लोमान्थाङमा भुस्याहा कुकुर आतंक
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङमा भुस्याहा कुकुर आतंकले स्थानीयबासीमा त्रासदी छाएको छ । हिउँदयामको जाडो छल्न स्थानीय बेसी झरेको अवस्थामा भुस्याहा कुकुरले सास्ती दिन थालेका छन्।
बर्खायाममा केही कम देखा पर्ने भुस्याहा कुकुर असोज लागेपछि गाउँभित्र र खेतबारीमा पसेर पर्यटक ,स्थानीय किसानलाई दु:ख दिने गरेको लोमान्थाङ निवासी पासाङ गुरुङले जानकारी दिए ।
उनका अनुसार लोमान्थाङ बजारमा मात्रै ५० भन्दा बढी भुस्याहा कुकुरको समूह रहेको छ। यस्तै छोसेर गाउँमा पनि कुकुर आतंक भइरहेको छ। हिउँदयामको कार्तिकलगत्तै उपल्लो मुस्ताङमा मानव बस्ती पातलिएको छ । कतिपय घर बन्द छन् । घरमा पालिएका कुकुर बेवारिसे हुने र अरु छाडा कुकुरको समूहले घरमा पालेका पाठापाठी खाइदिने, खेतमा लगाइएका बालानाली नष्ट गरिदिने गरेको स्थानीयले बताए।
पर्यटक र गाउँले माथि आक्रमण गर्ने गरेको स्थानीय पासाङ गुरुङले सुनाए । 'एक साताअघि विदेशी पर्यटकलाई कुकुर टोक्यो, हेलीमार्फत उद्दार भयो, उनले भने, 'हिजो मात्रै २ वटा पाठापाठी कुकुरले खाइदियो ।कुकुरले ज्यादै दु:ख दियो।'
लोमान्थाङमा कुकुर आतंक बढेपछि स्थानीयले कुकुर व्यवस्थापन गर्न माग गरेका छन् । अनाधिकृत छाडा भुस्याहा कुकुरलाई रेबिज भ्याक्सन नलगाइएकाले कुकुरको जोखिम बढेको हो । कुकुरको व्यवस्थापनसहित आवश्यक भ्याक्सिन लगाउन समेत सरोकारवालाले अनुरोध गरेका छन् ।
घरमा पालिएका कुकुर वेवारिसे बनेको र बर्सेनि कुकुरको प्रजनन दर वृद्धि भएकाले कुकुरको संख्या बढेको स्थानीयको बुझाइ छ।