सोलारको बहानामा चिनियाँ सुरक्षाकर्मी लोमान्थाङमा
मुस्ताङ : तीन वर्षअघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध २४० किलोवाटको सौय उर्जा सोलार बत्ती सञ्चालनमा छ। सोही सौर्य उर्जा बत्तीको प्राविधिक मर्मत भन्दै कोरलानाकास्थित चिनियाँ सुरक्षाकर्मी बर्सेनि दर्जनौंपटक लोमान्थाङ आउने बाटो बनेको छ।
चिनियाँ सुरक्षा अधिकारी कुनै पनि बखत लोमान्थाङस्थित नेचुङ प्रहरी चौकीको १ जना सुरक्षा अधिकारी साथमा लिएर नाकातर्फको दक्षिण ३५ किलोमिटर वरसम्म आउन थालेका छन्। नेपाल सरकारले उत्तरतर्फ चीनसँग सीमा जोडिएका जिल्लामा नेपाली सीमा प्रशासनको समन्वयमा ३५ किलोमिटर दुरीसम्म आउन पाउने प्रावधान मिलाइएको लोमान्थाङ इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले जानकारी दिए। यसरी नेपाल प्रवेश गर्दा उद्देश्य प्रस्ट रूपमा खुल्नुपर्छ।
चिनियाँ सुरक्षाकर्मी भने नेपालपक्षसँग कुनै खास काम नभए पनि सोलारको प्राविधिक मर्मत गर्ने बहाना बनाएर लोमान्थाङसम्म आउने गरेको जनाइएको छ। लोमान्थाङनिवासी छेवाङ लोहाले चिनियाँ गाडीहरू नम्बर प्लेट छोपेर लोमान्थाङसम्म आउने गरेको फेसबुकमा लेखेका छन्। उनले नम्बर प्लेट छोपिएको गाडीको केही फोटोसमेत पोष्ट गरेका छन्। उनी भन्छन्, ‘उपल्लो मुस्ताङ सरकारको निषेधित तथा नियन्त्रित क्षेत्र भएको र विदेशीले ५ सय डलर बुझाउनु पर्ने र उत्तरी नाकाबाट शुल्क नलाग्ने नियम विभेद भएको छ।’
सरकारले भारतसँग सीमा जोडिएका जिल्लामा भारतीयलाई भने बोर्डर अनुमति लागू गरेको छैन। हिमालपारीको जिल्ला विदेशी राष्ट्रहरूको कुटनीतिक अभ्यास गर्ने थलोको रूपमा विकास भइरहेको छ। एक दशकअघि अमेरिकी हिमालयन फाउन्डेसनले लोमान्थाङमा माइक्रो हाइड्रो सञ्चालनमा ल्याएको थियो। हाइड्रो सञ्चालनमा रहेकै अवस्थामा चिनियाँ सरकारले सौर्य उर्जा सोलार जडान गरेपछि माइक्रो हाइड्रो बेवारिसे बनेको छ।
मुस्ताङका ५ वटै स्थानीय तहमा अमेरिकी सहयोग नियोग र भारतीय राजदूतावासको सहयोगमा शैक्षिक संस्था, स्वास्थ्य र पूर्वाधार विकासमा लगानी गरिरहेको पाइन्छ। अनुगमनका नाममा विदेशी कुटनीतिक नियोगका व्यक्ति मुस्ताङको विभिन्न प्रकारका अध्ययन र उत्तरी नाकाको गतिविधिको जानकारी हाँसिल गर्ने गरेको पाइएको छ। कोरलानाकामा चीन सरकारले अत्याधुनिक क्षमताको सीसी क्यामेरा राखेको छ।
लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले चिनियाँ सुरक्षाकर्मी समन्वय गरेर आउजाउ गर्ने गरेको जानकारी दिए। ‘ कोरला बोर्डरमा रहेका चिनियाँ सुरक्षाकर्मीसँग असाध्यै राम्रो पार्टनरसीपको सम्बन्ध छ। उनीहरू नेपाली पक्षसँग साझेदारीका रूपमा काम गर्न चाहन्छन्’, उनले भने। उनका अनुसार नेपाली पक्ष चिनियाँ भूमिमा जान इलाका प्रशासनले अनुमति दिने र चिनियाँ पक्ष नेपाल आउँदा चिनियाँ पक्षकै अनुमति आवश्यक पर्नेछ।
उपल्लो मुस्ताङका धार्मिक गुम्बाहरू भारतीय सरकार र अमेरिकी संस्थाले बनाइदिएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बत भएकाले चीनविरोधी गतिविधि हुन सक्ने भन्दै चिनियाँ सुरक्षाकर्मीले कामको बहाना बनाएर लोमान्थाङ आउजाउ गर्ने गरेको पाइएको हो। इलाका प्रशासन प्रमुख निरौलाले चिनियाँ पक्षहरू सोलार मर्मत, नेपाली उत्पादन खरिद, प्रशासनिक काम र कुटनीतिक अध्ययन गर्न आउने गरेको बताए।
चिनियाँ पक्षका सुरक्षाकर्मी जुनसुकै अवस्थामा कामको बहाना बनाएर नेपाल प्रवेश गरे पनि नेपाली पक्षलाई व्यापार मेलाबाहेक अन्य समय कुनै पनि अवस्थामा प्रवेश पाउने अवस्था छैन। सरकारले चीन पक्षलाई खुला बोर्डर स्वीकृत नगरेको र दक्षिण हुँुदै आएको खण्डमा भिसाको आवश्यकता पर्दछ। उपल्लो मुस्ताङको लोमान्थाङ बजार कोरला नाकादेखि दक्षिण २५ किलोमिटर वर पर्दछ।