बलियो नेताको खोजी

बलियो नेताको खोजी

राजपाक्ष दाजुभाइको शासनमा सबैले श्रीलंकाको उन्नति चाहनुपर्छ, विगतमा झैं कोही पनि विद्रोहीको सहारा नबन्ने कि?


एकपटक अमेरिकाको नागरिकता लिइसकेका र पछि छाडेका पूर्वलेफ्टिनेन्ट कर्नेल गोटाभाया राजपाक्षले यही आइतबार १५ कात्तिक (१ नोभेम्बर) पाँच वर्षका लागि श्रीलंकाको राष्ट्रपति निर्वाचित भए। उनले अनुराधापुरमको एउटा बुद्धमन्दिरमा राष्ट्रपति पदको शपथ ग्रहण गरे रश्री महाबोधिमा पूजा पनि गरे।

गोटाभाया सपरिवार सन् १९९८ मा अमेरिका गएका थिए। त्यहाँको नागरिकता पनि लिए। सन् २००५ मा माहिला दाजु महिन्दा राजपाक्ष राष्ट्रपतिको निर्वाचन लड्न उम्मेदवार भएपछि गोटाभाया चुनावमा सघाउन श्रीलंका आए। महिन्दा राष्ट्रपति निर्वाचित हुँदा देशको तीन खण्डको एक खण्ड भूभाग तमिलहरूको अलग स्वतन्त्र र सार्वभौम देश बनाउन सशस्त्र विद्रोह गरिरहेका लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) को प्रत्यक्ष कब्जामा गइसकेको थियो। तमिल विद्रोहीलाई भारतको केन्द्रीय सरकारको गुप्तचर एजेन्सी ‘रअ’ को गुप्त धनराशि र तमिलनाडुको प्रान्तीय सरकारको खुलाजस्तै तमिलनाडुमा प्रशिक्षण क्याम्पहरू राख्न र ट्रेनिङ दिन मद्दत थियो। तमिल विद्रोहीसँग सन् २००५ मा महिन्दा राजपाक्ष राष्ट्रपति हुँदा एकतिहाइ भूभाग हुनुका साथै थलसेना मात्रै होइन, वायु सेना फाइटर जेट समुद्री सेना र लडाकु आक्रमण मोटर बोटहरूसमेत थिए।

राष्ट्रपति महिन्दा राजपाक्षका भाइ गोटाभाया श्रीलंकाको गृहयुद्धमा लडेका अनुभव प्राप्त व्यक्ति थिए। सन् २००५ मा घमासान गृहयुद्धमाझ राष्ट्रपति भएका दाजु महिन्दाले योग्यताका साथै सम्पूर्णरूपले विश्वासयोग्य भाइ गोटाभायालाई श्रीलंकाको रक्षामन्त्री बनाए।

राजपाक्ष परिवार उनीहरूको पिता डिए राजपाक्षकै समयदेखि राजनीतिमा थियो। पिता श्रीलंकाका सांसद, मन्त्री र उपसभामुख भइसकेका थिए। ७७ वर्षका जेठा दाजु चमिल राजपाक्ष पनि श्रीलंकाको वर्तमान निर्वाचित सांसद र पूर्वसभामुख रहिसकेका छन्। माहिला दाजु ७३ वर्षका महिन्दा राजपाक्षबारे भन्नै पर्दैन। किनभने दुईपटक राष्ट्रपति भइसकेका छन्। ७० राष्ट्रपति गोटाभायाका ६८ वर्षीय भाइ वसिल पनि सन् २००७ देखि सन् २०१५ सम्म सांसद भइसकेका छन् र पार्टी कोषाध्यक्ष छन्।

देश टुक्य्राउन विद्रोह

श्रीलंका भूभागले नेपाल (१४१.१८१ वर्ग किमि) को आधाभन्दा पनि साना (६५.६१० वर्ग किमि) क्षेत्रफल मात्र भएको सानो देश हो। क्षेत्रफलले मात्र होइन, जनसंख्याले पनि नेपालको दुई करोड ९३ लाखभन्दा ७३ लाख कम २ करोड २० लाख श्रीलंकाको जनसंख्या छ। तर शिक्षा, रहनसहन, प्रतिव्यक्ति आयले सार्क मुलुकमध्ये सबैभन्दा माथिल्लो स्थानमा छ।

हामीले १० वर्ष तथाकथित माओवादी सशस्त्र संघर्ष भोग्यौं। तर श्रीलंकाका जनताले २६ वर्ष हत्या, विनाश, बर्बादी आदि भोगे। लिट्टेले २३ जुलाई १९८३ मा युद्ध प्रारम्भ गर्‍यो। यसको अन्त्य गोटाभाया रक्षामन्त्री र उनका दाजु महिन्दा राष्ट्रपति रहेका बखत १८ मे २००९ (ठ्याक्क २५ वर्ष ९ महिना ३ हप्ता र ४ दिन) मा यसको अन्त्य भयो। कैयन्पटक सम्झौताका प्रयास भए। कैयन्पटक सिजफायर पनि भए। तर देश नै दुई टुक्रा पारेर एउटा अलग सार्वभौम र स्वतन्त्र तमिल देश (तमिल इलम) दिन ७५ प्रतिशत बहुसंख्यक श्रीलंकाली तयार भएनन्।

