निदाउनै नदिने समृद्धिको दौड
औद्योगिक क्रान्तिसँगै विज्ञान र प्रविधिको विकास लिएर उदाएको युरोप, त्यसलाई अनुसरण गर्दै विज्ञान र प्रविधिमा अग्रस्थानमा रहेका अमेरिका, रसिया, जापान, क्यानेडा, अस्ट्रेलियालगायतका देशहरूको धेरै संघर्षशील उपलब्धिलाई पछिल्ला दिनहरूमा चीनले उछिनेको पाइन्छ । छोटो समयमा चाहे प्रविधि होस्, चाहे उत्पादनका क्षेत्रमा, चीनले विश्वलाई चकित पारेको छ । यसका पछाडिका कारण के रहेछन् भने समकक्षी चिनियाँ साथीहरू बिहानै आठ बजेदेखि साँझ दस बजेसम्म अध्ययन र अनुसन्धानमा दौडिरहेको देखें ।
बिहान आठ बजेसँगै दिनभर पुस्तक र पुस्तकालय, कक्षा र कम्प्युटर, खोज र प्रयोगमा बिताउने र दैनिक केही नयाँ प्यास र नवीन तरंग दिइ नै रहने उनीहरूको आदत रहेछ । म अध्ययनरत रहेको भूगर्भशास्त्र तथा खानी र खनिजको उत्खननमा चीनको सफलता हाम्रो कल्पनाभन्दा धेरै माथि रहेछ, जुन कुरा बाहिर नआउने रहेछ । यहाँ खानीबाट खनिजजन्य उत्पादन हेर्दा पढ्दा नेपालको खानी र खनिजको सम्भावना र अवस्था बारम्बार नसम्झेको भने होइन । सम्बन्धित क्षेत्रमा कार्यरत नेपाली प्राध्यापक, खोज–अनुसन्धानकर्ता, सम्बन्धित अधिकारी तथा विद्यार्थीहरूलाई आजको विश्वको आआफ्नो क्षेत्रगत उपलब्धिबारे जानकारी छ नै ।
नेपालबाट यहाँ आएपछि विभिन्न देशमा रहनुभएका प्राध्यापक, अनुसन्धानकर्ता, साथीहरू र इस्टमित्र तथा आफन्तजनसँग समयअनुकूल संवाद हुन्छ । संसारमा समृद्धि हासिल गर्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्ने होडबाजीमै छ र हरेक मानिसको जीवन फरक रूपमा भए पनि संघर्षविहीन भने छैन । सहज रूपमै फुर्सदिलो हामी नेपालीको दिनाचर्या भने यो दौडमा रहेको दुनियाँलाई चुनौती हो । अन्य देशमा साथीहरू दैनिक काम गरेर अध्ययन गर्नुभएको छ, तर चीनमा भने वैदेशिक विद्यार्थीका लागि सम्पूर्ण सुविधा दिइएको र प्रयोगशाला अनि पुस्तकालय चौबीसै घण्टा खुला गरिएको छ भने काम गर्ने ढोका बन्द । यसको मूल उद्देश्य अध्ययन–अनुसन्धानमै केन्द्रित गर्नु हो ।
विश्वविद्यालयका प्राध्यापकदेखि विद्यार्थी, उच्च अधिकारीदेखि किसान सबैको सहज र सिधा सञ्चार गर्ने व्यवस्था प्रभावकारी लाग्यो । चिनियाँहरूको स्वास्थ्यप्रतिको ध्यान र वृद्ध अवस्थासम्म सक्दो काम गर्ने संस्कृति पनि अनुकरणीय छ । शैक्षिक, प्रशासनिक, सामाजिक तथा राजनीतिक नेतृत्वप्रति यहाँ उच्च सम्मान पाइन्छ र उस्तै जिम्मेवार पनि उत्तरदायी नेतृत्व पनि । आजको युगमा संसारभरि मानिसहरू रुचि र आवश्यकताअनुसार विभिन्न ठाउँमा पुगेका छन् । हरेक ठाउँमा व्यक्तिको योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धामार्फत कार्यरत छन् । चाहे चीन होस् वा क्यानाडा, अमेरिका होस् वा अस्ट्रेलिया, जर्मनी होस् वा जापान, योग्य व्यक्तिको माग र प्रतिस्पर्धा दुवै कमजोर छैनन् । त्यसैले त परियोजना पनि सफल र उपलब्धिमूलक छन् ।
नेपालमा पनि भूगर्भशास्त्रलगायतका सबै क्षेत्रमा विभिन्न देशबाट अध्ययन–अनुसन्धान गरेर सेवा गरिरहनुभएका प्राध्यापक र सम्बन्धित अधिकारीहरू छन् । विज्ञानमा गरिने खोज–अनुसन्धान, वास्तवमै राष्ट्रको विकास निर्माण र समृद्धिको पहिलो आधार हो । हाम्रा विश्वविद्यालय पनि थप खोज–अनुसन्धानमूलक भई राष्ट्रको समृद्धिमा थप टेवा दिन सक्ने भएको हेर्ने रहर कुन नेतृत्व, प्राध्यापक, विद्यार्थी, नागरिकलाई छैन होला र ?
हामीले समृद्ध देशहरूको विकासका सूचकका रूपमा चित्रण गर्ने भौतिक संरचना विज्ञान र प्रविधिको सफल उपयोगका उपज हुन् । यसका पछाडि देशको वास्तविक रूपमा अर्थतन्त्र, विकास र समृद्धिको नेतृत्व गर्ने विज्ञानका खोज र प्रयोगकर्ता अनि विश्वविद्यालय नै हुन्छन् । यस्ता विकसित राष्ट्रहरूमा विश्वविद्यालयका आफ्नो विषयका अब्बल विद्यार्थीले देशको नेतृत्व गर्ने गरेको सर्वविदितै छ, जुन अनुकरणीय छ । विदेशी नागरिकसँगको भेटमा हामीले ठूलो स्वरमा शिर उच्च पारेर सगरमाथा र बुद्धको देश नेपाल भनेर परिचय दिँदै गर्दा आजको खुला विश्वसामु हाम्रो विकासले उच्च शिरको सच्चा सम्मान गरेको छ त ? विदेशमा कुनै कार्यक्रम वा भेटमा व्यक्तिको परिचय उसको देशको परिचयले दिने रहेछ । नेपाल समृद्ध भएमा हाम्रो परिचय पनि पक्कै फेरिनेछ । यो कुराले पनि हामी समृद्ध नेपाल निर्माण गर्न र थप उत्तरदायी बन्न अभिप्रेरित हुन जरुरी छ ।
जीवनको लामो समय अध्ययन तथा खोज–अनुसन्धानमा बिताएका, देश–विदेश घुमेका नेतृत्व, विज्ञ, प्रशासक र हरेक नेपालीले आजको समृद्धिको दौडमा रहेको विश्वबाट थप जागृत र कृयाशील बनेर समृद्ध नेपाल निर्माणको साझा जिम्मेवारी लिन अपरिहार्य छ ।
– भण्डारी चीनको विश्वविद्यालयमा भूगर्भशास्त्रमा अध्ययनरत छन् ।