‘पत्रकारिता छोडेर वकालतमा लागेकी हुँ’
ललितपुर : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पत्रकारिता छोडेर वकालतमा लागेको सम्झना गरेकी छन्।
आइतबार ललितपुरमा फ्रिडम फोरमले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। कार्कीले २०३४ सालमा पत्रकारिता गरेको सम्झना गरिन्।
‘२०३४ सालतिर पत्रकारितामा लागेर हिँडेकी थिएँ’, उनले भनिन्, ‘केही समय पत्रकारिता गरेपछि वकालतमा आएकी हुँ।’ उनले आफूले पत्रकारिता गर्दा समाचार लेख्ने मात्र नभएर विज्ञापन खोज्ने र पैसा उठाउने जिम्मेवारीसमेत भएको बताइन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले तनावपूर्ण भए पनि पत्रकारिता पेशामा जीवन असुरक्षित रहेको बताइन्। उनले नेपालको प्रजातान्त्रिक विकासक्रममा पत्रकारिताको महत्वपूर्ण योगदान रहेकोसमेत उल्लेख गरिन्। उनले सरकारले जायज कुरा लेख्नेलाई नियन्त्रणमा लिनु गलत भएको बताइन्।
‘गलत लेख्नेमाथि निगरानी आवश्यक छ’, उनले भनिन्, ‘सरकारले समाचार लेखेकै नाममा नियन्त्रणमा लिएर पत्रकारलाई दुःख दिनु हुँदैन।’