गीतसंगीतमा खड्गको खबरदारी

गीतसंगीतमा खड्गको खबरदारी

काठमाडौं : धेरैलाई ‘माउरी’ बाजाको नाम थाहा नहुन सक्छ। यही बाजा प्रयोग गरिएको धुन रेडियो नेपालको समाचारअघि बज्ने गरेको छ। यो बाजा गाउँघरमा त हराएको थियो भने सहरकाले झन् सुन्ने कुरै भएन। यसलाई सहर भित्र्याए खड्ग गर्बुजा मगरले। निगालोबाट बनाइन्छ माउरी बाजा। दुईवटा निगालो जोडेर बाँसुरीको जस्तै प्वाल पारेर यसको टुप्पोमा पिपिरी हालेर बजाइन्छ।

एल्बमको जमाना हुँदासम्म २८ वटा एल्बम ल्याए खड्गले। उनको पछिल्लो एल्बम ‘उनको मन’ हो। सालैजो, यानिमाया, सोरठी, कौडा, ठाडो भाकालगायतका गीत संकलन गरेका छन्, गाएका छन्, संगीत दिएर प्राण भरेका छन् उनले। यसरी रेकर्ड भएका करिब नौ सय गीतमा गायन, संकलन, संगीत दिएर उनी जोडिएका छन्। बाँसुरी र मादलमा पोख्त छन् उनी। खड्ग गीतसंगीतमा आउनु पनि दुःखद कथा छ।

मर्म दिने भवगान् पनि कस्तो

उनी पनि छन् कि मै जस्तो।

२०४७ सालमा उनले ल्याएको पहिलो एल्बम ‘दुःखको भुमरी’मा यो गीत समावेश छ। उनको जीवनको पृष्ठभूमि दुःखको भुमरीभन्दा कम छैन। भर्खर जुँगाको रेखी बस्दै थिए उनका। म्याग्दीको दुर्गम गाउँ मराङमा जन्मिएका यिनका अभिभावक भीमप्रसाद र उल्मतीको चाहना थियो, छोरा लाहुरे होस्। अभिभावकको चाहनाअनुसार उनी भारतीय सेनामा भर्तीका लागि गए तर अन्तिम राउन्डमा फालिए। वर्ष दिनसम्म भारतमा मजदुरी गर्नेदेखि सर्कसमा समेत काम गरे। दिक्क लागेर घर फर्किए। गाउँ फर्किंदा ब्रिटिस लाहुरे छनोट गर्ने गल्लावाल आइपुगेका थिए। उनी त्यसको अभ्यासमा सामेल भए। गल्लावालले छनोट पनि गर्‍यो। र, महिना दिनपछि अन्य अभ्यासमा जाने दिन पनि तय भयो। ब्रिटिस लाहुरेमा जान दुई साता जति बाँकी थियो। भीरमा घाँस काट्न गएको बेला खड्ग लडेर नराम्ररी घाइते भए। कम्मरभन्दा मुनिको भाग नचल्ने स्पाइनल इन्जुरीबाट पीडित भए उनी। १० महिना ओछ्यानमा ओल्टेकोल्टे पनि गर्न सकेनन्।

यसैबीचमा उनका कान्छा काकाले साथी हुन्छ भनेर रेडियो किनेर ल्याइदिए। खड्ग सानैदेखि संगीतप्रेमी थिए। गाउँमा मादल बजेको सुन्नै हुँदैनथ्यो। उनका पाइला स्वतः आवाज भएको घरतिर उठ्थ्यो। गाउँमा ‘रोदी’ बस्ने चलन थियो। सानैदेखि दिदीको हात समातेर ‘रोदी’ जाने गरेका उनलाई गीतको गेडा कण्ठ गर्नेदेखि संगीतको भाकाले छुँदै गएको थियो। दुर्घटनाबाट उठ्न, बस्न नसकेपछि उनको साथी बन्यो उही रेडियो।

वर्ष दिनसम्म आमाले स्याहारसुसार गरिन्। तर भावीको लेखा, वर्ष दिनपछि आमालाई पनि प्यारालाइसिस भयो। आमा घरभित्रको ओछ्यानमा, छोरा घरबाहिरको ओछ्यानमा रुने तर दुवैले एकअर्कालाई केही गर्न नसक्ने। आमाको दुःखअगाडि खड्गलाई आफ्नो दुःख सानो लाग्न थाल्यो। अन्ततः उनले घर छाड्ने निर्णय गरे। दुई हातले टेक्दै, घिस्रिँदै, हिलोमा लडीबुडी गर्दै उनी सहरबजारको चोकचौतारोमा उही दुःखिया गीत गाउन थाले। पेन्सन थाप्न आउने लाहुरेका अगाडि गीत गाउँदा राम्रै रकम पाए। अलि–अलि रकम जम्मा हुँदै गयो।

