जिल्ला प्रशासनमा निर्माण व्यवसायीको धर्ना
धनगढी : निर्माण व्यवसायीले मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीमा धर्ना दिएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नआएको भन्दै व्यवसायीले आधा घण्टा धर्ना दिएका हुन् ।
उनीहरुले सार्वजनिक खरिद नियमावली संसोधन हुनुपर्ने, समयमै भुक्तानी दिइनुपर्नेलगायत १६ बुँदे माग सरकारसमक्ष राखेका छन् । निमार्ण व्यवसायी संघका केन्द्रीय सदस्य वीरबहादुर साउँदले व्यवसायीको ढाड सेक्नेगरी ऐन ल्याएको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको बताए ।
सरकारले काम गराए पनि भुक्तानी दिन आलटाल गरिरहेको बताउँदै व्यवसायीले आफूहरुको सुरक्षाको ग्यारेन्टी समेत हुन नसक्दा आन्दोलनमा जानुपरेको बताए। व्यवसायीले सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि पनि मंगलबार धर्ना दिएका थिए ।
निर्माण व्यवसायी संघले यस अघि विभिन्न १६ बुँदे माग राख्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका थिए ।