फलाउने विद्यार्थी, किन्ने शिक्षक

फलाउने विद्यार्थी, किन्ने शिक्षक

धनकुटा : धनकुटा–६, सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयको छत यतिबेला हरियाली देखिन्छ। छतमा तरकारी खेती गरिएको छ। यहाँ गरिएको खेती कुनै शिक्षक तथा कर्मचारीले गरेका होइनन्।

विद्यालयका कक्षा ६, ७, ८ मा पढ्ने विद्यार्थी भाइबहिनीले पेसा, व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रममा पढेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा अभ्यास गरेका हुन्। पाठ्यक्रममा भएको विषयअनुसार छतमाथि तरकारी खेती गरेर उनीहरूले प्रयोगात्मक ज्ञान बढाएका छन्।

छतमाथि विभिन्न बालीका तरकारी फल्ने गर्छ। विद्यार्थी मौसमी बालीअन्तर्गत हिउँदे र वर्षे सिजनमा साग, गोलभेँडा, खुर्सानी, धनियाँलगायतका खेती गर्छन्। कक्षा ६ देखि ८ सम्म पेसा, व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम विषय रहेको छ। यो पाठ्यक्रममा ५० पूर्णांकको सैद्धान्तिक पढाइ हुन्छ। त्यसैगरी ५० पूर्णांकको प्रयोगात्मक अभ्यास गराइन्छ।

विद्यार्थीलाई सैद्धान्तिक पक्षलाई पढेर मात्रै उनीहरूले प्राप्त गरेको ज्ञान अधुरो हुन्छ। त्यसैले यसलाई पूर्णता दिन विद्यार्थीलाई आफंै गराउन लगाइएको विद्यालयका विषयगत शिक्षक मदनप्रसाद अधिकारीले बताए। यस्तो अभ्यास कक्षाबाट भविष्यमा उनीहरूले थप ज्ञान हासिल गर्न सक्ने उनको भनाइ छ।

विद्यालयले पाठ्यक्रमअनुसार प्रयोगात्मक अभ्यास गराउन थालेको पाँच वर्ष भएको छ।

सुरुमा विद्यार्थी अभ्यस्त थिएनन्। उनीहरूलाई रोल नम्बर र कक्षागत हिसाबले कार्य विभाजन गरिएको थियो। समूह निर्माण भयो। त्यसपछि उनीहरूले प्रतिस्पर्धात्मक ढंगबाट काम गर्न थाले। जसले राम्रो गर्छ त्यसलाई बढी नम्बर प्राप्त हुन्छ। उनीहरूले स्यावासी पाउँछन्। शिक्षकले सकेसम्म राम्रो गर भन्थे। सोहीअनुरूप उनीहरूले स्वस्फूर्त रूपमा काम गर्न थाले।

सबै विद्यार्थीलाई जिम्मेवारी दिइएको छ। हरेक समूहलाई एक-एकवटा ड्याङ दिइएको छ। समूहमा आबद्ध विद्यार्थीले जिम्मेवारी बाँडफाँट गर्छन्। कोही गोडमेल, कोही पानी हाल्ने, कोही स्याहारसुसार, कोही बिरुवा रोप्न माटो मिलाउने काम गर्छन्।

तरकारी खेतीको विधि पाठ्यक्रमअनुसार नै हुने गर्छ। यसो गर्नाले विद्यार्थीमा प्राविधिक ज्ञानसमेत बढेको अर्का विषयगत शिक्षक तुलसी पुरीको भनाइ छ। पाठ्यक्रमअनुसार साताको चार दिन सैद्धान्तिक ज्ञानको पढाइ हुन्छ। तीन दिन प्रयोगात्मक अभ्यास गराइन्छ। विद्यालयको कक्षा ६ मा ३५, कक्षा ७ मा ४५ र कक्षा ८ मा ५० विद्यार्थी छन्।कक्षामा पढेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा अभ्यास गर्दा झन् मजाले बुझिने कक्षा ८ मा पढ्ने चन्द्रकुमार कार्कीले बताए। उनी यहाँ आएर मल र पानी हाल्ने, गोडमेल गर्नेलगायतका काम गर्छन्। ‘किताबमा पढ्छौं, अनि व्यवहारमा उतार्छौं’, उनले खुसी हुँदै भने।

