कालापानीबाट भारतले सेना हटाउनै पर्छ ः गृहमन्त्री थापा
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कालपानी क्षेत्रबाट भारतीय सेना हट्नुपर्ने बताएका छन्। जनस्तरबाट बनाइएको नक्सा हस्तान्तरण गर्न गृह मन्त्रालय पुगेको सीमा बचाउ अभियानसँग गृहमन्त्री थापाले नेपाली भूभागबाट भारती सेना हट्नुपर्ने बताएका हुन्।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो, यसमा सरकार स्पष्ट छ, प्रमाण पनि हामीसँग प्रशस्त छन’्, उनले भने,‘त्यसकारण त्यो भूमिको स्वामित्व हाम्रो हुनुपर्छ, हाम्रो भूमिबाट भारती सेना हट्नुपर्छ।’
भारतीय सेना नेपाली भूभागबाट हटाउन र मिचेको नेपाली भूभाग फिर्ता गराउने विषयका सरकारले कुटनीतिक कदम अगाडी बढाएकोसमेत उनले दाबी गरे। कालपापानी क्षेत्रमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलले बोर्डर आउटर पोस्ट राख्ने तयार भइरहेको जानकारी उनले दिए।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा मात्रै होइन अन्य धेरै ठाउँमा सीमा मिचिएको बताउँदै गृहमन्त्री थापाले ३०/३५ किलोमिटरको दुरीमा रहेको बीओपीलाई १०÷१० किलोमिटरको दुरी राखने योजना बारे जानकारी गराए। उनले कालपानी क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यतालाई सरकारले बुझेको बताउँदै बाटो बनाएर जनतालाई जाड्ने प्रयास भइरहेको स्पष्ट पारे।