अब उद्योगीले मन्त्रालय जाँदा ज्वाइँको सम्मान पाउने!
विराटनगर : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अरुले एक महिनामा नसक्ने काम आफूले दुई दिनमा गरेको दाबी गरेका छन् । राज्यमन्त्रीको पदभार ग्रहण गरेको तीन दिनपछि शनिबार साँझ विराटनगर आएका दुगडले विराटनगरका उद्योगीले आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पदभार ग्रहणकै समयदेखि 'एक्सन' का रुपमा काम सुरु गरेको बताए ।
'कर्मचारीलाई ब्रिफिङ गरेँ, फूलका गुच्छा लिएर भेट्न आएका प्रत्येक उद्योगीलाई उद्योगका अवस्था सोधेर सुधार नगरे अर्को व्यवसाय सञ्चालन गर्न निर्देशन दिए, अरुले एक महिनामा नसक्ने काम दुई दिनमा गरेँ,' राज्यमन्त्री दुगडले भने ।
सरकारले उद्योगीलाई नै मन्त्री बनाएर निजी क्षेत्रको सुधारका लागि आफूसँग परीक्षा लिएको बताउँदै उनले यो परीक्षामा आफू असफल बने सम्पूर्ण निजी क्षेत्र असफल हुने भएकाले रात दिन नभनी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
'हालसम्म उद्योगीका समस्या राजनीतिक दलले बुझ्न नसकेको र उद्योगीले पनि बुझाउन नसकेकाले अब यस्तो अवस्थाको अन्त्य भएको छ,' दुगडले भने, 'उद्योगीका समस्या उद्योगीलेनै बुझ्छ भन्दै मलाई जिम्मा दिएकाले मैले यो परीक्षमा पास हुनुछ ।'
निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुक समृद्ध हुने प्रधानमन्त्रीले बुझेकाले आफूलाई जिम्मेवारी दिएको उनको भनाई छ ।कार्यक्रममा उपस्थित उद्योगीलाई सम्बोधन गर्दै उनले उद्योगको अवस्था सुधार गर्ने समय आएकाले राम्रो काम गर्ने उद्योगीको साथमा आफू सदा रहने भएकाले आफूलाई भरपुर प्रयोग गर्न उनले आग्रह गरे ।
'सिंहदरबार उद्योगीका लागि सधैं खुल्ला रहनेछ, मन्त्रालयका कर्मचारीलाई उद्योगीलाई ज्वाइँजस्तो व्यवहार गर्न निर्देशन दिएको छु, तपाईले मन्त्रालयमा पुरै सुधार भएको पाउनुहुनेछ, उद्योगी काम लिएर पुगे स्वागतमा पहिले चक्लेट पाउनेछन्,' उनले आफूले गरेको पहिलो सुधार सुनाए।
दुगडलाई स्वागत गर्दै विराटनगरका उद्योगी । तस्बिर : रविन भट्टराई
राज्यमन्त्री भएर पनि सबैको अपेक्षा आफूप्रति धेरै रहेकाले आफूलाई सफल बनाउनु आफ्नै लागि चुनौती रहेको उनको भनाई छ । आफू मन्त्री भएको अन्तिम दिन आजलाई संझिएर काम गर्ने बताउँदै उनले मन्त्री पद स्थायी नभएकाले दिन गन्तिमा नेपालको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
आफ्नै उद्योग समाल्नु र मन्त्रीको कार्यभार समाल्नु दुईटा चुनौती रहेकाले सोमबारदेखि शुक्रबारसम्म पाँच दिन काठमाडौंमा बसेर मन्त्रालयको काम गर्ने र शनिबार, आइतबार विराटनगर आएर उद्योग समाल्ने आफ्नो कार्यतालिका रहेको मन्त्री दुगडले बताए ।
एक वर्षभित्र विराटनगरको विमानस्थाललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफू लागि परेको र यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नबने आफ्नो कार्यकाल असफल भएको मान्ने उनको उद्घोष थियो ।
आइसिपीको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले गर्ने
राज्यमन्त्री दुगडले नेपाल र भारत सरकारको संयुक्त लगानीमा विराटनगर -जोगबनी सीमा क्षेत्रमा बनेको संयुक्त भन्सार जाँच बिन्दु 'जोइन्ट इन्डिग्रेडेड चेकपोष्टु (आइसिपी) को उद्घाटन दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने जानकारी दिएका छन् ।
निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत सञ्चालनमा नआएको विषयमा आफू जानकार रहेको बताउँदै आफ्नै पहलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेको जनाए ।
'मैले मुख्य सचिवलाई यसको तयारी गर्नु भनेको छु, उहाँ तयारीमा जुट्नु भएको छ, केही दिनमानै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भव्य रुपमा यसको उद्घाटन हुन्छ,' विराटनगरका उद्योगी समेत रहेका राज्यमन्त्री दुगडले भने।
उद्योगीको भव्य स्वागत
विराटनगरकै उद्योगी राज्यमन्त्री बनेपछि विराटनगरका उद्योगीले शनिबार राती एक कार्यक्रमको आयोजना गर्दै दुगडको भव्य स्वागत गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त स्वागत कार्यक्रमको आयोजना गर्दै उनको स्वागत गरेका हुन् ।
स्वागत समारोहमा सहभागी हुन दुगड शनिबार साँझको विमानमार्फत विराटनगर पुगेका थिए । उनको स्वागत कार्यक्रममा बोल्दै मोरङका उद्योगीले अब मोरङ-सुनसरी करिडोरको मुहार फेरिने आशा व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगीका दु:खको दिन गएको आफूलाई महसुस भएको बताए । यस्तै, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र संघका निवर्तमान अध्यक्ष पवन सारडाले सरकारले उद्योग र उद्योगीलाई उपेक्षा गर्छ भन्ने मानसिकता अब हराएकाले यो अवसरको सदुपयोग गर्न राज्यमन्त्री दुगडलाई सुझाव दिए ।
कार्यक्रममा सहभागी मन्त्रीसहित उद्योगी । तस्बिर : रविन भट्टराई