उपल्लो मुस्ताङमा हिमचितुवाले मार्याे २५ च्याङ्ग्रा
जोमसोम : उपल्लो मुस्ताङमा हिमचितुवाले २५ च्याङ्ग्रा मारेको छ। लोमान्थाङ गाउपालिका-२स्थित समजुङ गाउँमा शुक्रबार हिमचितुवाले २५वटा च्याङ्ग्रा मरेको हो।
चुमजुङ गाउँकी पेमा गुरुङले समजुङका पशुपालकसँग टेलिफोन सम्पर्क गर्दा उनीहरुले २५ च्याङ्ग्रा हिमचितुवाको आक्रमणमा परी मरेको जनाएका छन्। उनका अनुसार स्थानीय किसानले पालेका चौपाया खर्कको चरनक्षेत्रमा चराउने क्रममा चरनक्षेत्रमै छुटेको र भोलिपल्ट ती च्याङ्ग्राहरु मरेको पाइएको हो। करिब ७ घरधुरीका च्याङ्ग्रा गोठालाले चरनक्षेत्रमा चराउन लगेका थिए।
समजुङमा हिमचितुवाले च्याङ्ग्रा मारेको एक्याप लोमान्थाङले पुष्टि गरेको छ। एक्याप लोमान्थाङका निमिक्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार हिमचितुवाले २ वर्षका पाठापाठीलाई मारेको हो।
समजुङका पशुपालक किसान तोप्के गुरुङ ,निङ्मा ढाङढुङ गुरुङ, पासाङ वाङ्दी गुरुङ,कर्साङ वाङ्दी गुरुङ, ढोका गुरुङ, लाक्चुङ गुरुङ र रिधोर्जे गुरुङका च्याङग्रा हिमचितुवाको आक्रमणमा परेका हुन्। हिमचितुवाको आक्रमणबाट करिब २ लाख ५० हजार बराबरको क्षति भएको एक्यापको अनुमान छ।