राष्ट्रिय जनमोर्चाको धनगढी-कालापानी अभियान
धनगढी : नेपाली भू-भाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढी-कालापानी अभियान सुरु गरेको छ । धनगढीबाट सुरु भएको अभियान दार्चुला पुगेर समापन हुनेछ ।
'कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय सम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर' भन्ने मूल नाराका साथ जनमोर्चाले बुधबारदेखि अभियान सुरु गरेको हो ।
अभियान यहि मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले राष्ट्रियताको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जनस्तरबाटै राज्यलाई दबाव सिर्जनाको लागि अभियान सञ्चालन गरिएको बताए ।
उनले कालापानी क्षेत्र कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भू-भाग फिर्ता गराउने उदेश्यका साथ अभियानको थालनी गरेको जानकारी दिए । अभियानअन्तर्गत धनगढीबाट विभिन्न जिल्लामा पर्चा वितरण, भेटघाट, कोण सभा, जुलुस तथा आमसभा गर्ने जनमोर्चाका सुदूरपश्चिम प्रदेश सचिव लक्षिराम आचार्यले बताए ।
धनगढीबाट सुरु भएको अभियान अत्तरिया, बुडर, डोटी, बसपार्क डडेल्धुरा, पाटन बैतडी, खलंगा दार्चुला, गोकुलेश्वर दार्चुला, गोठालापानी बैतडी, दिपायल डोटी र महेन्द्रनगर कञ्चनपुरमा विरोधसभा गर्ने छ ।
अभियानअन्तर्गत मंसिर १७ गते महेन्द्रनगरमा हुने समापन तथा विरोध सभामा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनमोर्चाले जनाएको छ । गत कात्तिक १७ गते भारत सरकारले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भू-भागलाई सामेल गरी आफ्नो नक्सा जारी गरेको छ ।