयले दुःख दिने गरेको सुस्तावासीको गुनासो छ। अस्थायी सीमा निर्धारण गरिएको छ। सीमाको उत्तरतर्फ थारु टोलको सिमलको रूख, दक्षिणतर्फ कल्भर्ट, पूर्वतर्फ जंगल र पश्चिममा नारायणी नदी छ। सुस्तावासी अस्थायी सीमालाई मान्न तयार छैनन्। ‘सीमाभन्दा धेरै परसम्म हाम्रो जग्गा हो,’ लैलाले भनिन्। सुस्तामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट छ। सशस्त्र प्रहरीले गस्ती बढाएपछि अहिले भारतीयले अतिक्रमण रोकेका छन्।

सुस्तावासीले पटकपटक नापनक्सासहित स्थायी स्तम्भ निर्माणका लागि नेपाल सरकारसँग माग गरिरहेका छन्। केही वर्षअघि काठमाडौंमा अनशन बस्ने क्रममा स्थानीय रामनन्दन चमारको मृत्यु भयो। तैपनि सरकारले भूमिरक्षाका लागि चासो नदिएको सुस्तावासीको गुनासो छ। नारायणी नदीमा पुल नहुँदा भारत बिहारको भैंसालोटन हुँदै सुस्ता पुग्नुपर्ने बाध्यता उनीहरूको छ। दुई वर्षअघि नारायणी नदीमा पुल बनाउने ठेक्का भए पनि निर्माण व्यवसायीले काम नथालेकाले अलपत्र छ। सुस्ता गाउँ शिक्षा, स्वास्थ्य, बाटो, घाटो, विद्युत्लगायत न्यूनतम सुविधाबाट पनि वञ्चित छ।

भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पारेपछि त्यसलाई फर्काउन दबाब बढेको छ। नेपाल सरकारले उक्त समस्या समाधानका लागि भारतसँग पहल गर्ने क्रममा सुस्ताको समस्यालाई पनि उठान गर्न सुस्तावासीले माग गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.