विद्यार्थी यहाँ विषयको पढाइ हुने बेला र खाली रहेको घण्टीमा आएर प्रयोगात्मक अभ्यासमा जुट्ने गर्छन्। कक्षा ७ मा अध्ययनरत गरिमा रायमाझीका अनुसार प्रयोगात्मक अभ्यासले पछि एग्रिकल्चर फार्म सञ्चालन गर्न मद्दत मिल्छ। यहाँ पढेको सैद्धान्तिक र प्रयोगात्मक अभ्यास घरमा गएर पनि उनले सिक्ने गरेकी छन्। प्रयोगात्मक अभ्यासले पढाइ बुझिने र बढी नम्बर प्राप्त गर्न सहज हुने कक्षा ८ की अस्मिता धमलाले बताइन्।

विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंका अनुसार विद्यालयमा गरिएको तरकारी खेतीले विद्यार्थीमा जागरुकता र क्रियाशीलता बढेको छ। उनीहरूले तरकारी खेतीसम्बन्धी ज्ञान सिकेर आत्मनिर्भरतातर्फ अग्रसर हुन सकिने सन्देश पनि पाएका उनले बताए।

तरकारी किन्छन् शिक्षकले

छतमा विद्यार्थीले फलाएका तरकारी शिक्षकशिक्षिका आफंैले किनिदिने गरेका छन्। बजारमै चलेको मूल्यमा उनीहरूले विद्यार्थीसँग तरकारी किन्छन्। तरकारी बेचेर आएको पैसाले बीउबिजन, आवश्यक कृषि सामग्री आदि किनिदिने गरेको शिक्षक अधिकारीले बताए। ‘बजारमा पनि आखिर किन्नु नै पर्ने हुन्छ’, उनले भने, ‘विद्यार्थीले फलाएको तरकारी ताजा हुन्छ र उनीहरूलाई सहयोग पनि हुने भएकाले हामी शिक्षक आफंैले खरिद गर्छौं।’ विद्यार्थीसँग बीउबिजन र अन्य सामग्रीका नाममा कुनै पनि पैसा उठाउने गरिएको छैन।

नजिक भए नमुना हुन्थ्यो

विद्यालय रहेको स्थानमा खाली जग्गा छैन। विद्यालयको जग्गा टाढा रहेकाले त्यहाँसम्म पुगेर खेती गर्दा विद्यार्थीको पढ्ने समय खेर जान्छ। यही कारणले छतमाथि नै तरकारी खेती गरिएको शिक्षकको भनाइ छ। नजिकै जग्गा भए अझ नमुना तरिकाले आफूले सिकाउने र विद्यार्थीले पनि नमुना रूपमा तरकारी फलाउने शिक्षक अधिकारीले बताए।

अर्गानिक उत्पादनमा जोड

विद्यार्थीलाई तरकारी खेतीबारे विधि त सिकाइन्छ नै, त्योभन्दा ठूलो विषादीरहित अर्गानिक उत्पादनमा जोड दिने गरिएको छ। तरकारीमा विषादी हाल्नु हुँदैन भन्ने ज्ञान उनीहरूलाई दिइन्छ।

गड्यौला मल बनाउने तरिका सिकाएर प्रयोगको विधि पनि सिकाइन्छ। पछिल्लो समय तरकारी खेतीमा विषादी प्रयोग बढिरहेको छ। यसलाई कम गर्न विद्यालयबाटै जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। विद्यार्थीलाई सिकाउँदा उनीहरूले आफ्ना अभिभावकलाई पनि सचेत गराउँछन्। यसो हुँदा तरकारीमा विषादी प्रयोग विस्तारै घट्दै जाने विश्वास विद्यालयले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.