शक्तिराष्ट्रका गुप्त खेल

किन ठूला शक्ति भएका देशहरू अरू देश सकेसम्म टुक्रियून् भन्ने चाहन्छन् ? त्यसको पर्याप्त अध्ययन र कारण सबै थाहा नहोला, तर हामी प्रत्यक्ष देख्छौं कि त्यस्ता जातीय वा राष्ट्रिय विद्रोहहरू उचाल्न र प्रारम्भ भएपछि तिनलाई खुला र गुप्त मद्दत शक्तिराष्ट्रहरूले खेलेको भूमिकाका धेरै उदाहरण छन्। जस्तै– भारतको पन्जाबलाई अलग खालिस्तान भन्ने स्वतन्त्र देश बनाउन चलेको गृहयुद्धलाई त्यस समयको गुप्त सामरिक र कूट रणनीतिका कारणले अमेरिका, ब्रिटेन, क्यानाडाले हर प्रकारले सहयोग पुर्‍याएको संसार र छिमेकी भारतको प्रबुद्ध वर्ग, पत्रकार, बुद्धिजीवी सबैलाई थाहा छ। लन्डनमा निर्वासित खालिस्तान सरकार, (गर्भमेन्ट इन एक्जाइल) सरकार नै बनेको थियो। पाकिस्तानले त खुलेआम हतियार र अन्य मद्दत गरेको थियो।

श्रीलंकामा युद्ध हिरोको छवि भएका गोटाभाया राजपाक्ष पार्टी र सिंहल जनताको नजरमा चढे, प्रतिपक्षले पनि हार स्वीकार गर्‍यो। अब देश विकासको गतिमा अघि बढ्ने विश्वास गर्न सकिन्छ।

अमेरिका भारतभन्दा धेरै टाढा तर धेरै बलियो र इन्दिरा गान्धीको सोभियत रूससँगको बीसबर्से सैनिक सम्झौताबाट साह्रै क्रूद्ध थियो। भारतीय तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नै पुराना तथा विश्वासी दुईजना अंगरक्षकद्वारा प्रधानमन्त्रीनिवासकै अति सुरक्षित परिसरभित्रै मारिइन्। पन्जाबमा उचालेको खालिस्तानी विद्रोहमा २० हजार मानिस मरेका थिए। सोभियत रूससँग बीसबर्से सैनिक सम्झौता गर्ने इन्दिरा गान्धी हत्या पनि स्वतन्त्र खालिस्तान विद्रोह क्रमशः सेलाउँदै गयो। तर रोचक र रहस्यमय सत्य के हो भने यत्रो खालिस्तान विद्रोहका स्वयं घोषित राष्ट्रपति जगदीशसिंह चौहान पछि भारत फर्के र उनको रौंसमेत टेडो भएन। उनलाई पक्राउसम्म गरिनन्। जबकि यिनै तथाकथित स्वतन्त्र खालिस्तानका राष्ट्रपति जगजितसिंह चौहानले चाँडै केही समयमै इन्दिरा गान्धी शिखरहरूद्वारा अवश्य मारिन्छन् भने बीबीसी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा भनेको संसारले सुनेको थियो।

नभन्दै ६ महिनाभित्रै इन्दिरा गान्धीको प्रधानमन्त्रीनिवासभित्रै हत्या भएको थियो। आफूभन्दा धेरै बलियो देश अमेरिका र त्यसको गुप्तचर एजेन्सी सीआईएले भारतमा खेलेको भूमिका जानकार भारतीयहरूलाई ज्ञात छ। शक्ति भएका राष्ट्रहरूले आफ्नो स्वार्थमा छिमेकका कमजोर देशहरूमा खेल्नु त मामुली कुरा हुन्छ। धेरै ठूलो शक्ति, साधन र सामथ्र्य भएका अमेरिकाजस्ता देशले संसारमा आवश्यक पर्दा जहाँ पनि यस्ता गुप्त खेल खेलका छन्। भारत स्वयं र भारतको सबैभन्दा शक्तिशाली मानिएकी प्रधानमन्त्री इन्दिरा गान्धीसमेत यसको सिकार भएको उदाहरण छन्।

