पर्यटक तान्दै रुख घर

पर्यटक तान्दै रुख घर

गुल्मी : गुल्मी सदरमुकाम तम्घासदेखि सात किलोमिटर दक्षिणतर्फ रुख घर छ। दैनिक सयौं पर्यटक यस स्थानमा पुग्छन्। रेसुंगा नगरपालिका वडा नम्बर ५, ६ र ७ को संगमस्थल उनायचौरको उनायचौर भगवती मन्दिरमा गत भदौमा ‘वृक्ष गगन गृह’ निर्माण गरिएको थियो। प्राकृतिक रूपमा बनाइएको यस रुख घरले पर्यटक लोभिने गरेका छन्। यहाँ पुग्ने सबै फोटो कैद गर्ने व्यस्त देखिन्छन्। रुख घरमा चढ्न टिकट काटेर लाइनमा ठेलमठेल गरेर उभिएका देखिन्छन्। भीड रोक्न गेटमा गेट पाले बसिरहेका छन्।

पालैपालो रुख घरको गेटभित्र जान अनुमति दिन्छन्। प्रतिव्यक्ति २० रुपैयाँ शुल्क तिरेर यस रुख घरमा चढ्न पाइन्छ। सल्लाको ठूलो रुख छ। चढ्न त के हेरेरै आङ सिरिङ हुनेजस्तो यो रुख। साना बालबालिका यति ठूलो रुखमा चढ्ने कुरै भएन। युवा पनि चढ्न सक्ने अवस्था थिएन। तर, यही डरलाग्दो रुखमा अहिले दूधे बालकदेखि वृद्धसमेत सजिलै चढ्न सक्छन्। सल्लाको रुख चढ्ने मात्र होइन, टुप्पोमै पुगेर आफूले चाहेजति आराम गर्न पाउँछन्। देख्दै आकर्षक छ। पाँच तलाको झण्डै एक सय जति सिँढी चढेर यही ठूलो रुखमा पुग्दा पर्यटक दंग पर्छन्।

चारैतिर विभिन्न प्रजातिका रुखले हरियाली छ। जाडोमा न्यानो र गर्मीमा शितलता हुने। तम्घासदेखि रुख घरमा चढ्न आएकी ८२ वर्षीय माया पन्थी भन्छिन्, ‘भूइँमा घर देखेकी थिएँ। बुढेसकालमा रुखमा घर देखेर मर्ने भइयो।’ उनले यो अग्लो रुखमा घर देखेपछि अचम्म मान्दै ठट्यौली गर्दे भनिन्। ‘रुखमा घर बनेसी जमिन किन चाहियो ? ’ उनीजस्तै रुख घरको अवलोकनका लागि आएका काशी पाण्डे भन्छन्। ‘पर्यटकका लागि नयाँ हो रुख घर’, उनले भने, ‘अग्लो रुख घरमा चढ्दा आनन्द पनि भयो। डर पनि लाग्यो।’ स्थानीयको आय आर्जनमा यसले महत्त्वपूर्ण टेवा पुर्‍याउने उनले प्रतिक्रिया दिए। यसको दिगोपना र संरक्षणमा स्थानीय सरकारले ख्याल गर्न उनले सुझाव दिए।रुख घर अवलोकनका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको रेसुंगा नगरपालिका–७ का वडा सदस्य रघु पन्थीले बताए। यो रुख घर सञ्चालन भएको झण्डै तीन महिनामा गुल्मीलगायत रोल्पा, रुकुम, सुर्खेत, अर्घाखाँची, प्युठान, दाङ, स्याङजा, लमजुङ, चितवन, रूपन्देही र नवलपरासीलगायत जिल्लाबाट पर्यटक घुम्न आएको उनले जानकारी दिए। उनका अनुसार विदाको दिनमा पर्यटकको बढी नै भीड हुने गरेको छ। प्राय शनिबारको दिनमा पारिवारिक घुमघामका लागि आन्तरिक पर्यटक रुख घरमा पुग्ने गरेको उनायचौर खड्ग भगवती नगर उद्यान समितिका हेरोलु एवं स्थानीय घनश्याम पन्थीले बताए। विदाको दिनमा विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म टिकट काट्न भ्याइनभ्याइ हुने गरेको पन्थीको भनाइ छ।

तीन महिनामा झन्डै १५ हजार पर्यटक रुखमै चढेका छन् भने ५० हजार हाराहारी रुख घरको अवलोकनका लागि पर्यटक उनायचौर पुगेको पन्थीले बताए। कात्तिक महिनामा मात्रै १० हजार पर्यटकले रुख घरको अवलोकन गरेको समितिले जनाएको छ। रुख घरको उद्घाटन गर्दे प्रदेश ५ का पर्यटन, वन तथा वातवरणमन्त्री लिला गिरीले रुख घर पर्यटकका लागि नयाँ आकर्षण बनेको बताए।

पर्यटकले नयाँ चिजको खोजीमा रहेको उनले उल्लेख गरे। ‘पर्यटकको आकर्षण नयाँ चिजमा हुन्छ’, गिरीले भने, ‘नयाँ र नौला चिजलाई पर्यटकले मन पराउँछन्।’ रुख घर सामन्य भए पनि नौलो तरिका भएकाले पर्यटकको रोजाइमा परेको गिरीले बताए।

 रुख घरमा चढ्नेको घुइँचो।

विभिन्न संघसंस्था, कार्यालय वा निकायले पनि आफ्नो नियमित बैठक उक्त रुखमा बस्न सक्छन्। झण्डै २० जना एकैपटक रुखमा चढेर बस्न सकिन्छ। संकलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ। प्रदेश ५ सरकारको लगानीमा डिभिजन वन कार्यालय गुल्मीले १२ लाख रुपैयाँ र उपभोक्ताबाट १ लाख ३८ हजार ५ सय ११ रुपैयाँ लागतमा उक्त उद्यान निर्माण गरेको हो। ५० रोपनी क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा चिल्ड्रेन पार्क र अन्य रुखलाई सजावट गरिने उद्यान समितिको योजना छ।

बजेट भित्र्याउन रेसुंगा नगरपालिकाले पहल गरेको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए। चालु आर्थिक वर्षमा थप बजेट विनियोजन गरी यसलाई अझ आकर्षक बनाइने तयारी रहेको उनले बताए। थप संरचनाका लागि योजना बनाइएको उनको भनाइ छ। रेसुंगा नगरपालिकाको आर्थिक विकासमा रुख घरले महत्त्वपूर्ण टेवा पुर्‍याउने अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.