गाडीवालासँग मासिक रकम असुल्छन् प्रहरी !

गाडीवालासँग मासिक रकम असुल्छन् प्रहरी !

जाजरकोट : केही समय अघि नेपालगञ्जबाट म जाजरकोट आउँदै थिएँ। गाडीको छतमा  केही समान राखिएको थियो। मेहलकुनामा ट्राफिक प्रहरीले गाडी रोक्न संकेत गरे। सहचालकले चालकलाई गाडी रोक्न ट्राफिक प्रहरीले संकेत गरेको जानकारी गराए। ‘किन उता हेर्छस्’, चालकले सहचालकलाई थर्काए।

 
चालकले ट्राफिकले रोक्न दिएको संकेत नदेखे झै गरेर गाडी अगाडि बढाए। म चालकको सिट नजिकै बसेको थिएँ। ‘पुलिसले गाडीमा राखेको समान देखेर पैसा झार्न खोजेको होला ! ‘साला’ त्यसलाई महिनावारी पैसा बुझाएर पनि नपुग्ने ?’ गाडी हुइक्याउँदै चालक बोले। 

चालकको यो बोलीले मलाई केही प्रश्न सोध्न बाध्य बनायो। कति रकम कहाँ बुझाउनु हुन्छ ? चालकलाई प्रश्न गरेँ। ‘नेपालगञ्ज–जाजरकोट सडकको ८÷१० ठाँउमा मासिक पाँच सयका दरले बुझाउनुपर्छ सर। के गर्ने नदिए किचकिच गर्छन्’, चालकले भने, ‘मासिक रुपमा पैसा नबुझाए बढी यात्रु राख्न दिदैनन्। सधै यही रुटमा हिड्नुपर्छ।’ 

चालकसँग मेरो कुरा नसकिँदै दुईजना प्रहरी गाडीलाई पछि पादै अघि बढे। ‘हेर्नुस न सर अघि रोक्ने इसारा गदै थियो। म थाहै नपाए झै अगाडि बढेँ। हेर्नुहोस् यहाँ आइसकेछन्। मासिक पैसा बुझाएर पनि सुख छैन’, चालकले पीडा सुनाए। 

गाडी रोकेर ति ट्राफिक प्रहरीले चालकलाई थर्काए, ‘किन गाडी नरोकेको ? जरिवाना काटौँ कि के गरौँ ?’ ट्राफिकले यसरी थर्काएपछि चालकले सबै बिटमा पैसा बुझाउँदै आएको सुनाए। ति प्रहरी नयाँ रहेछन्। ‘नयाँ पुलिस भएकाले तनाव दिएको हो’, चालकले भने, ‘सय रुपैयाँमा कुरा मिल्यो।’ 

अरु बेला यही रुटमा यात्रा गर्ने सिलसिलामा आधा दर्जन चालकलाई मासिक रकम बुझाउने बारे सोध्दा सबैले पाँच सयदेखि एक हजार रुपैयासम्म बुझाउनु पर्ने बाध्यता सुनाए।

जाजरकोट–नेपालगञ्ज सडकखण्डमा प्रहरीले यातायातका साधनबाट मासिक रुपमा रकम असुल्ने गरे पनि नियामक निकाय मौन छ। प्रहरीले प्रत्येक गाडीवालासँग मासिक पाँच सयदेखी हजार रुपैयाँसम्म रकम लिने गरेको चालकको भनाइ छ। 

सडकको चेक प्वाइन्टका प्रहरी चौकीले रकम असुल्ने गरेका हुन्। यस सडकखण्डमा सुर्खेत, जाजरकोट र सल्यान र बर्दिया मातहतका प्रहरी चौकी छन्। ति चौकीमा ट्राफिक प्रहरीको पनि व्यवस्था गरिएको छ। जाजरकोटका शान्तिचौतारा, मटेला, कुदु र छेडा, सुर्खेतका राकम, बोटेचौर, मेहलकुना र छिन्चु, सल्यानका सल्लीबजार र बालुवा संग्रही, बर्दियाको बबई प्रहरी चौकीमा मासिक रुपमा पाँच सयका दरले रकम बुझाउँने गरेको ६ वर्षदेखी यस सडकखण्डका टाटा सुमो चालकले सुनाए। 

‘प्रहरीले मागे अनुसार मासिक रुपमा रकम नदिए प्रहरीले निकै दुःख दिन्छ, सताउँछ’, चालकले गुनासो गरे, ‘त्यही भएर रकम बुझाउन बाध्य छौ।’ दुई वर्षदेखि गाडी चलाउँदै आएका अर्का चालकले पनि नाम उल्लेख नगरिदिन आग्रह गदै भने प्रहरीका चेक प्वाइन्टहरुमा मासिक रुपमा पाँच सय रुपैयाँ बुझाउनुपर्छ। 

‘मागे अनुसार रकम नदिए दैनिक त्यहीबाटोमा हिड्नुपर्छ। प्रहरीसँग निहुँ खोजेर भएन’ उनले भने। प्रहरीले गाडीवालाबाट संकलन गरेको रकम माथिल्लो निकायमासमेत पुग्ने चालक बताउँछन्। 

मासिक रकम बुझाउने चालकलाई प्रहरीले चेकजाँचमा कडाई गर्दैनन्। सिट र क्षमता भन्दा बढी यात्रु र समान राखेपनि नदेखे झै गर्ने गरेको असल शासन क्लव जिल्ला समन्वय समितिका अध्यक्ष बालकुमार शर्माले बताए। 

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? नेपाल प्रहरी विकृति विसंगती रोक्ने र कानुनको कार्यान्वयन गर्ने निकाय हो। तर त्यही निकाय लोभ लालचमा फसेपछि कसको आश गर्ने नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने, ‘गाडीवालाले गरेको गल्ती ढाकछोप गर्न रकम असुल्नु गलत कार्य हो।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख केशर कार्कीले चालकसँग प्रहरीले रकम लिने गरेको भन्ने कुरा गलत भएको दाबी गरे। कुनै पनि पुलिसले पैसा लिएको पाइए तत्काल कारबाही हुने उनको भनाइ छ। 
कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर यादवले गाडीवालाबाट संस्थागत रुपमा रकम माग्ने कार्य नभएको दाबी गरे। ‘रकम मागेको, तिरेको प्रमाणसहित ल्याउनुहो’, उनले भने, ‘म कारबाही गर्छु।’   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.