तर खड्ग आफ्नो दिनचर्याबाट सन्तुष्ट थिएनन्। उनी आफ्नो गायन प्रतिभा, वाद्यवादन कला रेडियोमा सुनाउन चाहन्थे। यही आत्मविश्वासले उनलाई काठमाडौंको सपना देखायो। बागलुङको बलेवासम्म भरियाले ल्याइदियो। गाएर जुटाएको रकमले बलेवाबाट हवाईजहाज चढेर काठमाडौं आए २०४६ सालमा। त्यसको अर्को वर्ष २०४७ सालमा उनले रेडियो नेपालबाट स्वरपरीक्षा पनि पास गरे। गाउँबाट ल्याएको थोरै रकम सकिँदै गएपछि उनको बस्ने खाने ठेगान भएन। रेडियो, नाचघर, प्र्रज्ञालगायतमा आफ्नो प्रतिभाअनुसार काम पाइन्छ कि भनेर निकै धाए। रेडियो नेपालका तत्कालीन निर्देशक शैलेन्द्रराज शर्मालाई उनको अवस्था देखेर दया लागेछ। उनले २०५४ सालमा वाद्यवादकका रूपमा दैनिक ज्यालादारीमा काम पाए। केही वर्षपछि करारमा सेवा भयो। जागिर खाएको २२ वर्ष भयो, उनी अझै करारको करारमै छन्।

रेडियो नेपालमा छिर्दा उनी चौतारी कार्यक्रमका लागि गीतको संयोजक थिए। ठूलै टोलीबीच ह्विल चेयरमा बसेर हार्मोनियममा सारेगम उराल्दै थिए। म्याग्दीका उनले बेनीको बजार बोलको गीत नल्याउने कुरै भएन। म्याग्दी, बागलुङ भेगका लोकभाका सर्लक्कै टिपेर गीतमा उनेका छन् उनले।

अहिले अश्लील गीतको बाढी आएको देख्दा उनलाई दुःख लाग्छ। कोमल ओली, पशुपति शर्मालगायतले पहिले तीज गीतको उछितो काढेको, अहिले त यसलाई ‘रत्यौली’ नै बनाइएको उनको आरोप छ। कलाकारले जस्तोसुकै पुंग न पुच्छरको गीत गाउने स्वतन्त्रता पाउनु हुन्न भन्ने पक्षमा छन् उनी। भन्छन्, ‘अधिकारसम्पन्न गीतसंगीत सेन्सर बोर्ड गठन हुनुपर्छ। त्यो बोर्डले पास गरेको गीत मात्रै प्रसारण हुने व्यवस्था हुनुपर्छ। नभए नेपाली संगीतको स्तर खस्किनेछ।’ अहिले युट्युबमा गीतको बाढी आएको छ। तर खड्गले यसको राम्रो सदुपयोग गर्न सकेका छैनन्। शुुभचिन्तकले युट्युबमा केही गीत अपलोड गरिदिएको बाहेक उनी आफैंले अपलोड गरेका छैनन्। विवशता पोख्छन्, ‘गीत छायांकन गर्न पनि रकम खर्च हुन्छ नि त।’

उनको गाउँ मराङबाट सदरमुकाम पुग्न तीन दिन लाग्थ्यो। यस वर्ष बल्ल गाडी पुगेको छ। घरको कमाइले ६ महिना मात्र खान पुग्ने, बाँकी मजदुरी, साहुसँग ऋणसापटी गरेर दुःखजिलो गरेर जिन्दगी बिताए। अहिले गोँगबुमा कटेरो बनाएका छन्। भगवान्सँग गुनासो छैन उनको। ‘लाहुरे भएको भए काठमाडौंमा दुईचारवटा घर जोड्दो हुँ या विदेशमै पलायन हुँदो हुँ। तर, शारीरिक रूपले अशक्त भएपछि आफ्नै देशमा संगीत नै कर्म बन्यो, यसैले चिनायो, खुसी छु’, उनी भन्छन्।

सुरुका दिनमा राजधानीमा ओत लाग्ने ठाउँ नभएपछि उनी एक दिन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गए। त्यहाँ कार्यरत ओम थपलियाले फाडर थोमस ई. ग्यापनीसँग सम्पर्क गराइदिए। फादरकै सिफारिसमा उनले सेन्ट जेभियर्सको होस्टलमा बस्न पाए। कक्षा ६ देखि छुटेको पढाइ अघि बढाए। कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट शास्त्रीय संगीतमा डिप्लोमा गरे। फादरकै कारण आफ्नो जीवन कायापलट भएको बताउँछन् उनी।

कुनै बेला गाउँमा बिहेभोजमा पञ्चेबाजा बजाउनेहरू, दमाहा ठोक्नेहरू कति बेला बिसाउलान् र आफूलाई बजाउने पालो देलान् भनेर कुरेर बस्ने खड्ग अहिले गीतसंगीतको एक पर्याय भएका छन्। जीवनभर मौलिक गीतसंगीतको खबरदारी गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.