धन्यवाद बाँदर

धन्यवाद बाँदर

जाडोको महिना। बिहानको त्यस्तै ९ जति बजेको हुँदा हो। रोनितको आँखा गौशालामा रहेका रूखहरू नजिक रुँदै हिँडेकी एउटी वृद्धामा पुग्यो। उनले टक्क उभिएर ती वृद्धालाई हेरे।

मोनिकाले भनिन्, ‘हैन रोनित किन उभिएको छिटो आऊ।’

रोनितले वृद्धातिर इशारा गर्दै भने, ‘ऊ हेर न त्यहाँ हजुरआमा आँसु पुछ्दै हिँडनु भएको छ। बाँदरले झोलासोला केही लगिदिए जस्तो छ।’

मोनिका फर्किएर आएर रोनितलाई तान्दै भनिन्, ‘आँ छिटो हिँड, यहाँ सधैं कोही न कोही रोएकै त हुन्छन् नि ! मान्छे रुनु के आश्चर्य भयो र ? आज दिउँसोको नाच प्रतियोगिता छ हामीले कति स्टेप त राम्रोसँग सिकेकै छैनौं। सरले तिमीहरूलाई दुई घण्टा मात्र दिन्छु भनेको बिर्सियौ लाटा ? ’

रोनित वृद्धा गएतिर लाग्दै भने, ‘तिमी गए जाऊ म त हजुरआमालाई के भएको रहेछ बुझेर नै छाड्छु।’

रोनितले वृृद्धा नजिकै गएर सोधे, ‘किन रुँदै हिँडनु भएको हजुरआमा ? बाँदरले हजुरको ब्याग लग्यो कि क्या हो ? ’

वृद्धाले नम्र स्वरमा भनिन्, ‘ब्याग लगेको भए हुन्थ्यो नि बाबु ! ठ्याक्क दुई हजार पो लग्यो।’

रोनितले भने, ‘हजुरआमा पनि उल्लुउल्लु कुरा गर्नु हुनुहँुदो रहेछ। बाँदर कति बाठो हुन्छ कहाँ पैसा पनि लग्छ त ? झन् सहयोग गरौँ भनेको।’

वृद्धाले सुँक्कसुँक्क गर्र्दै भनिन्, ‘म के ढाँट्थेँ र बाबु ! ठ्याक्कै दुई हजार लग्यो। मैले दुईतीन जनालाई सहयोगका लागि गुहारेँ। कसैले केही वास्तै नगरी हिँडे। तिमी यति सानो ७, ८ वर्षका फुच्चेले के गर्न सक्छौ र ? कसको फोन आयो भनेर उठाउँदै थिएँ। हातैबाट खोसेर लग्यो। ऊ हेर त बा रूखको हाँगामा बसेर चपाइरहेछ।’

रोनितले रूखतिर हेरे। अनि हजुरआमालाई सम्झाउँदै भने, ‘म जे पनि गर्न सक्छु नि हजुरआमा ! ए हो त रहेछ नि ! म पनि कस्तो बुद्धू ! मोराले त दुई हजार नै पो चपाएछ। ढुङ्गाले हानौँ भने झन् अर्को रूखमा जाने होला। बरु केरा दिए मोबाइल झार्छ कि ? ’

वृद्धाले भगवान्लाई चढाउन ल्याएको केरा दिइन्। रोनितले केरा बाँदर नजिक फ्याँके। तीनचार पल्ट फ्याँक्दा पनि बाँदरले केराको वास्ता नै गरेन। मोबाइल नै टोकिरह्यो।’

मोनिकाले रोनितको हात समातेर रिसाउँदै भनिन्, ‘छिटो हिँड अब कसैगरी पनि बाँदरले मोबाइल छोड्दैन। सधैं आफ्नो काम छोडेर अर्काको पछि लाग्छौ। नाच बिग्रियो भने हाम्रो मात्र होइन स्कुल कै बेइज्जत हुन्छ बुझ्यौ मूर्ख उफ ! सरले पनि यस्तासँग किन मलाई राखिदिएको होला ? ’

‘तिमी जाऊ म त हजुरआमाको सहयोग गरेरै छोड्छु’, रोनितले भने।

रोनितले वृद्धालाई उनको मोबाइल नम्बर सोधे। वृृद्धाले चौबन्दी चोलोको गोजीबाट झिकेर सानो कागजको टुक्रा दिँदै भनिन्, ‘म बूढीलाई त मबाइल–सबाइलको नङ्गर– सङ्गर के थाहा होस् ? यो हेर त बा छोरीले धेरैकोे नङ्गर छ भन्थी।’

रोनितले कागज हेर्दै भने, ‘मबाइल होइन हजुरआमा ! मोबाइल हो। नङ्गर होइन नम्बर हो क्या नम्बर ! ’

वृद्धाले रुन्चे स्वरमा भनिन्, ‘के गर्नु आफूलाई कालो अक्षर भैंसी बराबर भयो बाबु ! मबाइल भन्न पनि बल्लबल्ल सिकेँ नि !’

