पाँचतले मन्दिरको पुनर्निर्माण सुरु

पाँचतले मन्दिरको पुनर्निर्माण सुरु

भक्तपुर : २०७२ साल बैशाख १२ गते आएको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुर्‍याएको भक्तपुर नगरको प्रसिद्ध पाँचतले मन्दिरको जीर्णोद्धार सुरु गरिएको छ । भूकम्पले भक्तपुर नगरपालिका ५ टौमढी क्षेत्रस्थित मन्दिरको माथिल्लो तलामा क्षति पुर्‍याएको थियो । १९९० सालको भूकम्पमा पनि मन्दिर माथिल्लो तलामात्रै भत्किएको थियो ।

भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार तीनसय ५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरु गरेको हो । उसले उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार गर्न लागेको नपाको सम्पदा शाखाका इञ्जिनियर सूर्यभक्त खर्बुजाले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष नै पाँचतले मन्दिर जीर्णोद्धार गर्ने भक्तपुर नपाले निर्णय गरेको थियो । त्यसबेला ५७ लाख ४४ हजार दुई सय ४२ रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर सोही वर्ष टौमढी क्षेत्रकै भैरवनाथको मन्दिर जीर्णोद्धार गरिएकाले पाँचतले मन्दिरको जीर्णोद्धार रोकिएको हो।

इञ्जिनियर खर्बुजाले उपभोक्ता समितिसँग भएको सम्झैताअनुसार पाँचतले मन्दिरको जीर्णोद्धार २०७७ साल असोज मसान्तभित्र सक्नुपर्ने बताए । मन्दिरको माथिल्लो तलामात्रै मर्मत गरिने भए पनि खट बाँध्ने क्रममा बाँकी चारैतलाको छानाको झिंगटी झिक्नुपर्ने भएकाले बढी समय लाग्ने उनको भनाइ थियो ।

भक्तपुर नपाले २०५५ सालमा उक्त मन्दिरको जीर्णोद्धार गरेको थियो । त्यसबेलाका दक्ष कालीगढ र सिकर्मी, डकर्मीलगायत अहिले नहुँदा मन्दिर जीर्णोद्धार कार्य प्रभावित हुने उनको भनाइ थियो ।

'पाँचतले मन्दिर जीर्णोद्धार गरेका दक्ष कालीगढ अहिले छैनन्', इञ्जिनियर खर्बुजाले भने, ‘त्यसमाथि झिंगटी अभाव छ । छाना छाउन माटोको समस्या छ ।' जीर्णोद्धारको क्रममा भूकम्पले पूरै मन्दिरलाई हल्लाएकाले बाँकी छानासमेत मर्मत गरिने भएको छ । भूकम्पको कम्पनले मन्दिर हल्लिँदा छानाका छाएका झिंगटी यताउता भएका छन् । जसले गर्दा छानाबाट पानी चुहिएको देखिन्छ । छानाबाट पानी चुहिएकैले यस वर्ष मन्दिरको छानाभरि घाँस उम्रिएको छ ।

छानामा घाँस उम्रिन नदिन जमिनको धेरै गहिराइभित्रको माटो आवश्यक पर्ने इञ्जिनियर खर्बुजा बताउँछन् । तर भक्तपुरमा माटो लिने ठाउँ नै अभाव भएको उनको भनाइ थियो ।

'छाना छाउन माटो पाउने ठाउँ अभाव छ, 'उनले भने, 'त्यस्तै झिंगटी पाउन मुस्किल छ ।'

उनका अनुसार मन्दिर जीर्णोद्धार गर्दै जाने क्रममा अहिले भएको झिंगटीको आधा काम लाग्दैन । त्यसैले अहिल्यै झिंगटी संकलन गर्न सुरु गरिएको उनले बताए । विश्व सम्पदा क्षेत्र टौमढीमा पाँचतले मन्दिरको जीर्णोद्धार हुने भएपछि भ्रमण वर्ष २०२० र भक्तपुर महोत्सव प्रभावित हुने देखिएको छ । भ्रमण वर्ष २०२० पुसको दोस्रो महिनादेखि सुरु हुँदैछ । भक्तपुर नपाले आउँदो चैतमा भक्तपुर महोत्सव गर्ने निर्णय गरिसकेको छ । 

