गढीमाई मेलाको ११औं दिन : ७ लाख भक्तजनले गरे दर्शन (भिडियो)
बारा : बरियारपुरमा जारी पञ्चवर्षिय गढीमाई मेलामा भक्तजनको भीड दिनहुँ बढ्दो छ। मेलामा दैनिक ७० हजारभन्दा बढी भक्तजनले गढीमाईको दर्शन गर्ने गरेका छन्।
मंसिर १ गतेदेखि सुरु एक महिने मेलाको बुधबार ११औं दिन हो। मेला मुल व्यवस्थापन समितिका अनुसार हालसम्म ७ लाख भन्दा बढी भक्तजनले गढीमाईको दर्शन गरिसकेका छन्। विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शन गर्न नेपाल र भारतबाट बरियारपुर आउने भक्तजनको संख्या दैनिकरुपमा बढिरहेको छ।
भक्तजनको संख्या बढेसँगै त्यसको सहज व्यवस्थापनका लागि आफूहरु तयार रहेको मेला मुल व्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहाले बताए। कुशवाहाले एक महिने मेलामा झण्डै एक करोड भक्तजनले गढीमाई मन्दिरको दर्शन गर्ने दाबी गरे।
भिडियो :
भक्तजनका लागि बस्ने पण्डालको व्यवस्थापन, सुरक्षा, बाटोलगायत सबै तयारी पूरा गरेको कुशावाहाको भनाई छ। ‘मेलाको भीड दिनदिनै बढिरहेको छ, हामी पुरै तयारी अवस्थामा छौ’ कुशवाहाले भने। सचिव कुशवाहाले सर्वोच्च अदालतले बलिलाई निरुत्साहित गर्न आदेश दिएपछि आफूहरु निरुत्साहित गर्न लागिरहेको बताए।
बलीका लागि प्रसिद्ध मेलामा मंसिर १७ गते धार्मिक विधिअनुसार पञ्चबलि गर्ने तयारी मन्दिरका पुजारीले गरेका छन्। पञ्चबलीसंगै मेलामा रांगा, खसी, कुखुराको बली चढ्न सुरु हुनेछ। बलीको समयमा गढीमाई मेलामा दसौँ लाख भक्तजनको उपस्थिती हुने गरेको छ। बली नजिकिएसँगै मेलाको व्यवस्थापनलाई सहज बनाउन दैनिक सुरक्षाकर्मीको संख्या पनि बढाउदै लगिएको छ।