रोनितले कागजको टुक्रा हेर्दै भने, ‘त्यति सिकेको पनि राम्रै हो। हजुरको नाम रत्नमाया होला होइन ? ’

हो बाबु रत्नमाया नै हो। अब के गर्ने त बाबु ?

रोनित नम्बर लिएर केही नबोली दौडिए। मोनिका पनि पछिपछि दौडिइन्।

रत्नमाया हेरेको हेरै भइन्। बाँदरले मोबाइल ओल्टाइपल्टाई टोकिरहेकै थियो।

रोनितले तीनचार जनालाई रोक्दै सबै कुरा भने। कसैले पनि उनको कुरा सुनेनन्। एउटी आइमाईले त मोबाइल खोस्ने दाउ होला भन्दै दुई थप्पड लाएर हिँडिन्। रोनितको आँखाबाट बरर आँसु झर्‍यो।

धेरै बेरसम्म रोनित नआएपछि रत्नमाया निराश भएर भुइँमा थ्याच्च बसिन्। उनको आँखामा आँसु रोकिएको थिएन। मोनिका नाच्न नगएको भनेर रोनितसँग रिसाइरहेकी थिइन्। रोनितले एउटा युवकको हात समात्दै रुन्चे स्वरमा भने, ‘बिन्ती दाइ ! त्यहाँ हजुरआमाको मोबाइल बाँदरले खोसेर चपाइरहेको छ। यो नम्बरमा कल गरिदिनुहोस्।’

युवाले हाँस्दै भने, ‘घण्टीले उसलाई असर पर्छ त ? ’

रोनितले अगाडि लाग्दै भने, ‘त्यो त थाहा छैन प्लिज कल गरिदिनुहोस्।’

युवा पनि नम्बर थिच्दै उनीहरू पछिपछि लागे। रोनितले वृद्धाले ओढेको ओढ्ने झिकेर बाँदर बसेको रूखको हाँगामुनि उभिए। मोनिकालाई दुईतिर छेउ समात्नु भने। आपूmले दुईतिरको छेउ समाते। युवाले रत्नमायाको मोबाइलमा कल गरे। नभन्दै मोबाइलको घन्टी सुनेपछि मोबाइल खसालेर बाँदर अर्को हाँगामा गयो।

मोबाइल बज्दै ओढ्नेमा खस्यो। रत्नमाया आँखाबाट हर्षको आँसु झर्‍यो। रत्नमायाले खुसी हुँदै ओढ्नेबाट मोबाइल झिकिन र ओल्टाइपल्टाई हेरिन्।

रोनितले ओढ्ने रत्नमायालाई दिँदै भने, ‘धन्न मोबाइल बिग्रिएको रहेनछ।’

रत्नमायाले रुन्चे स्वरमा भनिन्, ‘अलिअलि कोतरिए पनि बिग्रिएको रहेनछ। के गर्नु बाबु ! ‘गरिबको धन दसपल्ट गन’ भन्छन्। यो त मेरो मुटुभन्दा पनि प्यारो छ। छोराछोरी नातिनातिनीका न्यास्रो यसैले मेटाउँछु। तिमीहरूको र यस्ता छोराछोरी जन्माउने बाबुआमाको पनि जयजय होस्। बाबुनानीको आजको नाच के के छ रे त्यो नै छोडेर मलाई सहयोग गर्‍यौ। तिमीहरूले नाचमा जित्नू है। जानुपर्ने कहाँ हो नि ? ’

मोनिकाले भनिन्, ‘हाम्रो घर र नाच सिक्ने ठाउँ पनि गौशाला नै हो। हामी पनि भगवान्लाई हाम्रो नाच राम्रो होस् भनेर आशिष माग्न आएका हौं। अब सरले ढिलो भयो भनेर मार्नुहुन्छ। म त नाच प्रतियोगितामा भाग नै लिन्नँ।’

युवाले नम्र स्वरमा भने, ‘म तिमीहरूको सरसँग गएर सबै कुरा गरौंला नि ! पीर नगर।’ उनले रत्नमायाको हातमा केही पैसा थमाउँदै भने, ‘मेरो आमा हुनुहुन्न। भगवान्ले आज आमा भेटाइदिनुभयो।’

रत्नमायालाई सबै सपनाजस्तै लाग्यो। उनले भगवान् पशुपतिनाथलाई चढाउन झोलामा राखेको फूल झिकेर तीनैजना र बाँदरतिर छर्किइन्। सबैजना एक अर्कासँग बिदा भएर आफ्नो बाटो लागे। रत्नमायाले तीनैजनालाई ओझेल नहुन्जेल हेरिरहिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.