त्यसैले यी दुवैको लागि पाँचतले मन्दिरको जीर्णोद्धार कार्य भने नसकिने भएको छ ।भक्तपुर दरबार क्षेत्रपछि यहाँको प्रमुख पर्यटकीय आकर्षण पाँचतले मन्दिर हो । भूकम्पले अरु ससाना सम्पदामा क्षति पुर्‍याए पनि यस मन्दिरमा सामान्यमात्रै क्षति पुर्‍याएको थियो ।

 त्यसैले भक्तपुर पुगेका पर्यटकहरु पाँचतले मन्दिर ठडिएको देखेर आफूलाई सुरक्षित महसुस गर्थे । उनीहरु पाँचतले मन्दिरका खुड्किला चढेर मन्दिर परिक्रमा गर्थे । त्यहाँबाट भक्तपुर नगर र यस वरपरका ठाउँहरुको दृश्यावलोकन गर्थे तर अहिले जीर्णोद्धारको कारण पर्यटकहरुले उक्त मन्दिर चढ्न र हेर्न नपाउने भएका छन् ।

यता भक्तपुर नपाले उक्त मन्दिर हेर्न नपाउने भए पनि भ्रमण वर्ष २०२० र भक्तपुर महोत्सवको क्रममा परम्परागत शैलीको घर तथा मन्दिर निर्माण गर्दा प्रयोग गरिने परम्परागत बाँसको खटको प्रचारप्रसार गर्ने नीति लिएको सम्पदा शाखाका इञ्जिनियर खर्बुजाले जानकारी दिए ।

समितिका अध्यक्ष तमखुले भने भ्रमण वर्ष २०२० को लागि नसकिए पनि चैतमा हुने भक्तपुर महोत्सवको लागि मन्दिर जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

भक्तपुर नपाकै कर्मचारी उपभोक्ता समितिको अध्यक्ष

मन्दिर उपभोक्ता समितिका अध्यक्ष तमखु भक्तपुर नपाकै कर्मचारी हुन्। उनी भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेजका कर्मचारी हुन् । सार्वजनिक खरिद ऐनले सरकारी बजेटमा हुने कुनै पनि विकास निर्माणको उपभोक्ता समितिको पदाधिकारीमा कर्मचारी बस्न नपाउने बाध्यकारी व्यवस्था गरेको छ । तर भक्तपुर नपाले पाँचतले मन्दिर जीर्णोद्धारको लागि आफ्नै कर्मचारीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको छ ।

उसले उपभोक्ता समितिको अध्यक्ष बनाएर बजेटसमेत निकासा गरेर पाँचतले मन्दिर जीर्णोद्धार कार्य सुरु गराएको छ । उपभोक्ता समितिलाई सदर गरी बजेट उपलब्ध गराउने भक्तपुर नपाको सम्पदा शाखाका इञ्जिनियर खर्बुजाले वडा अध्यक्षकै अध्यक्षतामा बसेको स्थानीयको भेलाले निर्णय गरेर पठाएको उपभोक्ता समितिलाई काम गर्न नदिए नमिल्ने बताए ।

उनले सार्वजनिक खरिद ऐनले कर्मचारीहरु उपभोक्ता समितिको पदाधिकारी बस्न नपाउने व्यवस्था गरे पनि भक्तपुरमा यसअघि पनि धेरै योजनाहरु कर्मचारी, सरकारी शिक्षकहरुको अध्यक्षतामा बनेका उपभोक्ता समितिबाट सम्पन्न भएको नजिर रहेको सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.