श्रीलंका, भारत र चीन

स्वयं भारतीय अखबार ‘द हिन्दु’ र अरूमा प्रकाशित लेख र समाचारहरूका अनुसार सन् १९८० को दशकको प्रारम्भदेखि नै तामिलनाडुको कोलथुर भन्ने स्थानमा तमिल विद्रोही लिट्टेका क्याडरहरूलाई श्रीलंकाको सेनासँग लड्न भारतद्वारा प्रशिक्षण दिइएको थियो। प्रधानमन्त्री इन्दिरा गान्धीले विभिन्न लडाका तमिल ग्रुपहरूलाई लड्न प्रशिक्षण दिने निर्णय गरेकी थिइन्। तमिलनाडुका मुख्यमन्त्री एमजी रामचन्द्रनले पनि यो कदमलाई समर्थन गरेका थिए। श्रीलंकाका बहुसंख्यक सिंहलहरूमा भारतविरोधी भावना आउनु र बढ्नुमा यस्तो स्थितिमा स्वाभाविक हो। पछिपछि भारत मात्र होइन, ब्रिटेन, फ्रान्स र सन् २००७ देखि अमेरिकाले घमासान युद्धमाझ श्रीलंकाको सरकार र सेनालाई तमिल अल्पसंख्यहरूको जातीय संहार भयो भनी हतियार दिन बन्द गरिदियो। यसो गर्नु भनेको तमिल विद्रोही लडाकाहरूलाई प्रत्यक्ष–परोक्ष सहायता पुर्‍याउने काम ठानेर श्रीलंकाको महिन्दा राजपाक्ष सरकारले चीनसँग हतियार किन्ने निर्णय गर्‍यो। तर हतियार किन्न पनि लामो गृहयुद्धले टाट पल्टिन लागेको श्रीलंका सरकारसँग धन थिएन।

चीनले त्यस समय अमेरिकी डलर एक अर्बको हतियार किन्न ऋण दियो। साथै तमिल विद्रोही लिट्टेको हवाई सेनाको मुकाबिला गर्न र श्रीलंकाको वायु सेनालाई ६ वटा लडाका जेट फाइटर सित्तैमा उपहार प्रदान गर्‍यो। यी लडाकु हवाईजहाज चलाउने पाइलटहरूको प्रशिक्षण पाकिस्तानले दिने व्यवस्था पनि मिलाइदियो। महिन्दा राजपाक्ष राष्ट्रपति र गोटाभाया रक्षामन्त्री रहेको समय चीनको आधुनकि हतियारको मद्दतले चार वर्षमै सन् २००५ देखि सन् २००९ को मे १८ मा २६ वर्षदेखि चलिरहेको विखण्डनकारी गृहयुद्ध सम्पूर्ण रूपले अन्त्य भयो। राष्ट्रपति महिन्दा र उनका भाइ गोटाभायालाई सिंहलहरूले युद्धविजेता हिरोहरूका रूपमा माने।

फेरि बलियो नेताको खोजी

यस वर्ष क्रिस्चियनहरूको चाड इस्टर (२१ अप्रिल २०१९ का दिन श्रीलंकामा अन्तर्राष्ट्रिय इस्लामी आतंकवादीहरूले सात ठाउँ एकै दिन आत्मघाती बम विस्फोटहरू गरी दुई सय ५९ जना ठहरै मरे र पाँच सयजना घाइते भए। राजधानी सहरमा सुरक्षाको यस्तो अभावले श्रीलंकाका जनता त्रस्त भए। तमिल विद्रोह समाप्त भएको १० वर्षपछि फेरि आतंकवादबाट जनतालाई मुक्त दिन सक्ने एउटा दृढ र बलियो नेता चाहिन्छ भन्ने चर्चा छायो। युद्ध हिरोको छवि भएका गोटाभाया राजपाक्ष पार्टी र सिंहल जनताको नजरमा चढे। अरू पनि लोकप्रिय उम्मेदवार थिए तर ७५ प्रतिशत बहुसंख्यक भएका सिहंलहरूले एकलौटी सय कडा ५० भन्दा बढी कानुनी रूपले निर्वाचित हुन चाहिनेभन्दा बढी ५२.२५ प्रतिशत प्रतिस्पर्धा मत सर्वप्रथम मतदानमै दिएको हुँदा फेरि अर्को दोस्रो चरणको निर्वाचन गर्नै परेन र मतदान गन्तीको यो रुझान देखेर प्रतिस्पर्धी सुजिथ प्रेमदासले गन्ती नटुंगिँदै हार स्वीकार गरे।

श्रीलंकामा कोही राष्ट्रपति आए पनि अब चीनलाई फरक पर्दैन। दुई वर्षअघि नै सन् २०१७ मा एक कम सय (९९ वर्षका लागि) श्रीलंकाको हम्बनटोटा बन्दरगाह चीनका पानीजहाजले उपयोग गर्न र बास लिन पाउने सम्झौता भइसकेको छ। भारतीय टीभीहरूले चुनाव नहुँदै पहिले चीनमैत्री राजपाक्ष भनेका थिए तर निर्वाचन सकिँदानसकिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा पहिले बधाई दिए र भारत आउने निमन्त्रण पनि दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.