ट्रायलमा फेल र अनुपस्थित १३ सयलाई लाइसेन्स !
काठमाडौं : ट्रायलमा फेल र अनुपस्थित भएका १३ सयजनालाई यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपरलेले लाइसेन्स दिएको खुलेको छ। सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जनाको मिलोमतोमा ट्रायलमा फेल भएकालाई लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पोखरेलविरुद्ध ८ लाख ५९ हजार विगो कायम गर्दै विगोको दोब्बर जरिवानाको मागदाबी गरिएको छ। सबै प्रतिबादीलाई कसुरको मात्रा अनुसार फरकफरक विगो र सजायको मागसहित अभियोगपत्र दर्ता भएको छ।
प्रयोगात्मक परीक्षा (ट्रायल)मा ‘फेल’ भएका १ हजार २८४ जनालाई ’पास’ गराउने पोखरेलसहित तीन उपसचिव, इन्जिनियर, डीएसपीसहित यातायात कर्मचारीलाई प्रतिवादी बनाएको छ। २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा भएको फेरबदलको सम्बन्धमा परेका उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको हो। प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल/अनुपस्थित भएकालाई पास जनाई निर्णय गरेको गरेको पाइएको छ।
अख्तियारको अनुसन्धानबाट एक पटक फेल भई सकेकालाई प्रयोगात्मक परीक्षा (ट्रायल) दिएको ३ (तीन) महिना नपुग्दै पुन परीक्षामा समाबेश गराएको छ। एक पटक फेल भएकाले तीन महिनासम्म पुन : परीक्षामा समावेस हुन नपाउने व्यवस्था छ।
ट्रायल परीक्षामा फेल/ अनुपश्थित तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको पाइएको छ।
अख्तियारले तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) धर्मराज ढुङ्गाना,तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) बाबुलाल रेग्मी, इन्जिनियर (हाल अवकास)बासुदेव पोखरेल, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मि श्र, शाखा अधिकृत (हाल अवकास) राममणी पोखरेललाई प्रतिवादी बनाएको छ।
शाखा अधिकृत (हाल निलम्बन) ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, शाखा अधिकृत (हाल निलम्बन) चक्रबहादुर श्रेष्ठ, शाखा अधिकृत पदमप्रसाद पोखरेल, शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं) वासुदेब तिवारी, ४शाखा अधिकृत(हाल सेवा निवृत्त) भरतकुमार थापा , शाखा अधिकृत (हाल निलम्बन) सिताराम खनालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। शाखा अधिकृत भविन्द्र कार्की, नायव सुब्बा वच्चुप्रसाद पोखरेल, नायव सुब्बा (हाल अधिकृत छैठौं) स्थानेश्वर ढुङ्गाना, नायव सुब्बा कमलकुमार खत्री , नायव सुब्बा (हाल निलम्बन) मदन गिरी, नायव सुब्बा प्रेमराज निरौला, नायव सुब्बा (हाल अवकास) राधाकृष्ण पोखरेल, नायव सुब्बा (हाल अधिकृत छैठौं) सत्यबहादुर भण्डारीलाई प्रतिवादी बनाइएको छ।
यस्तै नायव सुब्बा शिवप्रसाद चापागाई, नायव सुब्बा (हाल अधिकृत छैठौं) उमाकान्त जोशी, प्राविधिक नायब सुब्बा (हाल अवकास) सुर्यबज्र वज्राचार्य , कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं) सन्जिव न्यौपाने, टाईपिष्ट नायव सुब्बा कविता खड्का, टाईपिष्ट नायव सुब्बा रञ्जुसेन पाण्डे, खरिदार(हाल ना.सु.) वावुकृष्ण महत, खरिदार (हाल निलम्बन) बद्रीप्रसाद दाहाल, खरिदार (हाल सहायक स्तर पाँचौं) कोषबहादुर थापा,खरिदार (हाल सहायक स्तर पाँचौं) माधवप्रसाद कोइराला, खरिदार(हाल ना.सु.) मणिराम कोइराला , खरिदार (हाल अवकास) प्रतिभा न्यौपाने क्षेत्री, खरिदार रघुनाथ के.सी, खरिदार (हाल ना.सु.) रामप्रसाद भट्टराई, खरिदार (हाल ना.सु) तिर्थराज जैशी, खरिदार (टा.ना.सु) तुलसा श्रेष्ठ अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।
आरोपीहरुले ट्रायलको नतिजामा फेरबदल गरी सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जारी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्वसमेत नलिएर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ।